नेपालीको हालत



टीका खनाल

नेपाली हुनुमा गर्व गर्छ को यस हालतमा
हजारौं नागरिक जान्छन् विदेश एक सालमा।

बेचेरै सकियो देश रहेको सब बाँझियो
अन्न बाली कतै छैन झार जङ्गल गाँझियो।

देशका नाइके गर्छन् सल्लाह देश बेच्नको
कदरै छैन विद्वानको देशको सेवा गर्छ को।

देशको नाप नै सानो खुम्चिँदै गएको देखियो
थाहै नपाई सिमाना कहिलेदेखि बेचियो।

चाहे त्यो माहुरी आओस् चाहे झिँगा त्यो जालमा
माकुरी रस त्यो चुस्छे पारेर उही हालमा।

देश नियाल्छन् हाँगामा बसेर बाहिरी चरा
चारो टिपेर फर्किन्छन् गुँड छैन नि विचरा।
नेपाली हौं भन्छन् देशभित्र पसेपछि
मोटायो सबको भुँडी कुर्सीमा बसेपछि।
देशबासी भए नाङ्गा आफ्नु छैन हकै कति
कुर्सीमै सब सुम्पन्छन् गरेको जति उन्नति।

प्रतिक्रिया दिनुहोस्