प्रदेश ३ क्यान महासंघमा नयाँ नेतृत्व



न्युज अफ नेपाल, हेटौँडा । सूचना तथा सञ्चार प्रविधिसँग सम्बन्धित व्यक्ति, व्यवसायी र संघसंस्थाहरुको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल महासंघ प्रदेश–३ अधिबेशनले काभ्रेका मनोजकुमार न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
न्यौपाने क्यान काभ्रेका पूर्वअध्यक्ष हुनुहुन्छ । उहाँको कार्यकालमा क्यान काभ्रेले पहिलोपटक सूचना प्रविधि पार्कमा क्यान इन्फोटेक, मकर मेलाको अवसरमा पदयात्रा, आईसीटी छात्रवृत्ति कोष स्थापना, ईभिलेज समन्वय समितिको अवधारणाबाट जिल्लाका ११ गाविसमा ईभिलेज कार्यक्रम सञ्चालनलगायत कार्य गरेको थियो ।

कार्यसमितिमा उपाध्यक्ष विष्णुप्रसाद लामिछाने (चितवन), सचिव किरण श्रेष्ठ (सिन्धुली), कोषाध्यक्ष निर्जन श्रेष्ठ (सिन्धुपाल्चोक) र सदस्य रामकुमार श्रीवास्तव (मकवानपुर) निर्वाचित हुनुभएको छ ।

दोस्रो वार्षिक साधारणसभा तथा अधिवेशन प्रदेश सरकारका सामाजिक विकास मन्त्री युवराज दुलालको प्रमुख आतिथ्यतामा हेटौंडामा सम्पन्न भएको हो । मन्त्री दुलालले प्रदेश सरकारको समृद्धि र डिजिटल प्रदेश निर्माण अभियानमा साथ दिन क्यान महासंघलाई आग्रह गर्नुभयो । उहाँले ग्रामीण क्षेत्रसम्म प्रविधिको विस्तार र पहुँचका लागि महासंघको हरेक यात्रामा प्रदेश सरकारले पूर्णरुपमा साथ दिने बताउनुभयो ।

क्यान प्रदेश अध्यक्ष प्रभात श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष नवराज कुँवर, उपाध्यक्ष सुनैना घिमिरे, महासचिव रञ्जितकुमार पोद्धार, सचिव नारायण थापा, सहकोषाध्यक्ष शेखरनाथ दुलाललगायतले देश विकासको मुख्य औजारका रुपमा रहेको सूचना तथा सञ्चार प्रविधिलाई समृद्धिको मुख्य हतियारका रुपमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

साधारणसभाले सचिव मनोजकुमार न्यौपानेद्वारा प्रस्तुत कार्यप्रगति प्रतिवेदन र भावी कार्ययोजना तथा कोषाध्यक्ष किरण श्रेष्ठद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनलाई पारित गरेको छ । निर्वाचित अध्यक्ष न्यौपानेले प्रदेश कार्यसमिति मुलतः केन्द्रीय समिति र जिल्ला कार्यसमितिबीच सम्पर्क, समन्वय र सूचना आदानप्रदान गर्ने पुलका रुपमा क्रियाशील रहँदै प्रदेश समृद्धिको यात्रामा अगाडि बढ्न सूचना प्रविधिलाई औजारका रुपमा परिचालन गर्ने कार्यमा प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय, सहकार्य र हातेमालो गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्