भ्रष्टाचार एक रोग हो



भ्रष्टाचार एक भयानक र डरलाग्दो अपराध हो। यो प्रवृत्ति हो। क्यान्सर हो। रोग हो। भ्रष्टाचार, सत्ता र कानुनी शक्ति सम्पन्न पदाधिकारीसँगको मिलेमतोमा हुने गर्दछ।

सानातिना बिल मिलाउने, सानातिना घूस लिनेदिने पेटी ‘करप्सन’ स–सानो एकाइ वा व्यक्तिगतरूपमा हुन्छ भने ठूला–ठूला ‘ग्रान्ड पोलिसी’ करप्सन एक्लै हुन सक्दैन।

यसमा राज्यका कानुनी वैधता प्राप्त शक्ति सम्पन्न सार्वजनिक पदाधिकारी, निकाय वा कुनै अमुक समूह र एजेन्टको प्रत्यक्ष संलग्नता रहने गर्दछ। निजी क्षेत्र बजारमा हुने भ्रष्टाचार फरक प्रकृतिको हुन्छ।

निजी बजारमा बिचौलियासमेतको मिलेमतोमा कर छली, कालोबजारी, मानव बेचबिखन, तस्करी, सिन्डिकेट, अधिक मूल्य वृद्धिजस्ता माध्यमबाट अनौपचारिक बजारिया छाया अर्थतन्त्र खडा गरी राज्यको औपचारिक अर्थतन्त्र कमजोर भई मूलतः सरकार कमजोर बन्दै जान्छ।

त्यस्तै सरकारी क्षेत्रमा सार्वजनिक पद धारण गरेका पदाधिकारीको हातमै राज्यको अर्थव्यवस्था सञ्चालन गर्ने कानुनी वैधता साँचो प्राप्त हुँदा बिचौलियासमेतको संलग्नतामा खरिद बिक्री, टेन्डर, पूर्वाधार निर्माण सञ्चालन, कन्सल्टेन्सी आदि माध्यमद्वारा मनोमानी ढंगले राज्यकोषबाट ठूलो आर्थिक रकम दुरुपयोग भई अर्थतन्त्रमा नकारात्मक असर परिरहेको हुन्छ।

वास्तवमा भ्रष्टाचार कुनै एक अमुक समाज वा मुलुकको रोग नभई विश्वव्यापी भयावह क्यान्सर रोग हो। विकसित देशमा जनता सक्रिय हुने र सरकार सञ्चालनको उपयुक्त प्रणाली हुने हुँदा विकसित देशको तुलनामा विकासन्मुख र अविकसित देशमा बढी भ्रष्टाचार हुन्छ।

अझ दलाल पुँजीवादी अर्थव्यवस्था भएका मुलुकमा भ्रष्टाचार नै हुँदैन भन्दा पत्याउन गाह्रै हुन्छ। विकासोन्मुख मुलुक राज्यको ढुकुटीको नियन्त्रण दलाल कमिसन एजेन्टको हातमा रहने हुँदा भ्रष्टाचारको स्वरूप फरक र अदृश्य हुन्छ। नीतिगत, विधिगत र मिलिभगरुपमा राज्यको ढुकुटी स्वाहा हुँदै गइरहेको आमनागरिकलाई पत्तै हुँदैन।

मानिसको मुख्य उत्प्रेरक भनेकै व्यक्तिगत स्वार्थ र लोभ हुन्। नैतिक मूल्यलाई कम महत्व दिने हाम्रो जस्तो समाजको संस्कृति पनि भ्रष्टाचार बढाउनमा प्रमुख भूमिका खेलिरहेका छन्।

पदमा हुँदा राम्रो बन्दोबस्त गर्न नसक्नेलाई ‘हुतिहारा’को संज्ञा दिने हाम्रा समाजका छिमेकीहरू भ्रष्टाचारका लागि त्यतिकै बढी जिम्मेवार रहनुपर्छ। भ्रष्टाचारमा व्यक्तिलाई मात्रै दोष दिन मिल्दैन।

नेता र उच्च पदस्थ कर्मचारीहरूमा बिचौलिया भ्रष्टलाई काखी च्याप्ने र राजनीतिक पेसालाई कमाउ पेसाको रूपमा उपयोग गर्ने गलत प्रवृत्ति मूल भ्रष्टाचार हो।

नेपालमा विगतका दिनहरूमा भएका ठूला भ्रष्टाचार काण्डहरूले भ्रष्टाचारीलाई झन् बढावा दिइरहेको छ। उनीहरूमा झन् साहस उत्पन्न भएको छ। वाइडबडीदेखि बूढीगण्डकीसम्म, सिक्टा सिचाईंदेखि सुन तस्करीसम्म भ्रष्टाचार मौलाएको छ। तीनवटै तहमा भ्रष्टाचार झन् उर्लिंदो छ।

देशमा विकास भएन, घूस–कमिसन बढ्यो, कालोबजारी बढ्यो, सिन्डिकेट व्याप्त छ, नेताहरू भ्रष्ट भए, कर्मचारीहरू घूस नलिई काम गर्दैनन् जस्तै अन्य नैराश्यताका वाक्यहरू आमजनताबाट सधैँ सुनिने गर्दछन्। तर, नियन्त्रणका प्रयास कमै भएको देखिन्छ।

भ्रष्टाचार नियन्त्रण अहिले हरेक नेता वा कर्मचारीको आदर्शवादी वाक्य बनेको छ। शब्द नसुन्ने वा नबुझ्ने शायद कोही छैन होला।

तर, भ्रष्टाचारको क्यान्सर माथिदेखि तलसम्म नहटाएसम्म समृद्धि र विकासको कुनै परिकल्पना गर्न सकिँदैन। सुशासन र सदाचारको नमुना प्रत्येक व्यक्तिबाट शुरु हुन्छ। यसमा खालि नेतालाई मात्र दोष दिन मिल्दैन।

– सुमन शर्मा, रुपन्देही,
हाल ः काठमाडौं।

 

प्रतिक्रिया दिनुहोस्