वन विज्ञानका विद्यार्थी सामुदायिक वनमा



नेपाल समाचारपत्र, बुटवल।त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीले वैज्ञानिक वन व्यवस्थापनसम्बन्धी अध्ययनको प्रारम्भिक प्रतिवेदन एक कार्यक्रमबीच सार्वजनिक गरेका छन्।

रुपन्देही जिल्लाको रुद्रपुर सामुदायिक वन, कञ्चन—४, गरगरे र लुम्बिनी साझेदारी वन व्यवस्थापन समूहको करिब ४ सय ४५ हेक्टर क्षेत्रफलमा वनको भौगोलिक अवस्था, जैविक विविधता, बोटबिरुवा र रुखको अवस्थाबारे एक हप्तासम्म अध्ययन गरी उक्त प्रतिवेदन तयार गरिएको हो।

रुद्रपुर सामुदायिक वनको करिब ४ सय ४५ हेक्टरमा रहेको वन क्षेत्रलाई ८ वटा ब्लकमा विभाजन गरी गरिएको अध्ययनमा ८ वर्षे कार्ययोजना बनाइ वैज्ञानिक व्यवस्थापन गर्दा दिगो हुने र उपभोक्तामूखी योजना कार्यान्वयन गर्न सजिलो हुने प्रतिवेदनमा उल्लेख गरिएको छ।

विद्यार्थीद्धारा प्रस्तुत प्रतिवेदनमा वडा नं. ५ का अध्यक्ष कृष्णप्रसाद अधिकारीले विद्यार्थीको सुक्ष्म अध्ययनबाट तयार पारिएको प्रतिवेदनले रुद्रपुर सामुदायिक वनको दिगो विकास र वैज्ञानिक वन व्यवस्थापन गर्न सहयोग पुग्ने बताउनुभएको छ।

यसैगरी कञ्चन सब डिभिजन वन कार्यालय रुद्रपुरका सहायक वन अधिकृत धनिश्वर न्यौपानेले विद्यार्थीको विषयगत अध्ययनले विद्यार्थीको ज्ञानमा वृद्धि हुनुको साथै सम्बन्धित क्षेत्रमा गई गरिने अध्ययनले किताबी ज्ञानलाई अझ फराकिलो बनाउने बताउनुभएको छ।

सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष दिनानाथ आचार्यले वज्ञानिक वन व्यवस्थापनको नाममा उपभोक्ताको अधिकारलाई कुण्ठित गर्ने गरी गरिने व्यवस्थापन स्वीकार्य नहुने र समूहले आफैले संरक्षण गरी हुर्काएको वनको उपयोग सहज ढंगले गर्न पाउनुपर्ने महासंघको माग रहेको बताउनुभएको छ।

कार्यक्रममा वन विज्ञान क्याम्पस पोखराका अध्ययन टोली प्रमुख उप–प्राध्यापक निरु थापाले अध्ययन टोलीलाई अध्ययन स्थल उपलब्ध गराइ सहयोग गरेकोमा रुद्रपुर सामुदायिक वन उपभोक्ता समूहका सम्पूर्ण पधाधिकारी तथा स्थानीय वुद्धिजीवीलाई धन्यबाद दिनुभएको थियो। समूहका अध्यक्ष नामबहादुर केसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्