धमाधम निर्माण हुँदै राष्ट्रिय महत्वको भवन



मधुसूदन रायमाझी, काठमाडौं

लामो समयदेखि निर्माण हुन नसकेको राष्ट्रिय महत्व बोकेको सरकारी भवन निर्माणको काम धमाधम अगाडि बढेको छ। २०५५ सालमा नै निर्माण गर्ने घोषणा गरिएको संघीय संसद् भवन निर्माणको काम यस वर्षबाट अगाडि बढेको छ। लामो समयदेखि भाडामा सञ्चालन हुँदै आएको संघीय संसद्को अब आफ्नै भवन हुने भएको छ।

जसका कारण राज्यलाई वार्षिक १५ करोडभन्दा बढी फाइदा हुनेछ। शहरी विकास तथा भवन निर्माण विभागले संघीय संसद् भवन निर्माणसँगै बालुवाटारस्थित प्रधानमन्त्री निवासको काम अगाडि बढाइसकेको छ भने ललिपुरको सैंबु भैसीपाटीस्थित मन्त्री क्वार्टर र सातवटा प्रदेशका प्रमुख/मुख्यमन्त्रीको कार्यालय निर्माणको काम पनि अगाडि बढाउने भएको छ।

शहरी विकास तथा भवन निर्माण विभागले विशेष भवन निर्माण आयोजना समन्वयन कार्यालय स्थापना गरेरै लामो समयदेखि अगाडि बढ्न नसकेका राष्ट्रिय महत्वका सरकारी भवनहरूको काम धमाधम अगाडि बढाएको छ।
सरकारले सिंहदरबारस्थित पुतली बगैंचामा संघीय संसद् भवन निर्माणको काम अगाडि बढाएको छ।

तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यको साथ शिलान्यास भएको संसद् भवनको डिजाइन अत्याधुनिक प्रविधिबाट गरिएको छ। विभागले अन्तर्राष्ट्रिय मापदण्डअनुसार भवनको डिजाइन गरेको छ। आधुनिक र प्रविधिमैत्री संसद् भवन १ सय ७३ रोपनी ८ आना क्षेत्रफलमा फैलिनेछ।

करिब ५ अर्ब २ करोड (भ्याट बाहेक) मा निर्माण हुन लागेको संघीय संसद् भवन निर्माण भएपछि संसदीय समिति, संसदीय दलको कार्यालय, संसद् सचिवालय एउटै भवनबाट सञ्चालन हुनेछ।

संसद् भवन परिसरभित्र प्रतिनिधिसभा भवन, राष्ट्रिय सभा भवन, अति विशिष्ट व्यक्तिहरूको कार्यालय भवन, पुस्तकालय/संग्रहालय, ससदीय दलको कार्यालय भवन, संसदीय समितिको भवन, संसदीय सचिवालयको भवन, चमेना गृह, प्रेस/छपाइ भवन र ७ सयवटा सवारीसाधन पार्किङ/सुरक्षाकर्मीको भवन रहनेछ।

शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत रहेको विशेष भवन निर्माण इकाइका सीडीई प्रर्किण तुलाधरले मुख्य गुरुयोजनालाई चारवटा क्षेत्रमा विभाजन गरिएको बताउनुभयो। संसद् भवन परिसरभित्र हरियाली चौर, पानीको फोहोरा, सार्वजनिक खुला चौर रहनेछ भने आपत्कालीन विशेष अवस्थाहरू भूकम्प आगलागीलाई ध्यानमा राखेर इन्जिनियरिङ डिजाइन गरिएको तुलाधरले बताउनुभयो।

दशिण मुख्य प्रवेशद्वारको बायाँतर्फ संसद्को तल्लो सदन प्रतिनिधिसभाको बैठक बस्ने ठूला हल हुने छ भने प्रवेशद्वारको दायाँतर्फ संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको बेठक बस्ने हल हुनेछ। तुलाधरको अनुसार प्रतिनिधिसभाको भवनमा ४ सय सांसद, सभामुखको कार्यकक्ष, ३ सय जना दर्शक आगन्तुक पाहुना अट्ने गरी डिजाइन गरिएको छ।

प्रतिनिधिसभाको हलमा ९ सय जना अटाउने क्षमता रहेको छ। त्यसै गरी राष्ट्रिय सभाको हलमा भने ३ सय जना अटाउने गरी निर्माण हुनेछ।

 

