धेरैका लागि फ्रीमा गाइदिएँ, मलाई पर्दा कोही छैन : आनन्द काकी



आधुनिक गीत, गीत गजल वा फिल्मी गीत जुनसुकै विधाको गीत होस्, त्यसले गायक आनन्द कार्कीका मधुर स्वर पाएपछि त्यो गीत जीवन्त र श्रवणीय लागिहाल्छ। लाग्छ मन हेरिरहुँ एकनास तिमीलाई, यी हल्लाहरू हुन्, हाम्रो सानो घर होला, वनमा फुल्यो फूल, म तिमीबिना मरिहाल्छु, पर्दा पछाडि नै जस्ता लोकप्रिय र सदावहार गीत त्यसका उदाहरण हुन्। आधुनिक, फिल्मी, गीत गजल, भजन तथा राष्ट्रिय भावजस्ता विभिन्न विधाका ३ हजारभन्दा बढी गीतमा आफ्नो जादुमय स्वर दिएका आनन्दले २०४२ सालमा रेडियो नेपालमा जीवनमा धेरै खोला तर्नुछ बोलको गीत गाएर स्वर परीक्षा उत्तीर्ण गरेका थिए। सांगीतिक जीवनमा धेरै खोला तरेर संगीतको विशाल समुद्र पार गरेका उनले साढे तीन दशकको गायन यात्रा पूरा गरेका छन्। उनीसँग सांगीतिक र पारिवारिक विषयमा गरिएको कुराकानी यहाँ प्रस्तुत छ :

रश्मी थापा

हाल के गर्दै हुनुहुन्छ ?

अहिले दशैंसम्बन्धी गीतको रेकर्डिङमा व्यस्त छु। केही गीतको म्युजिक भिडियोको काम पनि गरिरहेको छु। दशैंअगाडि केही कार्यक्रम छन्। त्यसका लागि पनि तयारी गरिरहेको छु भने दशैंपछि बैंकक र मलेसिया तथा तिहारमा चितवनमा एक कार्यक्रम तय भएको छ।

यिनै कार्यक्रमका लागि तयारी गर्दै छु। वाइफ (ईश्वरी कार्की) को स्वास्थ्य समस्याका कारण उनलाई पनि केयर गर्दै आफ्नो यात्रा अगाडि बढाइरहेको छु।

दर्शकलाई आनन्द कार्कीले फिल्ममा गाउने अफर पाएन भन्ने लाग्न सक्छ। तर, ५/१० हजारमा फिल्मका गीत गाउन अफर आउँछन्। म २५/३० हजार माग्छु। जुन रकम दिन उनीहरू तयार हुँदैनन्। उनीहरूले दिएको जतिमा म गाउँदिन। त्यस कारण नयाँ–नयाँ भाइबहिनीले गाइरहेका छन्। उनीहरूलाई जति दिए पनि हुन्छ, दिँदै नदिए पनि हुन्छ। नभए संगीतकार आफैं गाउँछन्।

अहिले उहाँको अवस्था के छ ? उपचार खर्च कसरी धानिरहनुभएको छ ?

शुरूमा मिडियाहरूमा उनको स्वास्थ्य समस्याबारे नेगेटिभ पोजेटिभ धेरै कुरा आए। त्यसपछि भने हामीले धेरै मिडियालाई इन्टरभ्यु दिएनौं। किनभने धेरैले यसलाई अर्कै हिसाबले पनि लिए।

मैले वाइफको प्रब्लम सल्भ गर्न मद्दत होला भन्ने हिसाबले उनको किड्नी फेल भएको कुरा मिडियामा ल्याएको थिएँ। तर, नेपालको कानुनअनुसार परिवारका सदस्यको मृगौला मात्र लिन र प्रत्यारोपण गर्न मिल्दोरहेछ। मृगौला दिने व्यक्तिले कुनै पनि औषधि सेवन गरिरहेको हुनुहँहुदो रहेनछ।

त्यस कारण परिवार र आफन्तबाट सम्भव भएन। यदि दुर्घटनमा परेर अन्तिम अवस्थामा रहेका मानिसले दान दिन चाहे मिल्ने रहेछ। उनको ए पोजेटिभ ब्लड ग्रुप भएका कारण त्यही ग्रुपका व्यक्तिको मृगौला मात्र प्रत्यारोपण गर्नुपर्ने रहेछ, जुन एकदमै रियर हुन्छ।

