सन्दर्भ: ४०औं विश्व पर्यटन दिवस: पर्यटन क्षेत्रमा नेपालको अवस्था



विश्वनाथ खरेल

हरेक वर्षको सेप्टेम्बर २७ अर्थात् आजको दिनलाई अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाइन्छ। पर्यटन वास्तवमा संसारको सबैभन्दा ठूलो उद्योग अर्थात् अर्थ जम्मा गर्ने प्रमुख स्रोत पनि हो। यसर्थ विश्वभरिकै पर्यटक संख्या एक अर्बमात्र भर्खरै पुगेको अनुमान गरिएको छ।

देशमा आउने पर्यटकको संख्यामा मात्र वृद्धि गरिएर हुँदैन। उनीहरूको संख्याको साथै खर्चमा वृद्धि गर्ने वातावरण नबढेसम्म पर्यटक आगमनले मात्र आर्थिक लाभ प्राप्त हुन सक्दैन। देशमा के–कसरी बढीभन्दा बढी पर्यटक भित्र्याउने भन्ने विषयमा नीति निर्मातादेखि पर्यटन व्यवसायीहरूको ध्यान जानुपर्छ।

हाम्रो देशमा भने वार्षिक ११ लाखभन्दा बढी पर्यटकहरू आइरहेका छन्। त्यसलाई बढाएर आउँदो वर्ष २० लाख पुर्याउने भनेर हामीले विभिन्न भ्रमण वर्षको आयोजना गरिरहेका छौं तर लक्ष्यअनुसार पूरा हुन सकेको छैन। यसै गरी अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले वृद्धि भई सन् २०१८ मा ११ लाख ७७ हजार विदेशी पर्यटक भित्रिए।

पर्यटक आगमनको यही वृद्धिदर कायम रहे भ्रमण वर्षको लक्ष्य हासिल हुन सक्छ। यसका लागि बाह्य परिस्थिति अनुकूल हुनुपर्छ भने आन्तरिक सुधारलाई तीव्रता दिनुपर्छ। बाह्य परिस्थिति अनुकूल रहे विभिन्न मुलुकमा समयमै प्रवद्र्धनात्मक कार्यक्रम गरेर पर्यटक आकर्षण गर्न सकिन्छ।

शायद यसैले होला, विश्वको सबैभन्दा अग्लो सगरमाथा र भगवान् बुद्धको देशमा विश्वका हरेक देशबाट पर्यटकको घँुइचो लाग्ने गर्दछ। विविध कारणले गर्दा राष्ट्रमा आर्थिक विकासमा पर्यटन पनि एक मुख्य स्रोतको रूपमा रहेको छ।

देशको बाह्य विश्वसँग आफ्नो निर्यात व्यापार नहुँदा र नेपालीहरू विभिन्न देशमा गएर रेमिट्यान्स आर्जन नगर्दासम्म पर्यटन नै वैदेशिक मुद्रा आजको प्रमुख स्रोतको रूपमा रहेको थियो। हाल पनि पर्यटनले देशको कुल गार्हस्थ्य उत्पादनमा २/३ प्रतिशत योगदान गरिरहेको तथ्यांकले देखाउँछ।

पर्यटन क्षेत्रको वास्तविक विकास गर्ने हो भने यो भन्दा बढी विदेशी मुद्रा आर्जन गर्न सकिने प्रबल सम्भावना छ। सन् १९५० को दशकमा शुरू भएको मुलुकको पर्यटन क्षेत्र अझै उद्योगको रूपमा विस्तारित हुन नसक्नुलाई विडम्बना नै मान्नुपर्छ। देशमा आउने पर्यटकको संख्यामा मात्र वृद्धि गरिएर हुँदैन।

उनीहरूको संख्याको साथै खर्चमा वृद्धि गर्ने वातावरण नबढेसम्म पर्यटक आगमनले मात्र आर्थिक लाभ प्राप्त हुन सक्दैन। देशमा के–कसरी बढीभन्दा बढी पर्यटक भित्र्याउने भन्ने विषयमा नीति निर्मातादेखि पर्यटन व्यवसायीहरूको ध्यान जानुपर्छ।

