कर्णालीमा मनाइयो विश्व रेबिज दिवस



नेपाल समाचारपत्र, सुर्खेत।कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी विश्व रेबिज दिवस २०१९ मनाइएको छ।

सुर्खेतको वीरेन्द्रनगरको मंगलगढी चोकवाट शुरू भएको प्रभातफेरी बजार परिक्रम गरेर गणेशचोकमा पुगेर सभामा परिणत भएको थियो।

कार्यक्रममा बोल्दै प्रदेश सरकारका प्रवक्ता एवम भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले रेबिजलाई नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

पशु–स्वास्थ्यमा ध्यान दिँदै रेबिजलाई नियन्त्रण गर्न व्यापकरूपमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु पर्नेमा मन्त्री केसीले जोड दिनुभयो।

रेबिजलाई नियन्त्ररण गर्न जनशक्ति व्यवस्थापन र बजेटको अभाव हुन नदिने मन्त्री केसीले बताउनुभयो। कर्णालीबाट रेबिजलाई भगाउन सबैको सामूहिक दायित्व भएकोले योजना तथा कार्यक्रम सञ्चालनमा रेबिजलाई प्राथमिकता दिनुपर्ने केसीको भनाइ छ।

कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले कर्णाली प्रदेशबाट रेबिजलाई नियन्त्रण गर्ने नीति तथा कार्यक्रममा पशुस्वास्थ्य कार्यक्रमलाई प्राथमिकता दिइएको बताउनुभयो।

रेबिजसँगै अन्य रोगलाई उन्मूलन गर्न मन्त्रालय सधैं प्रतिबद्ध रहेको जानकारी दिँदै यो रोग नियन्त्रणमा लाग्न सबैमा अपिल गर्नुभयो।

दिवसका अवसरमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ मा रेबिज विरुद्धको खोप लगाएको मन्त्रालयका पशुपक्षी विकास महाशाखा प्रमुख पशु चिकित्सक दीपक भण्डारीले बताउनुभयो।

कार्यक्रममा पशुपन्छी विकास निर्देशनालयका निर्देशक डाक्टर टंकप्रसाद प्रसार्इं र पशुपक्षी रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा. कृष्णराज पाण्डेले कर्णालीमा पशु स्वास्थ्यको अवस्था र रेबिज रोगका बारेमा धारणा व्यक्त गनुभएको थियो।

प्रभावकारी जनचेतनाका कारण घरघरमा पालिएका कुकुरलाई खोप लगाउन थालेपछि रोगको प्रकोप विगतको तुलनामा केही घटेको मन्त्रालयका अधिकृत कृष्णबहादुर विकले बताउनुभयो।

विकका अनुसार जनचेतनाको अभावमा विगत वर्षमा खोप नलगाउने हुँदा कुकुर जंगली जनावरको सम्पर्कमा जाने र रेबिज बढ्ने हुन्थ्यो, अहिले त्यो कम भएको छ।

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजना तथा वीरेन्द्रनगर नगरपालिका पशुसेवा शाखा, पशुपक्षी विकास निर्देशनालय सुर्खेत, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, नेपाल पारा भेटेरीनरी एन्ड लाइभस्टक एसोसिएसन तथा सुर्खेत स्थित प्राविधिक शिक्षालयको समन्वय रहेको थियो।

प्रतिक्रिया दिनुहोस्