छिमकीको काखमा नबसौं !



नेपाल कम्युनिस्ट पार्टी र चिनियाँकम्युनिस्ट पार्टीबीच भाइचारा सम्बन्ध मजबुत बनाउन दुवै पार्टीले एक–अर्काले अंगीकार गरेको पार्टीको नीतिबारे खुलेर छलफल गरेका छन्।

चीन आधुनिक विश्वमा प्रवेश गरेको ७० वर्ष पुगेको उपलक्ष्यमा उसले आफ्नो प्रभाव संसारभर फैलाउन दूतहरूको परिचालनलाई तीव्रता दिएको छ।

यस बेला चिनियाँकम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी जिन पिङको विचारधारालाई विश्वभर फैलाउने उद्देश्य चिनियाँअधिकारीले बोकेका छन्।

यसै सिलसिलामा चिनियाँकम्युनिस्ट पार्टीका वरिष्ठ नेता सोङ ताओ नेपाल भ्रमणमा हुनुहुन्छ। नेकपा र चिनियाँकम्युनिस्ट पार्टीका नेताहरू चीनले अवलम्बन गरेको विकासको मोडल र सी विचारधाराका बारेमा छलफल गरिरहेका छन्।

चीनको विकास मोडललाई नेपालमा कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारेमा सोङसहितको टोलीले नेकपाका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिएका छन्।

राष्ट्रपति सीले अघि सारेका बीआरआई नेपालको पूर्वाधार विकासका लागि अपरिहार्य आवश्यकता रहेको भन्दै सत्तारुढ नेकपाले बीआरआईमा हस्ताक्षरसमेत गर्नुले नेपालमा चिनियाँप्रभाव विस्तारै बढ्दै गएको प्रमाणित हुन्छ।

नेकपाका अध्यक्ष प्रचण्डले असन्तुलितखालको अभिव्यक्ति दिएर पटक–पटक विवादमा तानिँदै आउनुभएको छ भने चिनियाँनेता नेपाल आएर आफ्ना नेताले अघि सारेको विचारधाराका बारेमा प्रशिक्षण दिनुलाई चीनमा सीको नवउदय भएको हो कि भन्ने प्रश्न पनि खडा भएको छ।

छिमेकी मुलुक भएर पनि नेपालमा चिनियाँराष्ट्रपतिहरूको भ्रमण कमै हुने गरेको पृष्ठभूमिमा २३ वर्षपछि सी नेपाल आउने चर्चाले विश्वको ध्यान अहिले नेपालतर्फ खिचिन पुगेको छ।

अर्को छिमेकी मुलुक भारत नेपालमा आफ्नोबाहेक अन्य कुनै पनि मुलुकको प्रभाव नबढोस् भन्ने चाहन्छ तर भारतीय चाहनाविपरीत अहिले सत्तारूढ दल नेकपा चीनसँग अझै मजबुत सम्बन्ध बनाउन चाहन्छ।

दक्षिण एसियामा एकक्षत्ररूपमा दबदबा मच्चाउँदै आएको भारतलाई टक्कर दिन चीनले आफ्नो प्रभुत्व यस क्षेत्रमा विस्तारै बढाउँदै लगेको देखिन्छ।

चीनले नेपाललगायत पाकिस्तान, माल्दिभ्स, बंगलादेश, म्यानमार र श्रीलंकामा विस्तारै आफ्नो उपस्थिति बढाउँदै लगेको छ भने चिनियाँविकास मोडल र सी विचारधारालाई पनि एकसाथ अघि बढाउनुले उसको प्रभाव दक्षिण एसियामा विस्तारै बढ्दै गएको प्रस्ट हुन्छ।

यहींनिर नेपालको क्षमता प्रदर्शन आवश्यक छ। नेपालको भू–राजनीतिक र सामाजिक अवस्था यस्तो छ कि हामी भारत र चीनमा कुनै एकको प्रभाव बढाउने र अर्को मुलुकको प्रभाव विस्थापित गर्ने अवस्थामा छैनौं।

विगतमा खुला सिमाना, रोटीबेटीको सम्बन्ध, राम र सीताको नाता, बुद्धको जन्मघर र ज्ञान विस्तारको क्षेत्र आदि ऐतिहासिक सन्दर्भको आडमा हामी भारतको काखमा बस्न पुग्यौं।

परिणाम के भयो– इन्धन र दैनिक उपभोग्य सामग्रीसमेत आउन नदिएर अमानवीय तरिकाले नाकाबन्दी लगायो। बाध्य भएर हामी विकल्प खोज्न थाल्यौं, उत्तरतिरको मित्र चीनले बन्दरगाह दिनेसम्मको सहमति पनि गर्यो।

अहिले नेपालमा सी विचारधाराको विस्तारका लागि चीनले जस्तो प्रशिक्षण चलाएको छ, त्यसमा प्रधानमन्त्री र वरिष्ठ नेताहरू नै प्रशिक्षित हुन बस्ने कि नबस्ने, विचारणीय छ। हामी चीन र भारत कसैको पनि काखमा बस्न सक्तैनौं, यसले हाम्रो हित गर्दैन।

प्रतिक्रिया दिनुहोस्