हामीले नाम लेखाइरहेका छौँ लकले साथ दिएमा सफल होला भनेर बसिरहेका छौं। बाहिर गएर प्रत्यारोपण गर्दा ४० देखि ८० लाखसम्म खर्च लाग्ने रहेछ। त्यहाँ पनि नियम कानुनका कुराहरू आउँछन्। कुनै पनि बेला स्वास्थ्यमा समस्या आउन सक्छ।

रात–विरात हस्पिटल लानुपर्ने हुन सक्छ। यसले गर्दा गीत–संगीतमा लाग्नुपर्ने मलाई निकै गाह्रो परेको छ। अहिले मेडिसिटी अस्पतालमा हप्तामा दुई चोटी डाएलोसिस गराइरहेका छौं।

सरकारले यस्तो समस्या भएका बिरामीलाई निःशुल्क डाएलोसिसको व्यवस्था गर्ने भने पनि उक्त अस्पतालमा त्यो सुविधा नभएको कारण हप्तामा करिब १४ हजार खर्च गरिरहेको छु।

अहिलेसम्म मैले काम गरेर जम्मा गरेको पैसाबाट नै खर्च जुटाइरहेको छु। हाम्रो समाज यस्तो छ, जहाँ सबैले माया गरेजस्तो गर्छन्। तर, परेका बेला न साथीभाइ, न नातागोता ? कोही पनि अगाडि आउँदैनन्। मैले मानिसका लागि धेरै सहयोग गरेको छु।

धेरै ठाउँमा फ्रीमा गीत गाइदिएको छु। तर, मलाई परेका बेला उहाँहरू कोही पनि हुनुहुन्न। पहिले पैसा केही होइन भन्ठान्थें, तर अहिले पैसा भए सबैथोक छ, नभए कोही पनि छैन भन्ने कुरा बुझेको छु। शुभ चिन्तकको माया र हौसलाचाहिँ पाइरहेको छु।

गीत–संगीतमा लाग्दाको समयलाई कसरी सम्झनु हुन्छ ?

गीत–संगीतमा लागेको समयलाई म एकदमै राम्रो समय भन्न रुचाउँछु। नेपालको सोलुखुम्बुमा जन्मे पनि मेरो बुबा इन्डियन आर्मी भएका कारण मेरो पढाइलेखाइका लागि ६ वर्षको उमेरमा भारत लिएर जानुभयो।

मैले हिन्दी भाषामा पढें। ८ क्लासमा हुँदादेखि नै म राम्रो गीत गजल गाउने भइसकेको थिएँ। बुबालाई म पनि आर्मी बनोस् भन्ने थियो। तर, म संगीतमा रमाउन र यसमै भविष्य देख्न थालिसकेको थिएँ।

कक्षा १० मा हुँदा बुबाको निधन भयो। दाइले तिमीलाई संगीतमा रुचि छ भने संगीत नै पढ भनेर भारतखण्डे विद्यालयमा भर्ना गरिदिनुभयो। यसरी नै सांगीतिक क्षेत्रमा भिज्दै गएँ।

रोयल्टी आफैं उठाउँदै आफैं खाइरहेका छन्। मैले इन्डियामा निकालेको एल्बमको रोयल्टीको चेक घरमै आउँछ। तर, नेपालमा आफू गएर माग्यो भने मात्र हो, नत्र रेस्पेक्टली तपाईँको रोयल्टी यति छ भनेर जानकारी दिने चलन छैन।

नेपाली गीत–संगीतमा कसरी आउनुभयो ?

लखनउमा हुँदा हिन्दी गीत गाउँथें। एकपटक हाम्रो सांगीतिक टिमले नेपालमा कार्यक्रम गर्ने योजना बनायो र म नेपालको भएकाले मलाई पनि नेपालमा ल्याइयो। १५/१६ वर्षको उमेरमा नेपाल आएँ। म किशोर कुमारका गीतहरू बढी गाउँथें।

त्यो बेला नेपाली भाषामा बोल्न मलाई गाह्रो हुन्थ्यो। नेपाली भाषाको मिठासपन मलाई आउँदैनथ्यो। त्यसैले धेरैले मलाई इन्डियन पनि भने। नेपालमा गीत गाउँदा दर्शकले मन पराएपछि नेपालमै बस्ने र गीत गाउने निर्णय गरें। २०४२ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिएर पास भएँ।

दिपक जंगम, नातिकाजी, शिव शंकरजस्ता संगीतकार तथा गीतकारहरूलाई रिक्वेस्ट गरेर गीतहरू गाउन थालें। नेपाल टेलिभिजनका तत्कालीन जीएम नीर शाहको सहयोगमा टेलिभिजनमा आफ्ना गीतहरू लाइभरूपमा प्रस्तुत गर्न थालेपछि सफलता प्राप्त हुँदै गायो।

