‘स्वास्थ्य बीमा कार्यक्रम’को ४८औं जिल्ला



नेपाल समाचारपत्र, डोटी। नेपाल सरकारको नीतिअनुसार डोटीमा पनि ‘स्वास्थ्य बीमा कार्यक्रम’ शुरू भएको छ। जिल्लाका नौ वटै स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालासँगको अभिमूखीकरण गोष्ठीमा स्वास्थ्य बीमा बोर्ड काठमाडौंले देशकै ४८ औं जिल्लाका रूपमा डोटीमा ‘स्वास्थ्य बीमा कार्यक्रम’ शुरू भएको जानकारी दिएको हो।

सरकरी तवरले विस २०७२ चैत्र २५ गतेदेखि कैलाली जिल्लाबाट शरू गरिएको उक्त कार्यक्रम डोटी र डडेल्धुरामा लागू भएपछि ‘स्वास्थ्य बीमा कार्यक्रम’ लागू गर्ने सुदूरपश्चिम प्रदेश देशकै पहिलो प्रदेश बन्ने स्वास्थ्य बीमा बोर्ड टेकु काठमाडांैका जनस्वास्थ्य निरीक्षक भरत बोहराले बताउनुभयो।

नेपालमा सबैभन्दा पहिले सन् २०३३ सालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था युनाइटेड मिसन टु नेपालले सीएचडीपी कार्यक्रममार्फत स्वास्थ्य बीमा कार्यक्रम शरू गरेको थियो। त्यसपछि काठमाडांै, धादिङ, नवलपरासी र सुनसरीमा विभिन्न संघसंस्थाबाट उक्त कार्यक्रम लागू गरिएको जनस्वास्थ्य निरीक्षक भरत बोहराले जानकारी दिनुभयो।

नेपालको संविधान, २०७२ को धारा ३५ मा आधारभूत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकका रूपमा समेटिएको छ भने संविधानको धारा ५१ ‘ज’ १५ मा राज्यका नीति निर्देशक सिद्धान्तअन्तर्गत नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै उनीहरूको स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने भनी किटान गरिएको छ।

स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन स्वास्थ्य बीमा ऐन, २०७४ र स्वास्थ्य बीमा नियमावली, २०७५ जारी भई कार्यान्वयनको चरणमा रहेका छन्।

नेपाली जनताको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच र उपयोगमा सुधार ल्याई स्वास्थ्य बीमाका आधारमा सबैको स्वास्थ्य सेवा सुनिश्चित गर्ने राष्ट्रिय स्वास्थ्य बीमा नीति, २०७१ को दीर्घकालीन लक्षअनुसार कार्यक्रम अगाडि बढाइएको दीपायल सिलगढी नगरपालिकाका स्वास्थ्य इकाइ संयोजक राजु खड्काले बताउनुभयो।

स्वास्थ्य बीमा गर्नका लागि ५ जनासम्मको परिवारले वार्षिक रु ३ हजार ५ सय र ५ जनाभन्दा बढी सदस्य भएमा प्रति सदस्यको थप रु ७ सय बीमा रकम तिर्नुपर्ने व्यवस्था छ।

स्वास्थ्य बीमा गरेमा नेपाल सरकारले निःशुल्क प्रदान गर्ने सेवासँगै बहिरंग, अन्तरंग र आकस्मिक कक्षबाट प्रदान गरिने सेवाहरू, स्वास्थ्य बीमा कार्यक्रमले तोकेका निदानात्मक र परीक्षण सेवाहरू पनि पाइनेछ।

त्यस्तै ५ जनाको परिवारले आवश्यक पर्दा वार्षिक रु. १ लाख र ५ जनाभन्दा बढी सदस्य भएका परिवारले प्रति थप सदस्य रु. २० हजार थप गरी २ लाखसम्मको स्वास्थ्य सेवा उपभोग गर्न पाउने व्यवस्था रहेको छ।

स्वास्थ्य बीमा कार्यक्रम जिल्लाभर लागू गर्न सबै स्थानीय तहका वडा–वडामा दर्ता सहयोगी जनशक्ति राखिने स्वास्थ्य बीमा बोर्डले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्