छ माया छपक्कै बिच्च बिच्चमा



यही असोज २४ गते अल नेपाल रिलिज हुने फिल्म छ माया छपक्कैको प्रमोसनल प्यारोडी गीत बिच्च बिच्चमा रिलिज गरिएको छ। गायक दुर्गेश थापाको तीज गीत बिच्च बिच्चमाबाट यो प्रमोसनल गीत तयार पारिएको हो।

दशैंको टीका लगाएर फिल्म छ माया छपक्कै हेर्न जाउँ भनिएको गीतमा दुर्गेश स्वयंको शब्द, संगीत र स्वर छ। गीतले युट्युबमा आइतबार दिउँसोसम्म १२ लाख बढी भ्युज पाइसकेको छ।

गीतमा गायक दुर्गेशसहित फिल्मका कलाकारहरू दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, केकी अधिकारी, सुपुष्पा भट्ट, दीपाश्री निरौला, सुमन गिरीलगायतका कलाकार देखिएका छन्।

दीपाश्री ड्रमर, केकी अधिकारी किबोर्डिस्ट तथा अन्य कलाकार गिटारिस्टसँगै भोकलिस्टका रूपमा प्रस्तुत भएका छन्। भिडियो भक्तपुरको राधेराधे चोकमा रहेको पद्मा हाउजिङको अग्लो भवनमा खिचिएको हो।

छक्का पञ्जा सिरिजका मुख्य कलाकारहरूलाई समावेश गरी निर्माण गरिएको फिल्म दीपेन्द्र लामाले निर्देशन गरेका छन्। फिल्ममा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, केकी अधिकारी, सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटा, दीपक क्षत्री, सुमन गिरीलगायतका कलाकारको अभिनय रहेको छ।

जितु नेपाल र केदारप्रसाद घिमिरे कार्यकारी निर्माता रहेको फिल्म रोहित अधिकारीले निर्माण गरका हुन्। फिल्ममा निर्देशक लामाको कथा, दीपकराज गिरीको पटकथा, दीपकराज गिरी, केदारप्रसाद घिमिरे, जितु नेपाल र अभिमन्यु निरवीको संवाद, कविराज गहतराजको कोरियोग्राफी, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि हुमागाईंको छायांकन र विपीन मल्लको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्