दुई ठूला आयोजना निर्माणमा पहल प्रस्ताव माग्ने लगानी बोर्डको निर्णय



काठमाडौं, (नेस)। लगानी बोर्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र काठमाडौं उपत्यकाको बाहिरी चक्रपथ आयोजनाका लागि विकासकर्ता कम्पनीसँग विस्तृत प्रस्ताव माग्ने निर्णय गरेको छ।

बोर्डको सोमबार बसेको ४०औं बैठकले विमानस्थलका लागि स्विस कम्पनी ज्युरिच एयरपोर्ट एजी र चक्रपथका लागि चाइना कम्युनिकेसन कम्पनीसँग प्रस्ताव माग्ने निर्णय गरेको हो।

चैतमा भएको लगानी सम्मेलनका क्रममा आशय पेस गर्नेमध्येबाट यी दुई कम्पनीसँग प्रस्ताव मागिएको बोर्डका प्रमुख कार्यकारी निर्देशक महाप्रसाद अधिकारीले बताउनुभयो। आशयपत्र पेस गर्ने ६ प्रस्तावकमध्येबाट ज्युरिच एयरपोर्ट एजीलाई योग्य देखिएको बोर्डले जनाएको छ।

उक्त प्रस्ताव प्राप्त भएपछि गरिने मूल्यांकनपछि उपयुक्त भएमा सार्वजनिक–निजी साझेदारीमा आयोजनाको निर्माणका लागि सम्झौता प्रक्रिया अघि बढाइनेछ।

यस्तै, तल्लो अरूण जलविद्युत् आयोजनाका लागि तीनै प्रस्तावकसँग प्रस्ताव माग्ने निर्णय भएको बोर्डले जनाएको छ।बैठकले पश्चिम सेती तथा एसआर संयुक्त जलविद्युत् परियोजना र तल्लो अरूण जलविद्युत् परियोजनाका लागि प्रस्ताव पेस गर्नेमध्ये संक्षिप्त सूची (सर्ट लिस्ट) छनोटका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको संयोजकत्वमा अलग–अलग समिति गठन गरेको छ।

बैठकमा बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकाको यातायात व्यवस्थापन र सुधारबारे हालसम्म भएका विभिन्न अध्ययन, अवस्था र यसका लागि लगानी गर्न इच्छुकको सूचीसहित सुझाव दिन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिनुभएको थियो।

यसअघिको सम्मेलनमा प्रस्ताव पेस गरी सर्ट लिस्टमा परेकामध्ये मापदण्ड र मूल्यांकनका आधारमा उक्त कम्पनीलाई बैठकले जिम्मेवारी दिएको हो। दुवै परियोजनाका लागि ती कम्पनीले ४५ दिनभित्र परियोजना विकासको प्रस्ताव पेस गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्