ती पर्यटकहरू गुणस्तरीय हुन् कि हैनन्, तिनको खर्च गर्ने क्षमता के–कस्तो छ भन्ने विषयमा कमै मात्र ध्यान पुर्याइएकाले संख्या बढे पनि देशले पर्यटन क्षेत्रबाट गर्ने आयमा खासै वृद्धि हुन सकेको छैन। दिनमा १० डलर पनि खर्च नगर्ने पर्यटकबाट नेपालजस्तो गन्तव्यले के आशा गर्ने ?

अर्कोतिर पर्यटकहरूको बसाइ अवधि पनि हामीले बढाउन सकेका छैनौं। सन् १९९८ मा नेपाल भ्रमण वर्ष मनाउँदा यो संख्या ५ लाख पुगेको थियो। त्यसै गरी सन् २०११ मा नेपालले वार्षिक पर्यटक आगमन संख्या १० लाख पुर्याउने भनेर नेपाल पर्यटन वर्षकै रूपमा मनाइयो।

त्यस हिसाबले हेर्दा यसबीचमा ठूलै उपलब्धि भएको मान्नुपर्ने हुन्छ, तर दुर्भाग्यवश ५ लाख पर्यटक आउँदा र ८ लाख पर्यटक आउँदाका बीचमा राष्ट्रिय पर्यटन आयमा खासै वृद्धि नभएको नेपाल राष्ट्र बैंकको विवरणले देखाएको छ।

यसको अर्थ या त खर्च गर्न सक्ने किसिमका पर्यटक नै ल्याउन सकिएन, या पर्यटन क्षेत्रले औपचारिक प्रणालीबाट कम कारोबार गरिरहेको छ। यदि गुणस्तरीय पर्यटक नआएका हुन् भने बढी खर्च गर्ने खालका पर्यटक बढीभन्दा बढी भित्र्याउनका लागि आवश्यक राष्ट्रिय रणनीति बनाउनु आवश्यक भइसकेको छ।

नेपाल भ्रमणका लागि आउने पर्यटकहरूले कुन क्षेत्रमा र कुन उत्पादनमा बढी खर्च गर्छन् भन्ने विषयमा अहिलेसम्म अध्ययन र विश्लेषण नै भएको छैन भन्ने मान्न सकिन्छ। उदाहरणका लागि दक्षिण भारतीयहरू नेपालमा बढी खर्च गर्ने पर्यटकका रूपमा चिनिन्छन्।

विश्वभरि नै खर्चालु भनेर चिनिएका चिनियाँ पर्यटक नेपालमा भने कम खर्च गर्नेमध्येमा पर्छन्। उनीहरूले कम खर्च गर्नुका कारण यी पर्यटकले गर्ने किनमेलका वस्तु नेपालमा नहुनु नै हो। यसकारण हामी संवेदनशील बन्नै पर्छ।

हाम्रो जस्तो देशमा पर्यटन सेलाउन पुग्नु भनेको राष्ट्रिय अर्थतन्त्रमा नराम्रोसँग धक्का लाग्नु हो। सन् २०१२ मा नेपालमा विदेशी पर्यटकको कुल आगमन ८ लाख ३ हजार रह्यो। सन् १९९८ मा ४ लाख ६३ हजार पर्यटक नेपाल धुम्न आएका थिए। यो १८ वर्षको अवधिमा पनि हामीले पर्यटक आगमनलाई दोब्बर बनाउन सकेका छैनौं।

कस्तो विडम्बना ⁄ कछुवा गतिमा चलेको नेपालको पर्यटनलाई पानी र ऊर्जाको चुनौती झन्–झन् थपिँदै गएको छ। सन् २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउने हाम्रो सपना छ। तर हाम्रा पर्यटकीय गन्तव्यमा वर्षैपिच्छे थपिँदै ग्एका स्रोत संरक्षणका चुनौतीप्रति भने हाम्रो अपेक्षित ध्यान जान सकेको छैन।

