दिल्लीमा संघर्ष र सफलताको कथा



हेयर स्टाइलिस्ट नील डेभिड कटवालले भारतको नयाँ दिल्लीमा आयोजित मोटिभेसनल कार्यक्रम एमएस टकमा आफ्नो करियर तथा जीवनमा पाएको सफलताको कथा सुनाएका छन्।

कार्यक्रममा नेपालबाट नीललाई मात्र निमन्त्रणा गरिएको थियो। कार्यक्रममा नीलसहित विभिन्न मोटिभेसनल स्पिकरले आफ्नो जीवनका खुड्किलाका बारेमा वर्णन गरेका थिए।

दिल्लीको एसके क्राउन पार्क होटलमा आयोजित कार्यक्रममा नेपालको प्रतिनिधित्व गरेका कटवालले आफ्नो जीवनको वास्तविक यात्राका सम्बन्धमा प्रारम्भदेखि आजसम्मको सफलतालाई वर्णन गरेका थिए। ‘मैले आफ्नो संघर्षको कथा थाल्नुअघि भगवान् पशुपतिनाथलाई स्मरण गरें।’ –उनले सुनाए।

झापाको लक्ष्मीपुरका नीलेन्द्र कटवालबाट नील डेभिडमा रूपान्तरण हुन गरेको संघर्षको आफ्नो कथालाई उपस्थित व्यक्तिहरूले निकै रुचिपूर्ण तरिकाले सुनेको नीलले बताए।

अध्ययनका लागि विदेश जानुअघि ७ पटक भिसा अस्वीकृत भएको क्ष्ँणदेखि आज आएर हेयर स्टाइलिङलाई करियर मात्र नबनाई सयौं व्यक्तिलाई रोजगार दिन सफल भएको क्ष्ँणलाई नीलले रोचक शैलीमा प्रस्तुत गरेका थिए।

नीलले आफ्ना नेपाली ब्रान्डलाई भारतमा समेत स्थापित गराइसकेका छन्। आफ्ना दिवंगत बुबाको नाममा सन् २०२१ देखि फाउन्डेसन स्थापना गरेर ३ सय जना निम्नस्तरका बालबालिकालाई निःशुल्क हेयर एन्ड ब्युटी तालिम दिएर रोजगार दिलाउने नीलको योजना छ। उनको नेपाल तथा भारतमा गरी ७० सलोन तथा एकडेमी सञ्चालनमा छन्।

प्रतिक्रिया दिनुहोस्