प्रदेश–३ क्यान महासंघमा नयाँ नेतृत्व



हेटांैडा, (नेस)।सूचना तथा सञ्चार प्रविधिसँग सम्बन्धित व्यक्ति, व्यवसायी र संघसंस्थाहरुको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल महासंघ प्रदेश–३ अधिबेशनले काभ्रेका मनोजकुमार न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ।

न्यौपाने क्यान काभ्रेका पूर्वअध्यक्ष हुनुहुन्छ। उहाँको कार्यकालमा क्यान काभ्रेले पहिलोपटक सूचना प्रविधि पार्कमा क्यान इन्फोटेक, मकर मेलाको अवसरमा पदयात्रा, आईसीटी छात्रवृत्ति कोष स्थापना, ईभिलेज समन्वय समितिको अवधारणाबाट जिल्लाका ११ गाविसमा ईभिलेज कार्यक्रम सञ्चालनलगायत कार्य गरेको थियो।

कार्यसमितिमा उपाध्यक्ष विष्णुप्रसाद लामिछाने (चितवन), सचिव किरण श्रेष्ठ (सिन्धुली), कोषाध्यक्ष निर्जन श्रेष्ठ (सिन्धुपाल्चोक) र सदस्य रामकुमार श्रीवास्तव (मकवानपुर) निर्वाचित हुनुभएको छ।

दोस्रो वार्षिक साधारणसभा तथा अधिवेशन प्रदेश सरकारका सामाजिक विकास मन्त्री युवराज दुलालको प्रमुख आतिथ्यतामा हेटौंडामा सम्पन्न भएको हो। मन्त्री दुलालले प्रदेश सरकारको समृद्धि र डिजिटल प्रदेश निर्माण अभियानमा साथ दिन क्यान महासंघलाई आग्रह गर्नुभयो ।
उहाँले ग्रामीण क्षेत्रसम्म प्रविधिको विस्तार र पहुँचका लागि महासंघको हरेक यात्रामा प्रदेश सरकारले पूर्णरूपमा साथ दिने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्