हाम्रो देशमा पर्यटकको लहर सेप्टेम्बरबाट शुरू भए पनि अक्टोबर र नोभेम्बरमा सबैभन्दा बढी पर्यटक भित्रिन्छन्। यो सिजनमा पदयात्रा र घुमघामका लागि बढी आउँछन्।

मे महिनामा आउने केही पर्यटक पर्वतारोहणमा पनि जान्छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सन् २०१७ को तथ्यांकअनुसार नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी बिदा मनाउन र मनोरञ्जनका लागि आउँछन्।

खासगरी विश्वका विभिन्न मुलुकमध्ये नेपालमा विदेशी पर्यटक आउने प्रमुख १० देशहरू यस प्रकार रहेका छन्। तिनमा भारतका १ लाख ६० हजार ८ सय ३२, चीन १ लाख ४ हजार ६ सय ६४, अमेरिका ७९ हजार १ सय ४६, बेलायत ५१ हजार ५८, श्रीलंका ४५ हजार ३ सय २१, थाइल्यान्ड ३९ हजार १ सय ५४, दक्षिण कोरिया ३४ हजार ३ सय १, अस्टे«लिया ३३ हजार ३ सय ७१, म्यानमार ३० हजार ८ सय ५२ र जर्मनीका २९ हजार ९ सय १८ पर्यटकहरू नेपाल आएका थिए।

मुुलुकमा कहाँबाट कति पर्यटक आउँछन् भन्ने कुरालाई अवलोकन गर्दा सबैभन्दा बढी भारतबाट आउँछन्। तिनीहरूको मुख्य उद्देश्य भनेको धार्मिक स्थलको घुमघाम हो।

त्यस्तै गरी दोस्रोमा धेरै पर्यटक आउने देश चीन हो। सन् २०१७ मा भारतबाट १ लाख ६० हजार ८ सय ३२ र चीनबाट १ लाख ४ हजार ६ सय ६४ जना आएका थिए।

कुन उद्देश्यले आउँछन् पर्यटक नेपालमा भन्दा, बिदा मनाउन ६ लाख ५८ हजार १ सय ५३, पदयात्रा र पर्वतारोहणको लागि ७५ हजार २ सय १७, धार्मिक दृष्टिकोणले १ लाख ४१ हजार ३३ र अन्यमा ६५ हजार ८ सय १५ रहेका छन्।

त्यस्तै गरी कुन देशका पर्यटकहरूले धेरै खर्च गर्छन् भन्दा, नेपाल आउनेमध्ये संख्यामा धेरै आए पनि खर्च गर्नेको सूचीमा पर्दैनन् भारतीय र चिनियाँ पर्यटकहरू।

युरोप र अमेरिकी देशका पर्यटक नै बढी खर्च गर्छन् अन्य देशको तुलनामा। सन् २०१६ मा ५३ डलर प्रतिदिन खर्चदर थियो भने सन् २०१७ मा एक डलर बढेर ५४ पुगेको छ।

अमेरिका, बेलायत, जर्मनी, क्यानाडा अस्ट्रेलिया हुन। यसरी नेपालमा आउने पर्यटकहरूमध्ये कुन गन्तव्यमा कति पुगे विदेशी पर्यटक भन्दाखेरि नेपाल आउने पर्यटकको मुख्य गन्तव्यमा काठमाडौं उपत्यका, चितवन, पोखरा, लुम्बिनी, अन्नपूर्ण पदमार्ग, माथिल्लो मुस्ताङ, लाङटाङ राष्ट्रिय निकुञ्ज, सगरमाथा क्षेत्र पर्छन्।