त्यति बेला राजा वीरेन्द्र र राजपरिवारले पनि मेरो गीतहरू मन पराएर दरबारमा गाउन बोलाउनुहुन्थ्यो। मलाई प्रबल गोरखा दक्षिणबाहु जस्ता पदवीबाट सम्मानित गरिएको थियो। त्यस्तै सन् १९९९ मा लन्डनमा भएको इन्टरनेसनल सारेगममा पनि म प्रथम भएको थिएँ।

करिअरको यो मोडसम्म आइपुग्न कत्तिको संघर्ष गर्नुपर्यो ? संघर्षका क्षण कस्ता–कस्ता थिए ?

हामीकहाँ म्युजिक फिल्डमा जति नै संघर्ष गरे पनि राम्रो फ्युचर छैन। म त संघर्ष गरेर आएको मान्छे, संघर्ष धेरै गरें। अहिले पनि संघर्ष गरिरहेको छु। मलाई यो संघर्षमा सांगीतिक क्षेत्रका व्यक्तिहरूले कहिल्यै पनि साथ दिएका छैनन्।

केवल स्रोता दर्शकको मायाका कारण यहाँसम्म पुग्न सफल भएको छु। यो क्षेत्रमा मेरो गड फादर भन्ने कोही पनि छैन। करिअरको दौरानमा रेस्टुरेन्टहरूमा पनि गीत गाएँ। म आफ्नो काममा निकै मेहनत गर्छु।

त्यस कारण संगीतकारहरू एकपटक लिएपछि अर्को चोटी पनि लिनुहुन्छ। कतिपय मभन्दा राम्रा गायकहरू संगीत सिकाएर बसिरहनुभएको छ। सांगीतमा कला मात्र भएर हुँदैन लकले पनि साथ दिनुपर्छ। भोलि काम पाउँछु कि पाउँदिन थाहा छैन। यस कारण यो नै लास्ट गीत हो भनेर मेहनत गरेर गाउँछु।

आधुनिक गीत, गीत गजल र फिल्मी गीतमध्ये कुन विधाको गीत गाउँदा इन्जोय गर्नुहुन्छ ?

म सबै प्रकारका गीतहरूमा इन्जोए गर्छु। तर, गीतमा मेलोडी हुनुपर्छ। म दर्शकको मागअनुसारको गीत गाउँछु। स्टुडियोमा मेलोडियस गीत गाउँदा आनन्द लाग्छ। स्टेजमा नाच्ने खालका गीतहरू गाउँछु।

विदेशमा जाँदा नेपालीमाझ राष्ट्रभक्तिसम्बन्धी गीत गाउँछु। म एकोहोरो आफ्नै धुनमा भन्दा पनि ठाउँ, परिस्थिति र दर्शकको डिमान्डअनुसार गीत पस्कन्छु।

तपाई यति धेरै ख्याति आर्जन गरेको गायक, समय–समयमा कार्यक्रमहरूमा हिन्दी गीत पनि गाउनुहुन्छ । किन ?

स्टेजमा चढेपछि दर्शकको मागअनुसार गीत गाउने हो। त्यसमा नेपाली मात्र गाउने भन्ने हुँदैन। म नेपाली नबुझ्नेका लागि हिन्दी पनि गाउँछु, मेरो हिन्दी गीतहरू पनि छन्। साथै नेवारी बंगाली, पन्जाबी भाषाका गीत पनि गाउँछु।

भनिन्छ सांगीतिक क्षेत्रमा पनि ग्रुपिजम छ। तपाईंलाई कस्तो लाग्छ ?

सांगीत क्षेत्रमा अझै धेरै पोलिटिक्स छ। तर, पोलिटिक्स भए पनि ट्यालेन्ट हुनेलाई राजनीति गर्नु पर्दैन। ट्यालेन्ट हुनेहरूलाई पोलिटिक्सले बिगार्न सक्दैन। म कुनै पनि ग्रुपमा आबद्ध नभएर अहिलेसम्म आफ्नो काम गरिरहेको छु।

आफ्नै युट्युब सञ्चालन गरिरहनुभएको छ। यसबाट आम्दानी कस्तो चलिरहेको छ ?

