एनआरएनए युरोप संयोजकमा गिरीको उम्मेदवारी



दीपेन्द्र गजुरेल, स्पेन। गैर आवासीय नेपाली संघको केन्द्रीय अधिवेशन नजिकिँदै गर्दा विश्वभर रहेका एनआरएनए सामाजिक अभियान्ताले आ–आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रम बढ्दो गतिमा रहेको छ।

यसै क्रममा युरोप संयोजकमा समाजसेवी तथा एनआरएनए सामाजिक अभियन्ता एवं पूर्वस्पेनका लागि नेपाल पर्यटन बोर्डका मानार्थ स्पेन प्रतिनिधि एकराज गिरीले आफ्नो उम्मेदवारी सामाजिक सञ्चालमार्फत घोषणा गर्नुभएको छ।

युरोप उपसंयोजकसमेत रहनुभएका गिरीले आफ्नो दुईवर्षे कार्यकालमा विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थान लुम्बिनी नगरपालिका र स्पेनको राजधानी म्याड्रिड महानगरपालिका बीचमा भगेनी सम्बन्ध स्थापनार्थ महत्वपूर्ण भूमिका खेल्नुभएको थियो।

यसै गरी स्पेनी चर्चित फुटबल क्लब एथ्लेटिक म्याड्रिड र वेस्ट काठमाडौं फुटबल क्लबबीच सम्झौतामा सकारात्मक पहलसमेत गर्नुभएको थियो। समाजसेवी तथा युरोप उपसंयोजक गिरीले लुम्बिनी गार्डेन फाउन्डेसनको अवधारणाअन्तर्गत विभिन्न सकारात्मक गतिविधि गदै आउनुभएको छ।

उपसंयोजक गिरी कुस्मा नगरपालिकाका मेयरका अन्तर्राष्ट्रिय सल्लाहाकारसमेत हुन्। आठौं अन्तर्राष्ट्रिय महाधिवेशन सन् २०१५/०१७ मा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो।

स्पेनस्थित नेपाली राजदूतावास र चान्सरी भवन व्यवस्थापनमा समेत सहयोगी भूमिका निभाउनुभएको थियो। यसै गरी सन् २०१५/०१७ एनआरएनए अन्तर्राष्ट्रिय समन्वयन समिति सदस्य थिए भने सन् २०१३/०१४ मा स्पेनको अध्यक्ष भएर स्पेनबासी नेपाली समुदायको तथ्यांक संकलनदेखि नेपालमा गएको विनाशकारी भूकम्पमा स्पेनबासीसँग समन्वयन गरेर नेपाली डेढ करोड रुपियाँ बराबर उठाएर एनआरएनए केन्द्रमा सकारात्मक सहयोगी भूमिका खेलेको स्पेनबासी बताउने गर्छन्।

उपसंयोजक गिरीलाई तपार्इंको संयोजकमा नै किन उम्मेदवारी भन्ने प्रश्नमा गिरीले सबै नेपाली समुदायले तपार्इंले एनआरएनएको अभियानमा निरन्तरता दिनुस् हामी सहयोग गर्छांै भनेकाले उम्मेदवारी घोषणा गरेको जानकारी दिनुभयो।

यसै गरी नेदरल्यान्डका नारायण आचार्यको पनि युरोप संयोजकमा उम्मेदवारी सामाजिक सञ्जालमार्फत घोषणा गर्नुभएको छ।

एनआरएनए नेदरल्यान्डका आईसीसी सदस्यसमेत रहेका आचार्य पूर्वएनआरएनए नेदरल्यान्डका अध्यक्षसमेत हुनुहुन्छ। आर्चायले युरोप संयोजक भए नेदरल्यान्डमा नेपाली दूतावास स्थापनार्थ सहयोगी भूमिका खेल्ने बताउनुभयो।

यसै गरी विभिन्न राष्ट्रमा नेपालीको बढ्दो चापलाई मध्यनजर गर्दै पोर्चुगल, माल्टालगायत विभिन्न देशमा देखिएका समस्यालाई ध्यानमा राखेर सहयोगी भूमिका खेल्ने योजना रहेको बताउनुभयो। यस्तै बेल्जियमबाट गंगाधर गौतमले समेत युरोप संयोजकमा उम्मेदवारी घोषणा गर्नुभएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्