मनमोहन विश्वविद्यालय विधेयक पारित



विराटनगर, (नेस)।मुख्य प्रतिपक्ष दल नेपाली कांग्रेसको लगातारको अवरोधका बाबजुद १ नं प्रदेशसभाबाट मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ।पछिल्ला समय लगातार कांग्रेसले विधेयकप्रति असहमति जनाउँदै सदन अवरुद्ध पर्दै आएको थियो।

तर सत्तापक्षले सोमबार सदनबाट बहुमतका आधारमा प्रतिपक्षी कांग्रेसको असहमति र विरोधको बाबजुद विधेयक पारित गरेको हो। नेपाली कांग्रेसका सांसदहरूले सोमबार प्रदेशसभामा नाराबाजी र होहल्ला गरिरहेका थिए।

सत्तापक्षले कांग्रेसको होहल्ला र विरोधलाई छिचोल्दै मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ।

संसद् बैठक शुरू भएलगत्तै कांग्रेसले होहाल्ला र नाराबाजी गदै रोस्ट्रम घेराउ गर्न पुगेका थिए। सभामुख प्रदीपकुमार भण्डारीले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्न सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई समय दिनुभएको थियो। कांग्रेसका सांसदहरूले घेराउ गरेको रोस्ट्रम छल्दै मन्त्री घिमिरेले विधेयक बैठकमा पेस गर्नुभएको थियो।

लगतै सभामुख भण्डारीले विधेयक पारितका लागि प्रक्रियामा लैजानुभएको थियो। विधेयक प्रदेशसभाको बहुमतले पारित गरेको थियो। प्रदेशसभामा नेकपाको बहुमत रहेको छ।

नेपाली कांग्रेसको विरोधका बाबजुद सामाजिक विकास समितिको प्रतिवेदनसहित उक्त विधेयक आइतबार प्रदेशसभामा पेस भएको थियो।

कांग्रेसले विधेयकमा समावेश गरिएको बोर्ड अफ गभर्नर्स नियुक्ति प्रक्रिया र मनमोहन पोलिटेक्निक कलेजका सञ्चालकलाई संरक्षक बनाउनेलगायतका प्रावधानमा असहमति जनाएको थियो।

प्रतिपक्ष कांग्रेसले सरकारले बहुमतको बलमा विधेयक पारित गरी प्रतिपक्षलाई बेवास्ता गरेको बताएको छ। कांग्रेसले रक्षामन्त्री ईश्वर पोखरेलको निर्देशनमा मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सरकारले ल्याएको बताउँदै आएको छ।

विधेयक प्रदेश सभाबाट बहुमतले पारित भएपछि कांग्रेसले भने सत्तापक्षले दुई तिहाइको दम्भमा विधेयक पारित गरेको भन्दै आक्रोश पोखेको छ।

मनमोहन स्मृति प्रतिष्ठानद्वारा मोरङको हात्तीमुडामा मनमोहन पोलिटेक्निक सञ्चालनमा छ। प्रतिष्ठानका अध्यक्ष भने रक्षामन्त्री ईश्वर पोखरेल रहनुभएको छ।

प्रतिक्रिया दिनुहोस्