राजमार्गमा टाइम कार्ड लागू तीव्र गतिमा सवारी चलाए प्रहरीले नछोड्ने



नेपाल समाचारपत्र, वीरगन्ज। तीव्र गतिका कारण सवारी दुर्घटना बढेको भन्दै प्रदेश नम्बर २ को पूर्व–पश्चिम राजमागअन्तर्गत पर्ने सप्तरीदेखि बारासम्मको दूरीमा चल्ने सवारी साधनलाई टाइम कार्ड लागू गरिएको छ।

प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले सप्तरीदेखि बारासम्म पुर्व–पश्चिम राजमार्गको दूरी ५ घण्टामा पार गर्नुपर्ने भन्दै टाइम कार्ड लागू गरेको हो।

ट्राफिक प्रहरी कार्यालय पथलैयाले राजमार्गअन्र्तगत लामो तथा छोटो दुवै दूरीका सवारी साधनका लागि टाइम कार्ड लागू गरिएको जनाएको छ।

टाइम कार्डअनुसार सप्तरीको भारदहदेखि बाराको पथलैयासम्मको २ सय २५ किलोमिटर दूरी ५ घण्टा २५ मिनेटमा पार गर्नुपर्नेछ।

त्यस्तै भारदहदेखि धनुषाको लालगढसम्मको १ सय १५ किलोमिटरको दुरीका लागि २ घण्टा ४५ मिनेटको समय तोकिएको तथा लालगढदेखि पथलैयासम्मको १ सय किलोमिटरको दूरी पार गर्नका लागि सवारी साधनले ५ घण्टा २५ मिनेट समय पाउनेछन्।छोटो दूरीमा चल्ने सवारी साधनका लागि पनि ट्राफिक कार्यालय पथलैयाले टाइम कार्ड लागू गरेको छ।

सप्तरीको भारदहदेखि शम्भुनाथसम्मको ३२ किलोमिटर दूरी पारगर्न ४० मिनेट, शम्भुनाथदेखि कदमाहासम्म २२ किलोमिटर पार गर्न ३० मिनेट, र कदमाहादेखि सिरहा जिल्लाको बन्दिपुरको ४३ किलोमिटर दूरी पार गर्न ५५ मिनेट, बन्दिपुरबाट धनुषाको लालगढसम्म पुग्नको लागि ४० मिनेटको समयमा २९ किलोमिटरको दूरी पार गर्नुपर्ने, सर्लाही जिल्लाको कर्माइयादेखि बाराको पथलैयासम्मको ५० किलोमिटरको दूरी पार गर्न ४९ मिनेटको समय टाइम कार्डमा तोकिएको ट्राफिक कार्यालय पथलैयाले जनाएको छ

। त्यस्तै कमाईयादेखि लालगढसम्मको ४९ किलोमिटरको दुरी १ घण्टा २० मिनेटमा पार गर्नुपर्नेछ। यसरी लागू गरिएको टाइम कार्डअनुसारको दूरी पार गर्नुपर्नेमा लापरबाही गरिएको खण्डमा कारबाही गरिने ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी नायब निरीक्षक सुरेन्द्र कोइरालाले जानकारी दिनुभयो।

खासगरी चाडपर्वको बेला तीव्र गतिका कारणले हुने गरेको सवारी दुर्घटनालाई न्युनीकरण गर्नको लागि संविधान दिवसको दिनदेखि टाइम कार्ड लागू गरिएको कोइरालाले बताउनुभयो।

राजमार्गमा सवारी सुरक्षा अभिवृद्धिको लागि सवारी चालकले मादक पदार्थको सेवन गरेको नगरेको, रात्रि बसमा २ जना चालक अनिवार्य भए–नभएको, चाडपर्वको समयमा बढी भाडा लिने, सिट क्षमताभन्दा बढी यात्रु ओसार्ने क्रियाकलापलाई कडारूपमा अनुगमन गरिने कोइरालाले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्