लक्ष्मी कि सरस्वती ?



केही समयअघि एकजना मित्रले धनसम्पत्तिको निकै नै चुरीफुरी गरिन्। ‘दुई–दुईवटा घर छन् शहरमा, अझ अरू दुईटा बनाउँदै छु’ भनी खोक्न भ्याइन् पनि। यो बबुरो अनपढ धरहरा आफू ठडिन नसकेमा घोसेमुन्टो लगाएर सोचमग्न भयो।

‘उसले जतिवटा घर बनाए पनि ठूलो त मै हुन्छु, अग्लो त मै हुन्छु, मलाई उठाउन, ठड्याउन देशविदेश सबैतिरका मान्छे लागेकै छन्’ भन्ने ठानेर उनको तारिफ सुन्यो। मनमा लाग्यो भ्यागुताको धार्नी कहिले पुग्ला र ?

तर, हिजोआज चाडपर्व नजिकिएसँगै लक्ष्मीमाताको कृपा प्राप्त गर्नेहरु यतिबेला बजारमा किनमेलमै व्यस्त देखिएका छन्। कसरी कमाउँछन् कुन्नि ? पत्याउनै मुस्किल पर्छ।

ट्वाल्ल अर्काको मुखाँ हेर्यो, ठ्याक्कै लाटो जस्तै बनेर। सधैं भेट भइरहने मित्र केही दिनदेखि एकाएक गायब भएपछि धरहरा अलमलमा पर्यो। अनि खोजतलास गर्नुपर्ने आफ्नो कर्तव्य ठानेर यसो दुरविन घुमाएको कतै देखिएन। उनको फुर्तीफार्ती हेर्न मन थियो।

पछि अर्का एक मित्रले पो सुनाए– ‘उनी त प्रहरीको खोजीको सूचीमा परेकी छन् भनेर। के रहेछ चुरो कुरो भन्या सार्वजनिक जग्गा व्यक्तिको हाउजिङका नाममा गर्ने क्रममा उनी पनि मुछिएकी रहिछन्।’

९२ रोपनी सार्वजनिक जग्गा नै व्यक्तिका नाममा पार्न सक्नेलाई जाबो काठमाडौंमा दुईचारवटा घर के नौलो भयो र ? पढेलेखेकी हुनाले उनी सरस्वती र धन धेरै कमाएकीले लक्ष्मी के नाम राखौं भन्नेमा अलमल परेको छ। उनी लक्ष्मी कि सरस्वती ?

प्रतिक्रिया दिनुहोस्