बालुवाटारमा प्रधानमन्त्रीको नयाँ निवास

प्रधानमन्त्री निवास बालुवाटारमा आधुनिक र सुविधासम्पन्न प्रधानमन्त्रीको निवास निर्माणको काम अगाडि बढेको छ। प्रधानमन्त्री निवासमा दुईवटा भवन निर्माण हुनेछ। जसमध्ये एउटा प्रधानमन्त्रीको निजी प्रयोजन र अर्को सार्वजनिक प्रयोजनका लागि प्रयोग हुनेछ।

सार्वजनिक भवनमा राजनीतिक कूटनीतिक संवाद तथा सर्वसाधारणसँग भेटघाटमा उपयोग हुने विशेष भवन निर्माण आयोजना समन्वयन कार्यालयका सीडीई प्रर्किण तुलाधरले बताउनुभयो।

भुइँतलामा अति विशिष्ट भेटघाट कक्ष, मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्न सक्ने हल, ४० जनासम्मले खाना खान मिल्ने डाइनिङ हल, किचन, कम्युनिकेसन सेन्टर, सुरक्षकर्मीको कन्ट्रोल रुम, एडीसी अफिस, गोप्य कोठा र प्रतीक्षा कक्षलगायत १४ वटा युनिट रहने गरी डिजाइन गरिएको छ।

करिब ४० करोड रुपियाँमा निर्माण हुन लागेको प्रधानमन्त्रीको नयाँ निवास दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको तुलाधरले बताउनुभयो।

त्यसै गरी पहिलो तलामा सर्वसाधारणसँगको भेटघाट कक्ष, भोजभतेर गर्ने बैंक्वेट, एउटा भान्सा, दुईवटा प्रतीक्षा कक्ष, होल्डिङ रूप, पीए कक्ष, प्रधानमन्त्रीलाई प्राप्त गिफ्ट राख्ने ग्यालरी, सैलुन, डाक्टर कक्ष, डेन्टल कोठासहित ९ वटा युनिट रहनेछ।

दोस्रो तलामा भने प्रधानमन्त्रीको कार्यकक्ष, प्रधानमन्त्रीले देशबासीको नाममा सम्बोधन गर्न अडियो भिडियो स्टुडियो, बगंैचा, लबीसहित १२ वटा युनिट रहने गरी डिजाइन गरिएको छ। प्रधानमन्त्री निवासमा बनाइने पब्लिक भवन चोक शैलीमा बनाइनेछ। करिब दुई रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको भवनमा नेपाली संस्कृति र परम्परागत शैली झल्किनेछ।

एक रोपनी क्षेत्रफलमा निर्माण हुने निजी निवास भने पूर्णतया प्रधानमन्त्रीको निजी अवासीय प्रयोगजनका लागि पनि प्रयोग हुनेछ। यो भवन पनि तीन तलाको हुनेछ। निजी निवासको भुइँतलामा गेस्ट रुम, लिभिङ रुम, डाइनिङ र किचन, लुगा धुने कक्ष, सेक्युरिटी गार्ड कक्षसहित १० युनिट रहनेछ।

पहिलो तलामा मास्टर बेड रुम, परिवारका लागि अर्को बेडरुम, फ्यामिली रुम, डाइनिङ र किचन, प्रधानमन्त्रीको अध्ययन कक्ष, पूजा कोठा, होम थिएटर, लबी, बाल्कोनीसहित १५ युनिट रहनेछ। दोस्रो तलामा भने अति विशिष्ट पाहुनाका लागि तीनवटा बेडरुम, सुरक्षाकर्मीका लागि कक्ष, पाहुनाका सहयोगीका लागि कोठा, डाइनिङ किचन र लबीसहित ११ युनिट हुनेछ।

 

साढे २ अर्बमा मन्त्री निवास

ललितपुरको पुलचोकमा रहेको मन्त्री निवास साँघुरो भएको भन्दै सरकारले मन्त्रीहरूका लागि नयाँ निवास निर्माण गर्ने भएको छ। पुलचोकको मन्त्री निवास साँघुरो भएसँगै आधुनिक र व्यवस्थितरूपमा सरकारले ललितपुरको सैंबु भैंसीपाटीमा नयाँ भवन निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ।