म युट्युबमा राम्रा गीत मात्र हाल्छु। जुन अहिलेका युवापुस्तालाई मन पर्दैैन। अहिले त्यस्तै खालका टाइटल राखेर भल्गर चिज हाल्यो भने भ्युज बढी हुन्छ। हाम्रा जमानाका गीत मन पराउने मानिस अहिले आ–आफ्नो क्षेत्रमा दक्ष भइसके। गीत–संगीत सुन्न भ्याउँदैनन्।

अहिले गीत बढी छन्, सुन्ने स्रोता कम छन्। त्यसमाथि घर–घरमा गायक–गायिका छन्। हप्तामा ५/१० जना नयाँ गायक–गायिका आउँछन्। आज गीत गायो, भोलि अवार्ड पाउँछन्।

भर्खरै आयोजना भएको एक म्युजिक अवार्डलाई म निष्पक्ष ठान्थें। तर, मेरो त्यसमा पनि विश्वास गुम्यो। अवार्डको दिन एक गायकले आफ्नो नजिकैको व्यक्तिलाई अब मेरो अवार्ड आउँदै छ, म निस्किन्छु मेरो अवार्ड लिइदिनू भनेको आफ्नै कानले सुनें।

म पैसा तिरेर अवार्ड किन्न सक्दिनँ र गिरेर मलाई अवार्ड देऊ पनि भन्न सक्दिनँ। युट्युबमा मेरो गीत अरूले सुने पनि नसुने पनि, अवार्ड पाए पनि नपाए पनि म राम्रो गीत गाइरहेको छु। म आफू र गडका लागि गाउँछु।

संगीत रोयल्टीले गायक–गायिकालाई राहत दिएको छ कि छैन ?

त्यसमा पनि गोलमाल छ। प्लानिङ गरेर पार्टीका मान्छे राखिन्छ। आफैं उठाउँदै आफैं खाइरहेका छन्। मैले इन्डियामा एल्बम निकालेको थिएँ, जसको रोयल्टीको चेक घरमै आउँछ।

तर, नेपालमा आफू गएर माग्यो भने मात्र हो, नत्र रेस्पेक्टली तपार्र्इंको रोयल्टी यति छ भनेर जानकारी दिने चलन छैन।

हिजोआज संगीतकारहरू आफैं गीत गाइरहेका छन्। तपाईंलाई कस्तो लाग्छ ?

अहिले सबै जना एकलौटी गरौं र अगाडि आउँ भन्ने छन्। एउटै मान्छेले शब्द, संगीत र गायन गर्यो भने उसले गायक गीतकारलाई पैसा दिनुपर्दैन। हाम्रो जमानामा एउटा गीतलाई ५ लाख लाग्थ्यो भने अहिले १ लाखमा तयार हुन्छ। त्यस कारण अहिले गीत आउँछन् र जान्छन्।

तर, गायक र गीतकारको पनि आफ्नो स्थान छ भन्ने कुरा उनीहरूले महसुस गरेका छैनन्। संगीतकारले नै गीत गाउन थालेपछि गायकले त्यति मेहनत गरेर सिकेर आएको के काम लाग्यो? र फेरि गीत गाउने नै हो भने ऊ गायनमा पर्फेक्ट हुनुपर्छ।

तर, अहिले त्यस्तो छैन। अहिले एउटा मान्छे चलेपछि सबैमा उसलाई नै लिइन्छ, अर्को गायकले गीत पाउँदैन। दर्शकलाई आनन्द कार्कीले फिल्ममा गाउने अफर पाएन भन्ने लाग्न सक्छ। तर, ५/१० हजारमा फिल्मका गीत गाउन अफर आउँछन्।

म २५/३० हजार माग्छु। जुन रकम दिन उनीहरू तयार हुँदैनन्। उनीहरूले दिएको जतिमा म गाउँदिन। त्यस कारण नयाँ नयाँ भाइबहिनीहरूले गाइरहेका छन्। उनीहरूलाई जति दिए पनि हुन्छ, दिँदै नदिए पनि हुन्छ। नभए संगीतकार आफैं गाउँछन्।

गीत–संगीतमा लाग्न चाहने नयाँ पुस्तालाई तपार्इंको सल्लाह के छ ?

सांगीतिक क्षेत्र भनेको एउटा लक पनि हो। कला भएर मात्र पनि हुँदैन, लक पनि चाहिन्छ। यदि गायनमा लाग्ने हो भने सिकेर जानेर बुझेर जीवनभर यही क्षेत्रमा लाग्छु भनेर आउनुस्।

नत्र एउटा गीत गाई हेरौं चल्यो भने ठीक छ, नत्र अर्कै काम गर्छु भनेर नआउनुस्। नत्र हामीजस्तो यही क्षेत्रमा जीवन बिताइरहेका गायकलाई गाह्रो हुन्छ।

 

 

प्रतिक्रिया दिनुहोस्