वन जोगाउने वन कार्यालयका भवनहरू जीर्ण



नेपाल समाचारपत्र,सर्लाही। सर्लाहीको मुर्तियामा रहेको सब–डिभिजन वन कार्यालयको भवन जीर्ण भएर भत्कने अवस्थामा पुगेको छ।

दुईतले पक्की भवन जीर्ण भएपछि कार्यालयमा बसेर काम गर्ने अवस्था नरहेको सहायक वन अधिकृत चन्द्रप्रकाश यादवले बताउनुभएको छ।

आफू कार्यालयमा बसेर काम गरिरहेको बेला धेरै पटक छतको ढलान झरेर टाउकोमा लागेको गुनासो यादवले गर्नुभयो। २५ वर्ष पुरानो कार्यालय भवन जीर्ण भएपछि कर्मचारीले राति सुत्न बाँसको अस्थायी टहरो निर्माण गरेका छन्।

कार्यालय भवन पुरानो र जीर्ण भएकाले हातहतियार व्यवस्थापन गर्न मुस्किल परेको सशस्त्र वन रक्षक जमदार अम्बरबहादुर पाख्रिनले गुनासो गर्नुभयो।

अर्का कर्मचारी उदय सिंह भन्नुहुन्छ, ‘दिनदिनै भवनको छत झर्ने गरेकाले भित्र बसेर काम गर्न डरमर्नु छ, दिउँसो हुने साथीहरूले जोगिएर काम गर्छन, राति बस्ने साथीहरूको बिजोक छ, हामी कर्मचारीको कुरा कसले सुन्ने ?’

छतबाट पानी चुहिएकाले वर्षामा कागजपत्र जोगाउन समस्या पर्ने गरेको उनीहरूले गुनासो गरेका छन्। २०५० सालमा बनेको दुईतले कार्यालय भवनमा खानेपानी र पर्याप्त शौचालयसमेत नहुँदा कर्मचारीलाई थप समस्या पर्ने गरेको छ।

काम लिएर त्यहा पुगेका सेवाग्राहीसमेत कार्यालय भवन जीर्ण भएकाले भित्र पस्न डराउछन्।डिभिजन वन कार्यालय सर्लाही मातहतको मुर्तिया सब–डिभिजन वन कार्यालयका अतिरिक्त जानकी नगर सब–डिभिजन वन कार्यालय, लालबन्दी सब–डिभिजन वन कार्यालय, मलंगवा सब–डिभिजन वन कार्यालय, बाँके सब–डिभिजन वन कार्यालय, फुलजोर सब–डिभिजन वन कार्यालय र घारीबथान सब–डिभिजन वन कार्यालयसमेत दिनदिनै जीर्ण बन्दै गएका छन्।

अधिकांश कार्यालयको काठले बनेका कच्ची र पुरानो टिनले छाएका भवन छन्। पुराना भवन जीर्ण हुँद गए पनि भवन कहिले निर्माण हुन्छ भन्ने विषयमा डिभिजन वन कार्यालयलाई कुनै जानकारी नभएको डिभिजन प्रमुख माधव देवले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्