मन्त्री निवासको डिजाइनको काम सम्पन्न गरेर शिलान्यास गर्ने कार्यमा सहरी विकास तथा भवन निर्माण विभाग जुटेको छ। ९६ रोपनी १० आना क्षेत्रफलमा निर्माण हुन लागेको २७ वटा भवन निर्माण गर्नका लागि साढे २ अर्ब लाग्ने भएको छ। मन्त्री निवास विभागले २ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। भैंसीपाटीमा २४ वटा मन्त्री निवाससहित २७ वटा भवन निर्माण हुनेछ।

२४ वटा मन्त्रीको निवास, राष्ट्रिय सभाको अध्यक्ष/उपाध्यक्षको निवास, उपसभामुखको निवास, बहुउद्देश्य सभा हल, शहरी विकास तथा भवन निर्माण विभागको भवन, हेल्थ क्लब, स्विमिङ पुल, हेलिप्याड र सुरक्षाकर्मी निवास निर्माण हुनेछ।

मन्त्री निवासको प्रत्येक भवन साढे दुई तलाको हुनेछ। मन्त्री निवासमा प्रवेशका लागि दुईवटा प्रवेशद्वारा निर्माण हुनेछ। जसमा एउटा सार्वजनिक र अर्को निजी प्रयोजका लागि उपयोग हुनेछ। भवनहरू नेपाली परम्परागत शैलीमा निर्माण गरिने सीडीई तुलाधरले बताउनुभयो।

आवासका लागि छुट्याइएको कुल क्षेत्रफलमध्ये करिब १२ रोपनी भवनले ओगट्नेछ भने ३८ रोपनी ८ आना ग्रिन क्षेत्रका लागि छुट्याइएको छ, २१ रोपनी क्षेत्रफल अवासभित्रको आन्तरिक सडकले ओगट्ने छ भने ११ रोपनीमा हेल्थ क्लब बस्नेछ। सात आनामा कम्युनिटी हल निर्माण हुनेछ।

निवासभित्र एक सय सवारीसाधन अटाउने पार्किङ क्षमता हुनेछ । आवास क्षेत्रलाई सुरक्षित बनाउनका लागि तीन तहको सुरक्षा व्यवस्था रहने गरी डिजाइन गरिएको छ।

पहिलो चरणमा २७ वटा भवन, कम्पाउन्ड, सडक ढल र भौतिक पूर्वाधर निर्माण हुनेछ भने दोस्रो चरणमा हरियाली, सुरक्षा, कम्युनिटी हल हेल्थ क्लब र स्विमिङपुल बनाइनेछ।

मन्त्री निवासको भुइँतलामा लबी, मिटिङ हल, निजी कोठा, कार्ड कोठा, कर्मचारीका लागि सुत्ने कोठा र भान्साका सामान राख्ने ठाउँ हुनेछ भने पहिलो तलामा मन्त्री सुत्ने मुख्य कोठा, बैठक कोठा, बैठक कक्ष, भान्सा डाइनिङ हल र दोस्रो तलामा दुईवटा पाहुना कोठा, पूजा कोठा र लौन्ड्री हुनेछ।


सवा अर्बमा प्रदेश प्रमुख र मुख्यमन्त्री निवास

सरकारले राजधानी काठमाडौंभित्रै सातवटै प्रदेशका प्रमुख र मुख्यमन्त्रीहरूका लागि पनि कार्यालय र निवास निर्माण गर्ने भएको छ। संघीय संरचनाअनुरूप प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि सरकारी निवास बन्न लागेको हो।

ललितपुरको सैंबु भैंसीपाटीस्थित २७ रोपनी १२ आनामा निर्माण गर्न लागेको प्रदेश प्रमुख र मुख्यमन्त्री निवास आगामी दुई वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्य विभागले लिएको छ।

विभागका अनुसार करिब सवा अर्ब रुपियाँमा निवास निर्माण हुन लागेको हो। भीआईपी कोलोनीका लागि २७ रोपनी १२ आना, १७ रोपनी ७ आनामा भवन, ५ रोपनीमा आन्तिरिक सडक, ८ आनामा बगैंचा र पोखरी, ४ रोपनी १२ आनामा पार्किङ तथा हरियाली क्षेत्र रहनेछ।

सात प्रदेशका प्रमुख र मुख्यमन्त्रीका लागि सातवटा ब्लक बनाइनेछ। प्रत्येक ब्लकमा दुईवटा भवन रहनेछ। एउटा मुख्यमन्त्री र अर्को प्रदेश प्रमुखका लागि हुनेछ।

