नेतान्याहु र पूर्व सेना प्रमुख सरकार बनाउने होडमा



जेरुसेलम, (एजेन्सी)।इजरायली अरब विधायकहरुले पूर्व सेना प्रमुख बेन्नी गान्त्ज नयाँ प्रधानमन्त्री हुनुपर्ने विचार व्यक्त गरेका छन्।

गत साताको चुनावमा वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र गान्त्ज झन्डै बराबरको स्थितीमा पुगेका थिए। र, अहिले तिनीहरू दुवै गठबन्धन सरकार बनाउन प्रतिस्पर्धारत छन्।

अरब पार्टीहरूको गठबन्धन ज्वाइन्ट लिस्टले नेतान्याहुलाई सत्ताबाट निकाल्न चाहेको छ। निर्वाचन परिणममा यस गठबन्धनले तेस्रो स्थान प्राप्त गरेको थियो। सन् १९९२ पछि यो पहिलो पटक अरब राजनीतिक समूहले प्रधानमन्त्रीका लागि आफ्नो सिफारिस पेस गरेको हो।

यस वर्षको यो इजरायलको दोस्रो आम निर्वाचन हो। गत अप्रिलमा भएको पहिलो चुनावपछि गठबन्धनको वार्ता बाझिएपछि मध्यावधि चुनाव आह्वान गरिएको थियो।

तर इजरायलका राष्ट्रपति रेउभेन रिभलिनले नयाँ सरकारमा चुनावमा ३३ वटा सिट जित्ने गान्त्जको ब्ल्यु एन्ड ह्वाइट एलायन्स तथा ३२ सिट जित्ने नेतान्याहुको लिकुड पार्टी दुवैका सहभागिता रहनुपर्ने अवधारण अघि सारेपछि इजरायली राजनीतिक वृत्तमा नयाँ हलचल आएको छ।

यसैबीच राष्ट्रपति रिभलिनले यस वर्ष इजरायलमा पुनः अर्को चुनाव हुन नदिन आफूले सक्दो जेसुकै गर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्