जनतालाई मूल्यवृद्धिको उपहार कहिलेसम्म ?



सरकारले जनतालाई सधैँ मूल्यवृद्धिको उपहार चाडबाडका समयमा दिने गरेको छ। सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न नसक्दा चाडबाडको समयमा खाद्यवस्तुको भाउ आकाशिएको छ। बजारमा साग किन्नै सकिँदैन। पहिला मुठाको ३० रुपियाँमा पाइने साग अहिले जोखेर बेचिन्छ। मासु त सोच्ने मात्रै हो।

पसलमा केही किन्न गयो पाँच सय रुपिँयाँ दुई मिनेट टिक्दैन। आखिर यो समस्या कहिलेसम्म ? केही समययता बजारभाउ नियन्त्रण हुन सकिरहेको छैन। बजारभाउ अनियन्त्रितरूपमा बढिरहँदा यसलाई नियन्त्रण गर्नतर्फ सरकारको पहुँच पुग्न सकेको देखिँदैन।

चाडबाडको समयमा उपभोक्ता बजारमा कृत्रिम अभाव सिर्जना गर्नेदेखि कालोबजारी गर्नेसम्मका अवैध क्रियाकलाप हुने गर्छन्, जसबाट उपभोक्ताहरू मूल्यवृद्धिको चपेटामा पर्छन्। चाडबाडको मुखमा अति आवश्यक वस्तुको मूल्य बढ्दा सर्वसाधारणलाई मर्का परिरहेको छ।

सरकारको लक्ष्यअनुसार बजेट खर्च हुने र विप्रेषण आप्रवाहको वृद्धिदर कायमै रहने हो भने मूल्यवृद्धि अझै बढ्ने अनुमान गरिएको छ।

अघिल्लो आर्थिक वर्षभन्दा बढीको बजेट आउनु, विप्रेषण आप्रवाहको दर बढ्नु, बजारमा सरकारको कमजोर उपस्थिति हुनु र अनुत्पादक क्षेत्रमा लगानी बढ्नुको कारण बजारभाउ नियन्त्रणबाहिर रहेको अर्थविद्हरूले विश्लेषण गरिरहेका छन्।

हरेक वर्ष चाडपर्वको समयमा बजारमा उपभोग्य वस्तुको भाउ अस्वाभाविक ढंगले वृद्धि हुने गरेको छ। तरकारीलगायत दैनिक उपभोग्य सामग्रीको मूल्यवृद्धि भएपछि उपभोक्ताहरू पीडित भएका छन्।

विशेष गरी चाडबाडको समयमा उपभोक्ताको ढाड सेक्ने गरी अस्वाभाविक मूल्य वृद्धि भइरहे पनि सरोकारवाला निकाय मौन भइदिँदा सर्वसाधारण मर्कामा परिरहेका छन्।

स्थानीय प्रशासनले नियमित अनुगमन गरी मूल्यवृद्धि नियन्त्रण गर्न सक्ने भए पनि जे–जसरी प्रभावकारी अनुगमन हुनुपर्ने हो, त्यसरी भइरहेको पाइँदैन। जसका कारण व्यापारीले अनुचित फाइदा उठाउँदै आएका छन्।

बजार कालाबजारीको नियन्त्रणमा रहेको तथ्य सबैलाई विदितै भएको कुरा हो। उपभोक्ताको दैनिक जीवनसँग जोडिएका र बिहान–बेलुकीका लागि अति आवश्यक पर्ने हरियो तरकारी, खाने तेल, चिनी र खाद्यवस्तुको मूल्य छोइसाध्यै छैन।

सुपथ भनेर खोलिएका पसलमा पनि उपभोक्ताले राहतको अनुभूति गर्न सकेका छैनन्। अहिले बजार सर्वसाधारणको पहुँचबाहिर गइसकेको अनुभूति गर्न थालिएको छ।

पछिल्लो समय नेपाली बजारमा बेथिति बढेर गएको छ। नियमसंगत नियमन हुन नसक्दा कालोबजारी फस्टाइरहेको छ। व्यापारीहरूले जे–जस्ता बहाना वा बाध्यता देखाए पनि महँगीको रोग राष्ट्रव्यापी समस्या बनिसकेको छ।

दशैँ नजिकिँदै गर्दा बजारमा मूल्यवृद्धि अकाशिँदै जानु चिन्ताकै विषय हो। कृषिजन्य वस्तुको परनिर्भरता कत्ति पनि घट्न सकेको छैन। उत्पादकत्व बढाउन नसक्दा भारतीय बजारको एकाधिकार पनि कायमै छ।

यही विडम्बनाबीच चाडपर्वको बहानामा व्यापारीहरूले खाद्यवस्तुमा मूल्यवृद्धि गरेर उपभोक्ताको सातो खाने काम गरेका छन्। जबसम्म कालोबजारी र बिचौलिया नियन्त्रण गर्न सकिँदैन, उपभोक्ता यसरी नै महँगीको मारमा पिल्सिरहनेछन्।

बजारलाई आफ्नो नियन्त्रणमा राख्ने व्यवसायी, बिचौलिया र मनोमानी गर्नेविरूद्ध कारबाही नगरेसम्म उपभोक्ताले यस्तै सास्ती पाउनेछन्। तसर्थ, यस विषयमा सरकारी संयन्त्र सक्रिय हुन अत्यन्तै जरुरी देखिन्छ।

– दिनेश राजवंशी,
ट्राफिक चोक, बुटवल।

प्रतिक्रिया दिनुहोस्