इन्टेग्रीटी आइकन नेपाल २०१९ बाट पाँच जना सम्मानित



कठमाडौ ।

इन्टेग्रीटी आइकन नेपाल २०१९ बाट यस वर्ष पाँच जना कर्मचारी सम्मानित भएकाछन् । यस वर्ष पाँचै जनालाई उनीहरूको विशेष योगदानको कदर गर्दै छुट्टा छुट्टै टाईटलबाट सम्मान गरिएको छ । जस अनुसार, चुलाचुली गाउँपालिका इलामका प्रमुख प्रशासकीय अधिकृत काजिमान राई लाई ईन्टेग्रिटी विथ एक्सन अवार्ड बाट सम्ममान गरियो ।

त्यसै गरेर जिल्ला अस्पताल मुगुका सिनियर अ.न.मी. पुण्य प्रभा देवकोटालाई ईन्टेग्रिटी विथ कम्प्यासन अवार्ड, श्री भानु माध्यामिक विद्यालय तनहुँका शिक्षक प्रेम बहादुर दरैलाई ईन्टेग्रिटी विथ ईन्स्पीरेसन अवार्ड, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाण्डौंका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीलाई ईन्टेग्रिटी विथ ईनोभेसन अवार्ड र बन तथा वातावरण मन्त्रालय आयोजना सहजिकरण शाखा प्रमुख ज्ञानेन्द्र कुमार मिश्रलाई ईन्टेग्रिटी विथ करेज अवार्डबाट सम्मान गरिएको थियो ।

पाँचै जना मध्ये जनमतको आधारमा छनौट गरिने पपुलर च्वाईस अवार्ड भने चुलाचुली गाउँपालिका इलामका प्रमुख प्रशासकीय अधिकृत काजिमान राईले प्राप्त गरे । उक्त उपाधि एसएमएस र वेभसाईटबाट प्राप्त जनताको मतका आधारमा प्रदान गरिएको थियो ।

सम्मानित हुने सबै कर्मचारीलाई कार्यक्रमका प्रमुख अतिथि, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष, माननिय अनुपराज शर्माले ट्रफि तथा कदर पत्र दिएर सम्मान गर्नुभएको थियो । इमान्दार र कर्तव्यनिष्ठ राष्ट्रसेवक कर्मचारीलाई सम्मान गर्न अकाउन्ट्विलिटी ल्याबले हरेक वर्ष यो कार्यक्रम आयोजना गर्दै आएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको संयोजनमा अधिकार सम्पन्न संघीय प्रशासनिक पुन संरचना सहजिकरण समितिका अध्यक्ष एवम् प्रशासनविद् काशि राज दाहाल, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी प्रमुख पुण्य प्रसाद न्यौपाने र पूर्र्व सचिव जीवनप्रभा लामा सदस्य रहनु भएको निर्णायक समितिले उत्कृष्ट छनोट गरेको हो ।

ईन्टेग्रिटि आईकनबाट सम्मानित हुने पाँचै जनालाई बधाई तथा शुभकामना दिदै कार्यक्रमा प्रमुख अतिथि, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले भन्नुभयो, “मान्छे अहिले नैतिक भन्दा पनि भौतिक सेवा सुविधामुखि भईरहेको समयमा ईन्ट्ग्रिटी आईकनले एउटा नौलो र सकारात्मक अभ्यासको सुरुवात गरेको छ ।

ईतिहास हेर्ने हो भने पनि नैतिकवान व्यक्तिहरू नै परिवर्तनका सम्वाहक बन्न सफल भएका छन् । आज सम्मानित व्यक्तिहरू सकारात्मक परिवर्तनका सम्वाहक बन्नेछन् भन्ने विश्वास लिएको छु । ”सार्वजनिक सेवामा सदाचारिता प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१४ नेपालबाट सुरु भएको यो अभियान छैठौँ संस्करणसम्म आइपुग्दा, लाईबेरिया, पाकिस्तान, माली, दक्षिण अफ्रिका, नाइजेरिया, श्रीलंका, नाईजर र मेक्सीको लगायतका देशमा शुरु भईसकेको छ ।

“अवको आवश्यकता भनेको सरकारी सेवामा सृजनात्मक तवरले नेतृत्वदायी भुमिका निर्वाह गर्ने युवा पुस्तालाई प्रोत्साहन गर्नु हो । अहिले युवाहरूले थुप्रै सामाजिक, आर्थिक तथा राजनितिक विषयमा आवाज उठाईरहेका छन् ।

यति भन्दै गर्दा, पुरानो पुस्ताको भुमिका हुदैन भन्ने कदापि हैन । पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको सृजनालाई सँगै अगाडी लाने हो भने संयन्त्र सुधारको बाटो अँझै फराकिलो हुनेछ ।” आयोजक संस्था एकाउन्ट्याविलिटी ल्याबका प्रमुख नारायण अधिकारीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्