मुटु दिवसमा कैदीबन्दीको स्वास्थ्य जाँच



अनिल खत्री, गुल्मी।विश्व मुटु दिवसको अवसरमा नेपाल हृदयरोग निवारण प्रतिष्ठान गुल्मीको आयोजनामा जिल्ला कारागार गुल्मीका कैदी–बन्दीको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ।

‘मेरो प्राण मेरो मुटु’ भन्ने नाराका लेखिएका प्लेकार्डसहित सदरमुकाम तम्घासमा शनिबार बिहान प्रभातफेरी पनि गरिएको थियो। प्रभातफेरीपछि जिल्ला कारागार गुल्मीमा रहेका ८३ जना कैदी–बन्दीको स्वास्थ्य जाँच गरिएको नेपाल हृदयरोग निवारण प्रतिष्ठान गुल्मीका अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेयले बताउनुभयो।

तनावपूर्ण अवस्थामा रहेका बन्दीहरूलाई तनावरहीत बनाउन र निरोगी अबस्थामा जानकारी लिनको निम्ति बन्दीको सामूहिक स्वास्थ्य जाँच गरिएको हो। कारागारमा रहेका बन्दीको स्वास्थ्य अबस्थाबारे जानकारी लिने र उनीहरूको स्वास्थ्यबारे सबैको चासो छ है भन्ने उद्देश्यले स्वस्थ्य शिविर राखिएको पाण्डेयले बताउनुभयो।

बन्दीहरू सामान्य बिरामी हुँदा बाहिर चेकजाँच गर्न निस्कन नमिल्ने भएकाले सामूहिकरूपमा चेकजाँच गरिएको पाण्डेयको भनाइ छ। बन्दीलाई गरिएको चेक जाँचमा १७ जनाको स्वास्थ्य अवस्था थप परीक्षण गर्नुपर्ने भएकाले रिफर गरिएको थियो।

स्वास्थ्य शिविरमा गुल्मी अस्पतालका ३ जना विशेषज्ञ डाक्टरसहित ६ जनाले स्वास्थ्य परीक्षण गरेका थिए। कार्यालयमा जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले तनावरहीत अवस्थामा दैनिकी बिताए स्वस्थ्य रहन सकिने बताउनुभयो।

पौडेलले मुटु स्वस्थ्य राख्न नियमित खानपानदेखि योगाको आवश्यकता रहेको बताउनुभयो। रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिने गरी सजग रहन ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्य जाँच गर्ने उद्देश्यले राखिएको शिविरले बन्दीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सहज हुने बताउनुभयो। उहाँले यस्ता कार्यक्रम गरेकोमा आयोजकलाई धन्यवादसमेत दिनुभयो।

शिविरमा जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित विभिन्न कार्यालयका सुरक्षा निकायका प्रमुख, संघ संस्थाका प्रमुखको सहभागिता रहेको थियो। कारागारमा केही महिनाअघि जिल्ला प्रशासन कार्यालय गुल्मीले योग शिविर र हाउस वायरिङ्को तालिमसमेत राखेको थियो।

२५ जना क्षमताको गुल्मी कारागारमा १ जना आश्रित बालिका सहित ३ जना महिला र ८० जना पुरुष गरी ८३ जना बस्दै आएका छन्। गुल्मी कारागारमा कैदीबन्दीलाई आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न समयमा सीपमूलक तालिम दिइँदै आएको छ। गुल्मी कारागारमा रहेका बन्दीहरूले बुनेका मुडा जिल्ला र जिल्ला बाहिर बिक्री हुँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्