बजारभित्र पार्किङ गर्न नपाइने



Stranded passenger vehicles are parked due to bundh called by various small parties, at old Buspark, Ratnapark, Kathmandu on Monday.Photo: THT/ File

नेपाल समाचारपत्र, गुल्मी। चाडपर्वको समयमा अन्य समयमा भन्दा धेरै भीडभाड बढ्ने र सवारी चाप पनि बढ्ने भएकाले ट्राफिक व्यवस्थापनलाई मध्य नजर राखेर जिल्ला ट्राफिक कार्यालय गुल्मीले सक्रियता बढाएको छ।

यसै सन्दर्भमा वडादशैं नजिकिदै जाँदा गुल्मीको सदरमुकाम तम्घासमा ट्राफिक व्यवस्थापन सम्बन्धी विभिन्न निर्णय गरिएको छ।

बुधबार जिल्ला ट्राफिक कार्यालय गुल्मीमा बसेको सरोकारवालासँगको छलफलपछि बजार क्षेत्रमा ट्राफिक व्यवस्थापनलाई चाडपर्वको बेला व्यवस्थित गर्न विभिन्न निर्णय भएको हो।

बजार क्षेत्रमा बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुकी ३ बजेदेखि ५ बजेसम्म ठूला तथा साना सवारी साधनले मालसामान लोड अनलोड गर्न नपाउने भएका छन्।

बजार क्षेत्रमा कुनैपनि सवारी साधन चालक बिना लामो समय पाकिङ गरेर राख्न नपाइने, बजारमै मालसमान एकबाट अर्को गाडीमा पल्टी गर्न नपाइने भएको छ। धेरै सवारी साधन एउटै पसलमा राखेर सामान लोड गर्न नपाइने जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ।

त्यस्तै सदरमुकाम बाहिरबाट बजार क्षेत्रमा प्रवेश गर्ने सवारी साधनले बसपार्कबाहेक अन्य क्षेत्रमा यात्रु चढाउन र झार्न नपाइने निर्णय भएको छ। पुतली बजार क्षेत्रको शहीद चोकसम्म मोटरसाइकल लामो समयसम्म पार्किङ गरेर राख्न नपाइने निर्णय भएको छ।

निर्माण सामग्री तोकिएको समयमै हटाउने गरी झार्ने र राख्ने निर्णय भएको छ। बजार क्षेत्रमा चाडपर्वको बेला अत्यधिक चाप बढ्ने र सवारी साधनको जामसमेत हुने भएकाले त्यसलाई मध्यनजर राखेर ट्राफिक व्यवस्थापन गर्ने निर्णय भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक प्रवीन आचार्यले बताउनुभयो।

बजार क्षेत्रमा लामो समयसम्म सवारी जाम हुन नदिन सरोकारवालाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। तम्घास बजारमा साँघुरो सडक भएका कारण दिउँसोको समयमा अत्यधिक सवारी चाप बढ्ने हुनाले लामो समयसम्म सडक जाम हुने गरेको छ।

ट्राफिक प्रहरीले चाडपर्व नजिकिएसँगै सवारी चेकजाँचलाई पनि कडाइ गरेको छ। जिल्ला सदरमुकामबाट बाहिरिने सवारी साधनले क्षमताभन्दा बढी यात्रु राखेर हिँडेकोमा कारबाही गरिएको प्रहरी नायब निरीक्षक आचार्यले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्