ओली सरकार भ्रष्टाचारमा चुर्लुम्म डुब्यो : देउवा



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसका सभापति शेरवहादुर देउवाले वर्तमान कम्युनिष्ट नेतृत्वको सरकारले मुलुकलाई भ्रष्टाचारको काण्डै काण्डमा डुबाएको आरोप लगाउनु भएको छ । साथै उहाले बढ्दो महङ्गि र भ्रष्टाचार नियन्त्रणबारे सरकार मौन बसेको र सुन्यसहनशिलता कुरा भने चर्को स्वरमा गरिरहेको आरोप पनि लगाउनु भएको छ ।

सोमबार नेपाल विद्यार्थि संघका निवर्तमान अध्यक्ष नैनसिंह महरद्धारा लिखित ‘नेपाल सरकारका काण्डै–काण्ड’ पुस्तक सार्वजनीक गर्दै सभापति देउवाले सरकारले राज्यका सबै संयन्त्रहरूलाई पार्टी जसरी सञ्चालन गररहेको भन्दै विना प्रतिस्पर्धा मेलम्ची खानेपानी आयोजनाको काम ठेक्कामा दिएर सरकारले ठुलो आर्थिक चलखेल गरेको पनि बताउनु भएको थियो ।

कार्यक्रममा सभापति देउवाले बुढीगण्डकी जलविद्युत आयोजनाको काम पनि विना प्रतिस्पर्धा चिनियाँ कम्पनीलाई ठेक्कामा दिएको भन्दै विरोध गर्नुभएको थियो । ओली सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्दै सभापति देउवाले विना प्रतिस्पर्धा अघि बढाउन नमिल्ने यी आयोजनाहरु अघि बढाएर सरकारले आर्थिक चलखेल गरेको आरोप लगाउनु भएको थियो ।

कार्यक्रममा काग्रेस महामन्त्री डा. शशांक कोइरालाले ओली नेतृत्वको सरकारका जनविरोधी काम समावेश गरि विद्यार्थि नेता महरले लेख्नुभएको पुस्तकलाई सन्दर्भ सामग्री बनाएर मात्र अघि बढेपनि काग्रेसले आगामी निर्वाचनमा विजयी हुने बताउनु भएको थियो ।
पार्टीभित्रको आन्तरीक द्धन्द्धको कारणले पनि नेपाली काग्रेस कमजोर भएको औल्याउदै महामन्त्री कोइरालाले पार्टीलाई अघि बढाउन पार्टी भित्रका आन्तरीक एकताको पनि आवश्यक्तामा रहेको बताउनु भएको थियो । पार्टी सभापति देउवालाई मात्रै गाली गरेर पार्टीलाई अघि बढाउन नसकिने उहाको भनाइ थियो ।

प्रत्येक नेपालीले सरकारका काला कर्तुतबारे जानकारी प्राप्त गर्न महरद्धारा लिखित यो पुस्तक एकपटक पढ्नै पर्ने भन्दै महामन्त्री कोइरालाले यो पुस्तकले प्रजातन्त्रको पक्षमा माहोल सिर्जना गर्नसमेत भूमिका खेल्ने बताउनु भएको थियो ।

‘सरकारको असली रुप जनतासामु ल्याएर सरकारका गलत कामको पर्दाफास गर्न यो पुस्तक लेखिएको हो’ लेखक महरले भन्नुभयो– पुस्तकमा वर्तमान सरकारको पालामा भएका सुन काण्ड, सिन्डिकेट काण्ड, निर्मला काण्ड, ठेक्कापट्टा काण्ड, गाइ काण्ड, भ्रष्टाचर काण्ड, विधेयक काण्ड, बालुवाटार काण्ड, गुठी काण्ड, बजेट काण्डलगायत एक सय २० बढी सरकारका जनविरोधी काण्ड समेटेको छ ।

“सभापतिलाई गाली गरेर होइन, उहाँलाई हाम्रो सहयोग हुनुपर्छ,” उनले भने, “मैले कतै पनि सभापतिका बारेमा कुनै टिका–टिप्पणी गरेको छैन्, गर्नु पनि हुँदैन ।” पार्टी सभापतिको विरोध गरेर पार्टी बलियो हुन नसक्ने उनको आशय थियो ।

त्यसअघि कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सभापति देउवाविरुद्ध गाली गर्दै हिँड्ने नेताहरुका कारण पार्टीले ठूलो घाटा ब्यहोर्नु परेको अभिव्यक्ति दिएका थिए । “केन्द्रीय समिति बैठकमा बोल्दै नबोल्ने ? बाहिर गाली गर्दै हिँड्ने ?,” उनले आक्रोशित हुँदै भने, “यसले नेपाली कांग्रेसलाई ठूलो घाटा भएको छ । पार्टीमा अनुशासनको पालना हुनुपर्दछ ।

आफू बलियो हुने नाममा सभापतिलाई कमजोर बनाउने चलखेल पार्टी हित विपरित रहेको प्रमुख सचेतक खाँणको भनाइ थियो । गुट उपगुटका नाममा पार्टीलाई अनिर्णयको बन्दी बनाउन नपाइने जिकिर गर्दै उनले पार्टी असफल भए लोकतन्त्र पनि असफल हुने दाबी गरे । लोकतन्त्रको रक्षाका लागि पार्टीलाई एकढिक्का पारेर मजबुत बनाउनुपर्नेमा खाँणको जोड थियो ।

प्रतिक्रिया दिनुहोस्