निर्वाचन विवाद निरुपण प्रशिक्षण शुरू



नेपाल समाचारपत्र, भक्तपुर।निर्वाचन आयोगले आसन्न मंसिर १४ गतेको उपनिर्वाचनलाई मध्यनजर गरी निर्वाचन विवाद निरुपण प्रशिक्षण कार्यशालाको आयोजना गरेको छ।

कार्यक्रम उद्घाटन समारोहमा बोल्दै निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले निर्वाचन सुशासनको खम्बा भएको बताउनुभयो।

आसन्न उपनिर्वाचनमा सकेसम्म विवाद नआओस् र विवाद आए पनि प्रक्रियागत ढंगले विवाद निरुपण गर्न सहज होस् भनेर आयोगले विवाद निरुपण प्रशिक्षण थालेको बताउनुभयो।

आफूले जिते ठिक अरुले जिते बेठिक भन्ने कतिपय राजनीतिक दलको संस्कारले पनि निर्वाचनका क्रममा विवाद आउने गरेको बताउँदै निर्वाचन आयुक्त पौडेलले गत २०७४ को निर्वाचनमा मूलत आचार संहिता पालना नभएको र मतदाता शिक्षा नपुगेको मुख्य गुनासो आएको बताउनुभयो।

आयोगले गत निर्वाचनको सातै प्रदेशमा समीक्षा गरी पुस्तकसमेत तयार पारेको र निर्वाचनमा भएका कमीकमजोरी फेरि नदोहोरीउन भनेर प्रशिक्षण कार्यलाई अभियानकारूपमा अघि बढाएको बताउनुभयो। उहाँले उपनिर्वाचनको तयारी प्रशिक्षणमार्फत भक्तपुर जिल्लाबाट शुरू गरिएको बताउनुभयो।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, चाँगुनारायण नगरपालिकाका उपप्रमुख बिना बास्तोला, कांग्रेसकी प्रतिनिधि निमा केसी, नेपाल पत्रकार महासंघ भक्तपुरका जिल्ला अध्यक्ष पुष्करराज बुढाथोकी, अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष कमला न्यौपाने, जिल्ला निर्वाचन अधिकारी घमचन्द्र तिम्सिनालयायतले आसन्न उपनिर्वाचनलाई स्वच्छ, स्वस्थ, पारदर्शी र विश्वसनीय बनाउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा आयोगका उपसचिव गंगाबहादुर खरेल, उपन्यायधिबक्ता रुद्रप्रसाद सुवेदी, शाखा अधिकृत भगवतीदेवी गौतम, शाखा अधिकृत हुमावती ढकाल र सहयोगी संस्था यूएनडीपीका प्रतिनिधि टेकनाथ सापकोटाले सहजीकरण गर्नुभएको थियो।

सो अवसरमा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, नागरिक समाजका अगुवा, कर्मचारीलगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्