धारामा पानी आएपछि गृहिणी प्रफुल्ल



नेपाल समाचारपत्र,ओखलढुंगा।जिल्लाको खिजीदेम्बा गाउँपालिकामा रहेको वसन्ते खानेपानी योजना मर्मत कार्यक्रम सम्पन्न भएपछि खिजीदेम्बा–५ वसन्ते टोलमा रहेको खानेपानी अभावको समस्या समाधान भएको छ।

सीआरएस नेपालसँगको साझेदारीमा देम्बा सामुदायिक विकास केन्द्रले उक्त खानेपानी योजना मर्मत गरेपछि खानेपानीको समस्याको समाधान भएको हो।

संस्थाको १३ लाख ८४ हजार ४ सय ५६ रुपियाँ आर्थिक स्रोत र ६५ हजार ७ सय १२ रुपियाँ बराबरको जन–श्रमदान गरी १४ लाख ५० हजारभन्दा बढीको लागतमा खानेपानी योजना मर्मत कार्य सम्पन्न भएको देम्बा सामुदायिक विकास केन्द्रका कार्यक्रम व्यवस्थापक सुजितकुमार श्रेष्ठले बताउनुभयो।

२७ घरधुरी उपभोक्ता रहेको उक्त खानेपानी योजना मर्मत हँुदा गाउँमा रहेको खानेपानीको समस्या समाधान भएको खानेपानी उपभोक्ताले बताएका छन्।

खानेपानी उपभोक्ता गोरीमाया सुनुवारले योजना मर्मत हुनुभन्दा अगाडि समयमा धारामा पानी नआउने भएकोले काम छोडेर पानी लिन जानुपर्दा निक्कै समस्या हुने गरेको र योजना मर्मत भएपछि घर नजिकैको धारामा पानी थाप्न पाइएकोले निक्कै सजिलो हुनुका साथै समयको बचत भएको बताउनुभयो।

यसैबीच देम्बा सामुदायिक विकास केन्द्रले गएको शुक्रबार वसन्ते खानेपानी योजना वडा कार्यालयलाई हस्तान्तरण गरेको छ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै खिजीदेम्बा गाउँपालिकाका उपाअध्यक्ष सुशिला तामाङले संस्था र गाउँपालिकाको सहकार्यमा अगामी दिनमा पनि धेरै विकास निर्माणका काम गर्न सकिने भएकोले संस्था र गाँउपालिका मिलेर अगाडि बढ्नुपर्ने कुरामा जोड दिनुभयो।

यसै गरी खिजीदेम्बा गाँउपालिका–५ का अध्यक्ष रामकुमार सुनुवारले आगामी दिनमा खानेपानी योजनाको सम्पूर्ण जिम्मेवारी वडा कार्यलयले लिने बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्