निवासको भुइँतलामा प्रतिक्षक कक्ष, सचिवालय, मुख्यमन्त्री तथा प्रदेश प्र्रमुखको कार्यालय, गोप्य कोठा र २५ जना क्षमताको कक्ष हुनेछ।

दोस्रो तलामा बैठक कक्ष, योग कोठा, मुख्यमन्त्री वा प्रदेश प्रमुखको सुत्ने कोठासहितको तीन कोठा हुनेछ भने दोस्रो तलामा भान्सा कोठा, पाहुना कोठा, परिवारका सदस्य सुत्ने कोठा र पूजा कोठा रहनेछ।


समयभित्र निर्माण गर्न नियमित अनुगमन गर्छौं

 

मणिराम गेलाल
महानिर्देशक, शहरी विकास तथा
भवन निर्माण विभाग

राष्ट्रिय महत्वको दृष्टिकोणले महत्वपूर्ण मानिएका भवन निर्माणको काम अगाडि बढाएका छौं। संघीय संसद् भवनको शिलान्यास भइनै सकेको छ। संसद् भवन तीन वर्षभित्र सम्पन्न हुन्छ। समयसीमाभित्र नै सम्पन्न गर्न विभागले नियमितरूपमा अनुगमन गर्छ। म्याद थप नगरिकनै संसद् भवन बन्छ। सिंहदरबारभित्र कुनै पनि समस्या छैन।

कुनै पनि अवरोध नहुने भएकाले म्याद थप कुनै पनि हालतमा गर्नु पर्दैन भन्ने हाम्रो विश्वास छ। छनोट भएका निर्माण व्यवसायीहरूले छनोट प्रक्रियामा केही प्रतिशत घट्ने र त्यसलाई मेकअप गर्न २ सय दिनअगाडि नै सम्पन्न गर्ने चलन अहिले बढेको छ।

२ सय दिनअघि नै सम्पन्न गर्दा निर्माण व्यवसायीले दश प्रतिशत बोनस पाउने गरेका छन्। प्रधानमन्त्रीको निजी निवास निर्माणको काम पनि तोकिएकै समयभित्र सम्पन्न गराउने हाम्रो लक्ष्य छ।

समयमा सम्पन्न हुनेमा कुनै आशंका छैन। प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूको सम्पर्क कार्यालय र आवास सैंबु भैंसीपाटीमा निर्माण हुँदै छ। यी सबै काठमाडौंभित्र भएका महत्वपूर्ण आयोजनाहरू हुन्।

यी आयोजना समयमा नै सम्पन्न गर्नका लागि विभागको ध्यान केन्द्रित हुन्छ। यसको अर्थ काठमाडौंमा हेर्ने बाहिरी जिल्लाहरूमा नहेर्न भन्ने होइन। सबै जिल्लामा हाम्रो इकाइहरूले काम गरिरहेको छ। राष्ट्रिय महत्व बोकेका भवनका हामी नियमित अनुगमन गर्छौं।

कुनै समस्या आयो भने तत्काल नै सरोकारवाला निकायसँग छलफल गरेर समाधान गर्छाैं। डिजाइन गर्ने बेलामा नै पर्याप्त ध्यान दिएका छौं। त्यसैले ठूलो समस्या आउँदैन। तोकिएको भन्दा कममा ठेक्का पर्दा भवन निर्माणको गुणस्तर कम हुन्छ कि ? भन्ने कुनै आस नगर्दा हुन्छ।

अहिले निर्माणका लागि छनोट भएका निर्माण व्यवसायीहरू लामो अनुभव भएकाबाटै छानिएका छन्। अहिले निर्माणको काम अगाडि बढेका र बढाउने तयारीमा रहेका भवनहरूको ल्याब टेस्ट हुन्छ।

ल्याबको रिपोर्ट अनुसार ठीक छ भनेपछि मात्र काम अगाडि बढाउन दिन्छांै। गुणस्तरमा कमी हुन दिँदैनौं। गोदावरीमा ३ हजार सिट क्षमताको सभाहल निर्माण गर्दै छौं।

भक्तपुरको सानो ठिमीमा ५ हजार सिट क्षमताको अन्तर्राष्ट्रिय सभा हल निर्माणको काम पनि यसै वर्ष अगाडि बढाउँछांै। अहिले अगाडि बढाइएका योजनाहरूको लागत नबढाइकन तोकिएकै समयसीमाभित्र सम्पन्न गर्न विभाग अहोरात्र लाग्छ।

प्रतिक्रिया दिनुहोस्