सरकारले लगानीको वातावरण बनाउन नसकेको गुनासो



यमलाल भुसाल, बुटवल।मुलुकमा लगानीको सम्भावना भए पनि वातावरण नहुँदा लगानीकर्ताहरु निरुत्साहित हुनु परेको उद्योगी व्यवसायीहरुले गुनासो गरेका छन्।

सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण प्रष्ट नभएको र यही तरिकाबाट सरकार अगाडि बढ्ने हो भने सरकारले लिएको ‘समृद्ध मुलुक सुखी नेपाली’ नारा नारामै सीमित हुने उनीहरुको दाबी छ।

बुटवल उद्योग बाणिज्य संघको सोमबार सम्पन्न ६६औं वार्षिक साधारणसभामा बोल्ने अधिकांश वक्ताले सरकारले लगानी आह्वान गरिरहे पनि लगानीमैत्री वातावरण बनाउन नसकेको औंल्याएका थिए।

उनीहरुले मुलुकमा लगानी प्रवद्र्धन गर्ने ऐन कानुन बनाउन र अन्य वातावरण पनि सुदृढ गर्न सरकारलाई आग्रह गरको छन्।

कार्यक्रममा बोल्दै प्रदेश पाँचका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लीला गिरीले परिवर्तित राजनीतिक व्यवस्थालाई संस्थागत गर्ने काममा केही समय लागेको बताउँदै सरकारले निजी क्षेत्रसँगको सहकार्य खोजेको बताउनुभयो।
उहाँले निजी, सामुदायिक र सहकारी क्षेत्रको साझेदारीमा समृद्धिको अभियान अगाडि बढाउन खोजिएको बताउँदै देशलाई अग्रगतिमा गएको देख्न नचाहनेले अनावश्यक हल्ला गरेर वातावरण बिथोल्ने प्रयास गरेको टिप्पणी गर्नुभयो।

यहाँको निजी क्षेत्रबाट सरकारलाई पूर्ण सहयोग भएको औंल्याउँदै मन्त्री गिरीले प्रदेश सभा तथा सरकार स्थापनाका लागि निजी क्षेत्रका संस्था उद्योग बाणिज्य संघ लगायतले आफ्ना कार्यालय रहेका भवन सरकारलाई प्रदान गरेर उल्लेखनीय सहयोग गरेको बताउनुभयो।

 त्यस्तै नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले सरकारले कानुन तर्जुमा गर्दा निजी क्षेत्रसँग पर्याप्त छलफल नगर्ने गरेका कारण कार्यान्वयनमा समस्या भएको औंल्याउनुभयो।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भैरहवाको गौतमबुद्ध विमानस्थल सुचारु भएपछि यस क्षेत्रको औद्योगिक तथा पर्यटकीय विकासमा नयाँ आयाम आउने बताउँदै त्यसलाई लक्षित गरेर लगानीको वातावरण बनाउन प्रदेश सरकार तथा स्थानीय तहलाई आग्रह गर्नुभयो

। उहाँले लुम्बिनी लगायतका स्थानमा आउने पर्यटकको बसाई र उनीहरुको खर्च बढाउने गरी संरचना सुधार गर्न आग्रह गर्नुभयो।लगानी आकर्षण गर्ने गरी कानुन निर्माण गर्न आग्रह गर्दै अझै पनि निर्यात बढाउन नसकिए आउने दिनमा डरलाग्दो चित्र देखिएको उहाँले उल्लेख गर्नुभयो।

वरिष्ठ उपाध्यक्ष गोल्छाले सरकारले १२ वटा निर्यात गर्ने वस्तु पहिचान गरेपनि त्यसभित्रका समस्यामा ध्यान नदिएका कारण निर्यात बढ्नुको साटो झन् घट्दै गएको उल्लेख गर्नुभयो।

महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले कानुन तर्जुमा गर्नका लागि सुझाव लिँदा सुझाव लिने भन्दा पनि साक्षीमात्रै राख्ने गरेको बताउँदै श्रमिकको योगदामा आधारित सामाजिक सुरक्षा ऐन र ढुवानीमा अनलाइन ट्रेकिङ प्रणाली त्यसको ज्वलन्त उदाहरण भएको उल्लेख गर्नुभयो।
त्यस अवसरमा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले यस क्षेत्रका व्यावसायिक समस्या प्रस्तुत गर्दै समाधानका लागि सरकारलाई आग्रह गर्नुभयो।
उहाँले प्रदेशको स्थायी राजधानी र नामाकरणका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै प्रदेशको राजधानी बुटवल र प्रदेशको नाम लुम्बिनी राख्न आग्रह गर्नुभयो।

उहाँले सरकारले गत साउनदेखि लागू गरेको सामाजिक सुरक्षा ऐन र ढुवानीमा अनलाइन ट्रेकिङ प्रणाली कार्यान्वयन सम्भव नभएको औंल्याउँदै सरकारलाई पुनर्विचार गर्न आग्रह गर्नुभयो।

उहाँले लुम्बिनी प्रादेशिक अस्पताल परिषरका सटर टेन्डर गरेर लिजमा लगाएको दुई महिना नबित्दै पुन खाली गराउने सरकारको निर्णय गलत भएको बताउँदै लिज सम्झौता पूरा नहुँदै लिइएको उक्त निर्णय अव्यबहारिक भएकाले उक्त निर्णय फिर्ता गर्न आग्रह गर्नुभयो।

नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश पाँचका अध्यक्ष गुणनिधी तिवारी, प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठलगायतले लगानीमैत्री कानुन निर्माण गरेर निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्न सरकारलाई आग्रह गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्