सवारी साधन कारबाहीमा पर्नुको कारण



नेपाल समाचारपत्र, गुल्मी। जिल्ला ट्राफिक कार्यालय, गुल्मीले नियमविपरीत यात्रु बोक्ने रातो नम्बर प्लेटका सवारी साधनमाथि कारबाही शुरू गरेको छ।

चाडवाड नजिकिन थालेसँगै क्षमताभन्दा बढी यात्रु बोक्ने गरेकोले दुर्घटना बढ्ने भन्दै सवारी साधनलाई कारबाही शुरू गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो।

जिल्ला ट्राफिक कार्यालय गुल्मीले सोमबार नियमविपरीत सवारी चलाउने र क्षमताभन्दा बढी यात्रु बोक्ने १ दर्जन बढी सवारी साधनलाई कारबाही गरेको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक प्रवीन आचार्यले बताउनुभयो।

कारबाही गरिएका सवारी साधनलाई जिल्ला ट्राफिक कार्यालय गुल्मीको परिसरमा राखिएको छ भने सवारी चालक र सवारी धनीलाई प्रशिक्षण कक्षमा राखेर पढाएको प्रहरी नायब निरीक्षक प्रवीन आचार्यले बताउनुभयो।

जिल्ला सदरमुकामबाट विभिन्न ग्रामीण भेगमा चल्ने सवारी साधन मध्ये रातो नम्बर प्लेटका सवारी साधनले नियमविपरीत यात्रु बोक्ने गरेकोले प्रहरीले पहिलो चरणमा सम्झाइ–बुझाइ गरेको छ।

त्यति गर्दा पनि अटेर गरेपछि केही सवारी साधनलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ। चाडपर्वको बेला क्षमताभन्दा बढी यात्रु बोक्ने गर्दा दुर्घटना हुने भएकाले त्यसलाई रोक्नको निम्ति प्रहरीले सवारी चेकजाँचलाई कडा बनाएको छ।

जिल्लाभर चल्ने सार्वजनिक यातायात र रातो नम्बर प्लेटका सवारी साधनलाई चेकजाँच गर्न जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्कासहितको टोली विभिन्न स्थानमा पुग्ने गरेको छ।

हाल जिल्लाभरका अधिकांश स्थानमा रातो नम्बर प्लेटका सवारीका साधनले पनि यात्रु बोक्ने गरेका छन्। प्रयोजनमुताबिक सवारी चलाउनुपर्ने र अटेर गरे नियमअनुसार कारबाही गरिने प्रहरी नायब उपरीक्षक घलेले बताउनुभयो। जिल्लाभर झन्डै १ सय रातो नम्बर प्लेटका यात्रुबाहक सवारी साधन रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्