ज्ञानमाला भजनमा महिलाको आकर्षण बढ्दो



सुनील महर्जन

घर गृहस्थीमा सीमित महिलालाई सामाजिक क्रियाकलापमा संलग्न गराउने बलियो माध्यम बनेको छ, ज्ञानमाला भजन।पछिल्लो समय यसले अभियानकै रूप लिन थालेको छ। नेपाल राष्ट्रिय ज्ञानमाला समितिको देशभर सञ्जाल विस्तारसँगै यसले अभियानको रूप लिएको हो।

यल ज्ञानमाला संघ महिला उपकमिटीले टोल–टोलमा महिलामार्फत भजन गाउने कार्यक्रम चलाउँदै आएको छ। कार्यक्रममा समाजको तृणमूलमा (ग्रासरुटमा) रहेका महिलाको आकर्षक बढ्दै गएको छ।

जुनसुकै धर्ममा पनि भजन गाइन्छ। भजनलाई भक्तियोग र दर्शनसँग जोडिएको छ। अरू जस्तै ज्ञानमाला भजन पनि मूलतः भजन नै हो। ज्ञानमाला भजन सरल शब्दमा विशेषतः गौतम बुद्धका मर्मस्पर्शी वचन, त्यसलाई केन्द्रित गरी रचिएका गीतहरूको संग्रह हुन्।

यसका अभियन्ताहरू ज्ञानमाला भजनलाई भक्ति वा कुनै धर्म विशेषसँग जोडेरभन्दा पनि बुद्धको उपदेशलाई सरल र लयबद्ध तरिकाले जनमानसमा पुर्याउने माध्यमका रूपमा अथ्र्याउँछन्।

नेपालमा ज्ञानमाला भजनको नाउँमा भजन गर्ने परम्परा नौ दशकअघि शुरू भएको थियो। केही वर्ष अगाडिसम्म ज्ञानमाला भजन कार्यक्रममा गायक, संगीतकार, जम्मै पुरुष मात्र हुन्थे।


अहिले महिलाको सक्रियता मात्र नभई अगुवाइ पनि बढ्दै गएको उपकमिटीका संयोजक बबिता बज्राचार्यले बताउनुभयो।तबला, हार्मोनियमलगायत सामग्री बजाउने महिला प्रशस्तै छन्।

पुुरुष सहभागी नभए पनि भजन गाउने महिलाको समूह काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा सयौंको संख्यामा तयार भइसकेका छन्।
ज्ञानमाला भजन र नामसंगती पाठ कार्यक्रम विभिन्न वडा, टोल रहेका महिला समूहको वार्षिक कार्यक्रमको एउटा हिस्सा बनेको छ। यसले महिला समूहलाई सक्रिय बनाउन, सामूहिक भावना बढाउन निकै सघाएको संयोजक बज्राचार्यले बताउनुभयो।

एक जना महिला शिक्षित भयो भने पूरा परिवार शिक्षित हुने भनाइ छ। सोहीअनुरूप महिलाले सिकेको ज्ञान, परिवारलाई सुनाउने गरेको पनि संयोजक बज्राचार्यको कथन छ। ज्ञानमाला भजनले घर–परिवार र समाजमा सौहार्द वातावरण बनाउन सघाएको छ। महिलालाई अघि बढाउन पुरुषको पनि राम्रै साथ र सहयोग रहेको छ।

धार्मिक आस्था वा विश्वासले गर्दा पनि होला, ज्ञानमाला भजनमा महिलाको सक्रियताले समूहमा काम गर्ने अभ्यास, सकारात्मक सोच र घर–परिवारमा शान्त वातावरण देखापर्न थालेको चिरञ्जीवी ज्ञानमाला भजन खलःका अध्यक्ष रश्मी शाक्यको भनाइ रहेको छ।

