कृषि, पशुपालन र उद्योग प्राथमिकतामा



चिरञ्जीवी मास्के, दोलखा। सहकारीको केन्द्र बन्दै गएको दोलखाका सहकारी संस्थाले बचत सङ्कलन तथा ऋण लगानीसँगै कृषि, पशुपालन र उद्योग सञ्चालनको लागि समेत विशेष योजना अघि सारेका छन्।

चरिकोटस्थित हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २२औं साधारण सभाको अवसरमा आव ०७६–०७७ को कार्यक्रम सार्वजनिक गर्दै कृषि, पशुपालन र उद्योग सञ्चालनमा विशेष योजनाका साथ लगानीसँगै उत्पादन र बजार व्यवस्थापनमा समेत काम गर्ने प्रमुख कार्यकारी अधिकृत दीपक बस्नेतले बताउनुभयो।

हाम्रो जनकल्याण साकोसले अहिले गौरीशङ्कर छाला जुत्ता उद्योगसँग संस्था नीजि व्यवसाय साझेदारी कार्यक्रमअन्र्तगत लगानी गरी उक्त उद्योगबाट उत्पादित जुत्ताको बजार व्यवस्थापन र उद्योग प्रवद्र्धनमा सहयोग गरिरहेको छ।

गौरीशङ्कर छाला जुत्ता उद्योगले पनि उत्पादित सामानहरू सहकारीका सदस्यलाई १५ देखि १८ प्रतिशतसम्म छुटमा उपलब्ध गराउँदै आएको सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत बस्नेतले बताउनुभयो।

हाम्रो जनकल्याण साकोसले आर्थिक वर्ष ०७६–०७७ को कार्यक्रमअनुसार सहकारीमा आवद्ध कृषक सदस्यलाई पशुपालन सम्बन्धी तालिम दिने र दुग्ध उत्पादन, डेरी सञ्चालन र बजार व्यवस्थापनमा समेत सहयोग गर्ने प्रमुख कार्यकारी अधिकृत बस्नेतले बताउनुभयो।

सहकारीले दिगो विकास लक्ष्य प्राप्तिमा योगदान पुर्याउने उद्देश्यका साथ लक्ष्य १ मा गरिबीको अन्त्य, लक्ष्य ४ मा गुणस्तरीय शिक्षा र लक्ष्य ६ मा स्वच्छ पानी तथा सरसफाइको नीति अगाडि सारेको छ।

७ हजार ७ सय ७१ सदस्य रहेको हाम्रो जनकल्याण साकोसको सेयर पूँजी ४ करोड ५७ लाख, २७ हजार ८ सय, बचत संकलन ४० करोड ९९ लाख १८ हजार ३ सय ४५ तथा ऋण लगानी ४३ करोड ५३ लाख ८४ हजार ८ सय ३२ रुपियाँ रहेको संस्थाले जनाएको छ।

त्यसैगरी स्वर्ण बचत तथा ऋण सहकारी संस्थाले पनि आफ्नो १९औं वार्षिक साधारणसभामार्फत पारित गरेको आर्थिक वर्ष ०७६–०७७ को कार्यक्रममा कृषि, पशुपालन र उद्योग व्यवसायलाई प्राथमिकतामा राखेको छ।

स्वर्ण साकोसले संस्थामा आवद्ध २५ देखि ४० वर्ष उमेर समूहका सदस्यहरूलाई लघु उद्यम, उत्पादनमूलक व्यवसाय र उद्योग स्थापना गर्न चाहेमा १० प्रतिशतमा ऋण लगानी गर्ने संस्थाका अध्यक्ष चन्द्र लामाले बताउनुभयो।

संस्थाका सदस्यले सहुलियत ब्याजदरमा ऋण लिएर व्यवसाय सञ्चालन गर्दा संस्थाले व्यवसाय प्रवद्र्धन र बजार व्यवस्थापनमा समेत सहयोग गर्ने अध्यक्ष लामाले बताउनभयो।

भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसीले नगरमा कृषि उत्पादन, उद्योग स्थापना, पशुपालनलगायतको उत्पादनमूलक क्षेत्रमा सहकारीले गर्ने लगानीमा नगरपालिकाले समेत विभिन्न ढंगले सहयोग गर्नसक्ने बताउनुभयो।

नगरको आर्थिक वृद्धिमा सहकारीको समेत महत्वपूर्ण भूमिका रहने भएकोले नगरपालिका सहकारीसँग हातेमालो गर्दै अगाडि बढ्न तयार रहेको नगरप्रमुख केसी बताउनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्