पछिल्लो समय पूर्वी नेपालका कञ्चनजंघा, इलाम, धादिङको रुबी भ्याली, बडिमालिका, हुम्लालगायतका नयाँ गन्तव्यतिर पनि पर्यटकको आकर्षण बढेको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षमा ६ लाख ४ हजार ९१, पशुपतिनाथ क्षेत्रमा १ लाख २४ हजार १ सय ८०, लुम्बिनी क्षेत्रमा १ लाख ४५ हजार ७ सय ९६, मनास्लुमा ५ हजार ७ सय ४५, मुस्ताङमा ६ हजार ६ सय ३२, हुम्लामा १३ हजार ३ सय ९८, तल्लो डोल्पामा ९ सय २४, माथिल्लो डोल्पा ४ सय २५ र कञ्चनजंघामा १ हजार ८ पर्यटकहरू आएका थिए भनी सम्बन्धित क्षेत्रले जनाएको थियो।

समग्रमा भन्नुपर्दा, संसारको छानोको उपमाबाट प्रसिद्ध नेपालले सहज, सुलभ र सुरक्षित पर्यटनका आधारहरू खडा गर्न जरुरी छ। प्राकृतिक सम्पदाले हामी एकदमै धनी भए पनि धेरैजसो प्राकृतिक मनोरम दृश्यावलोकनका लागि दुर्गम ठाउँ जानुपर्दछ, त्यस्ता ठाउँमा सहज यातायातको साधन उपलब्ध हुँदैन, सहज बाटो छैन र त्यसमाथि ती ठाउँमा उचित होटल, स्वास्थ्य सुविधा अनि सुरक्षाको उचित प्रबन्ध नहुनुले त्यसतर्फ छिट्टै ध्यान पुग्न जरुरी छ।

अर्कोतर्फ भने हाम्रा सांस्कृतिक धरोहरहरूको उचित स्याहार, सम्भार अनि भुइँचालोपछि भग्नावशेष र असुरक्षित बनेका यी शताब्दीयांै पुरानो सभ्यताको बयान दिने धरोहरलाई आवश्यक सम्भार र उचित पुनर्निर्माण गर्न जरुरी छ।

मुलुकका लागि आउँदो १५ वर्षभित्र २५ लाख पर्यटक आउने गन्तव्य राष्ट्र बनाउन सकियो भने हाम्रो विद्यमान आवश्यकता पर्यटन लक्ष्यकै सबैभन्दा ठूलो उपलब्धि हुनेछ र त्यो लक्ष्य पूरा गर्नका लागि धेरै ठूलो प्रयास पनि आवश्यकता छैन।

हाम्रो उत्तरी छिमेकी चीनबाट र दक्षिणी छिमेकी भारतबाट विश्व भ्रमणमा निस्कने खर्चालु पर्यटकको १० प्रतिशतलाई मात्र नेपालमा आकर्षित गर्न सकियो भने पर्याप्त हुन्छ। त्यसमा युरोप, अमेरिका र अन्य एसियाली मुलुकबाट आउने पर्यटकको थप योगदान रहनेछ।

देशको विदेशी मुद्रा आर्जनमा सहयोग पुर्याउँदै आएको उद्योगमा पर्यटन उद्योेगको लामो र विश्वसनीय नाम रहेको छ। मुलुकको कुल गार्हस्थ्य उत्पादनमा समेत यो उद्योगको प्रत्यक्ष र भरपर्दे स्थानलाई कसैले नकार्न सक्दैन।

देशमा रोजगारी सिर्जना गर्न होस् वा फरक संस्कृतिको आदान–प्रदानसहित अन्य सहउत्पादनका लागि अवसर उपलब्ध गराउन देशको पर्यटन क्षेत्रले आफ्नो भूमिका निर्वाह गर्दै गरेको सर्वविदितै छ। अतिथिलाई देवता मान्ने नेपाली संस्कृतिको वास्तविक झलक पर्यटकको स्वागत सत्कारले दिलाउन सक्नुपर्छ।

 

प्रतिक्रिया दिनुहोस्