भजन जेष्ठ नागरिकलाई घुलमिल हुने, स्फूर्तिको अनुभव गराउने र सक्रिय बनाउने माध्यम पनि बनेको छ। गीतको मर्मअनुसार आफ्नो सोच र व्यवहार रूपान्तरण गर्दै सुखी, शान्तपूर्वक जीवन जिउन प्रेरित गरेको भजनमा आबद्ध महिला बताउँछन्।

भजनबाट सकारात्मक परिर्वतन ल्याउने शाक्य एक्ला छैनन्। विशेषतः साक्षरदेखि विद्यालय शिक्षासम्म पढेका महिलालाई जीवनमा अघि बढ्न यसले हौस्याएको छ। यसले महिलालाई गायक तथा संगीतकारका रूपमा अघि बढ्ने अवसर प्रदान गरेको छ।

महिला सहभागितालाई विधानमार्फत नै अनिवार्य बनाएका छौं

डबलबहादुर शाक्य
अध्यक्ष, यल ज्ञानमाला संघ
ललितपुर

यल ज्ञानमाला संघ २०५९ सालमा १६ वटा ज्ञानमाला भजन खलः मिलेर बनेको थियो। यसले गीत, संगीतमार्फत बुद्धको ज्ञानलाई प्रवाह गर्दै आएको छ। पहिला महिला भजनमा कमै मात्र सहभागी हुन्थे।

हरेक भजन खलःमा प्रायः पुरुष मात्र हुन्थे। भजन गाउने र तबला बजाउने सबै पुरुष नै हुन्थे। अहिले भजनमा महिला पनि सक्रिय हुन थालेका छन्। महिला नभई कार्यक्रम नै नहुने अवस्था बन्दै गएको छ।

यस संस्थाको विधानमार्फत नै महिला सहभागितालाई बाध्यकारी बनाएका छौं। त्यसै गरी महिला कमिटीमार्फत पनि विभिन्न काम भइरहेको छ।

यसै क्रममा सोही कमिटीको आयोजनामा भजन गाउन सक्ने र तबला बजाउन सक्ने महिला तयार पार्न, महिलाको क्षमता प्रस्फुटित गराउन टोल–टोलमा महिलाबाटै भजन गाउने कार्यक्रम भइरहेको छ।

बुद्ध भजन गाउने ज्ञानमाला भजनमा महिलाको सहभागिताले महिलामाथि हुने विभेद अन्त्य गरी समानतामा आधारित समाज बनाउन सघाएको छ।

एकापसमा मैत्रीभाव वृद्धि भएको छ


बबिता बज्राचार्य
संयोजक, यल ज्ञानमाला संघ
महिला उपकमिटी

यल ज्ञानमाला संघ, महिला उपकमिटीको गठन २०७६ श्रावण ११ गते शनिबार गरिएको थियो। यस उपकमिटीमा ललितपुर जिल्लामा रहेका २७ जिल्लाका भजन खलःका एक–एक जना महिलाको प्रतिनिधित्व रहेको छ।

गएको गुँलापर्वमा महिनाभरि विभिन्न टोलमा गएर भजन प्रस्तुत गरेका थियौं।ललितपुरको पिम्बहालबाट शुरू भएको कार्यक्रम भिच्छेबहालमा समापन गरेका थियौं।

महिला घरको काममा मात्र सीमित नभई घरबाट बाहिर निस्किएर आफ्नो क्षमता देखाउन, बाह्य वातावरणमा सहजै घुलमिल हुन सकियोस् भनेर टोलटोलमा भजन देखाउन कार्यक्रम आयोजना गरेका थियौं।

यस उद्देश्यमा सफल हुँदै गएका छौं। यसले विभिन्न भजन खलःबीच समन्वय, एकले अर्कोलाई चिन्ने र सहकार्य गर्ने वातावरण तयार भएको छ।

एक–आपसमा मैत्रीभाव वृद्धि भएको छ। बुद्धको ज्ञानको प्रचार बढेको छ। धार्मिक भावनालाई बढावा दिएको छ।

प्रतिक्रिया दिनुहोस्