मेडिकल कलेजलाई शुल्क फिर्ता गर्न गृहको निर्देशन



ईश्वरराज ढकाल, काठमाडौं । तोकिएको भन्दा बढी शिक्षण शुल्क लिने मेडिकल कलेजलाई एक महिनाभित्र शुल्क फिर्ता गर्न सरकारले निर्देशन दिएको छ ।

विभिन्न शीर्षकमा विद्यार्थीबाट अतिरिक्त शुल्क लिएको पुष्टी भएपछि सरकारले मेडिकल कलेज सञ्चालकलाई यस्तो निर्देशन दिएको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको पहलमा गृहमन्त्री रामबहादुर थापा समेतको उपस्थितीमा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठक गृह मन्त्रालयमा बसेको थियो ।

कलेजले शुल्क फिर्ता गरे/नगरेको स्थानीय प्रशासनले अनुगमन गर्ने र नगरेको पाइएमा स्थानीय प्रशासनले कार्वाही प्रकृयाअघि बढाउने अधिकार दिइएको शिक्षा मन्त्रीका स्वकीय सचिव पुरण केसीले जानकारी दिनुभयो । बैठकबारे जानकारी दिदै उहाँले भन्नुभयो–‘अनुगमन र कार्वाही प्रकृया अघि बढाउने अधिकार स्थानीय प्रशासनलाई दिइएको छ ।’

बैठकमा गृहमन्त्री थापा, शिक्षामन्त्री पोखरेल, त्रिभुवन विश्वविद्यालयका उपकूलपति प्राडा सुधा त्रिपाठी, चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्राडा जगदिश अग्रवाल,रजिष्टार डिल्ली उप्रेती सहभागी हुनुहुन्थ्यो । त्यसैगरी शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिव सहितका बरिष्ठ अधिकारी पनि बैठकमा सहभागी थिए ।

त्रिवीको सम्बन्धनमा सञ्चालित नीजि मेडिकल कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क लिने गरेको भन्दै विद्यार्थी आन्दोलनमा उत्रिने गरेका छन् । चितवन मेडिकल कलेजले हिजो आइतबार एक महिनाभित्र शुल्क फिर्ता गर्ने प्रतिवद्धता जनाएपछि गत महिनादेखिको विद्यार्थीको आन्दोलन स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्