च्व–च्व !!



पहाडको कुनै गाउँबाट गएका दुई जना दौंतरी दिल्लीमा चौकीदारी गर्थे। अलि–अलि पैसा जम्मा भएपछि उनीहरूले साझेदारीमा जुस पसल चलाए। पसल निकै राम्रो चल्यो र २ वर्षमै उनीहरूले २५ लाख रुपियाँ कमाए।

तीमध्ये एक जनाको मनमा पाप पस्यो। उसले आफ्नी प्रेमिकासँग मिलेर साझेदारलाई बीष खुवाएर मार्यो र पूरै २५ लाख एकलौटी बनाएर घर फक्र्यो।

उसले साथीको घरमा पुगेर बडो शोक प्रकट गर्दै उसको मृत्युको खबर सुनायो र साझेदारी कारोबारबाट साथीको भागको मुनाफा भन्दै उसको घरमा १ लाख रुपियाँ बुझाइदियो।

यसरी उसले साथीको परिवारको विश्वास पनि जित्यो।अब ऊ दिल्ली फर्किएन र विवाह गरी घरजम गरेर गाउँमै बस्यो। धेरै वर्ष बिते। यसबीचमा उसको एउटा मात्र छोरा जन्मियो र उसको धुमधामसँग विवाह पनि भयो।

तर, विवाहको लगत्तै छोरा चाहिँ नराम्ररी बिरामी पर्यो। सारा अस्पतालमा लगेर उपचार गराइयो तर न रोग पत्ता लाग्यो न बिसेक भयो। पैसा पनि प्रशस्त खर्च भयो तर अवस्था भने दिन प्रतिदिन बिग्रिएर गयो। हुँदा–हुँदा उसको बाँच्ने आशा पनि क्षीण भएर गयो।

एकदिन उच्च ज्वरोले छोरा बेसुरमा बोल्न थाल्यो। बर्बराहटमा छोरोले बाबुलाई बतायो– ‘तिमीले मलाई चिनेनौं, म तिम्रो उही साथी हुँ जसलाई तिमीले धनको लोभमा मारेका थियौ।

मैले आफ्नो १२ लाख रुपियाँ लिनकै लागि यहाँ जन्म लिएको थिएँ, जो अब मेरो उपचारमा चुक्ता भइसकेको छ। त्यसैले पनि मेरो अब जाने बेला भइसकेको छ। आफ्नै अपराधले अब पूरा जीवन तिमीले पुत्रशोकमा निःसन्तान रहेर बिताउनेछौ ।’

बाबुले आँसु पुछ्दै सोध्यो– ‘ठीक छ, मैले त अपराध गरेको थिएँ, दण्ड जायज छ तर तिम्रो बेकसूर नवविवाहित दुलहीले विवाहको लगत्तै पछि किन यसरी वैधव्य भोग्नुपर्ने ?’

छोरोले बेहोसीमै बतायो– ‘यो दुलही पनि उही महिला हो जसले तिमीसँग मिलेर मेरो हत्या गरेकी थिई।’

प्रतिक्रिया दिनुहोस्