सहकारीमार्फत समृद्धिका कार्यक्रम चलाउन स्थानीय सरकारलाई आग्रह



काठमाडौं ।भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले स्थानीय तथा प्रदेश सरकारले सहकारीमार्फत काम गर्ने गरी नीति तथा कार्यक्रम बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले स्थानीय र प्रदेशले सहकारीका लागि बजेट छुट्टाएको भए पनि प्रयाप्त नरहेको बताउनुभयो । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको प्रदेश तथा स्थानीय तहको समृद्धिका लागि सहकारी विषयक प्रादेशिक गोष्ठीको आइतबार उद्घाटन गर्दे मन्त्री अर्यालले भन्नुभयो,‘स्थानीय तहले सहकारीमार्फत परिचालन गर्ने पैसा न्यून छुट्टाएको देखिन्छ ।

सहकारीमार्फत समृद्धीका कार्यक्रम अगाडी बढाउन म स्थानीय सरकारलाई अनुरोध गर्दछु ।’ गोष्ठी सोमबारसम्म चल्ने छ ।उहाँले सिप सिकाउने र क्षमता बृद्धि गराउनका लागि समेत सहकारीसँग स्थानीय सरकारले सहकार्य गर्नुपर्नेमा उहाँको जोड थियो ।

‘जनप्रतिनिधि र सहकारी अभियान्ता सबैले समृद्धका लागि एउटा न एउटा उत्पादनको काममा लाग्नुपर्छ’ भक्तपुरको बोडेमा भएको कार्यक्रममा भन्नुभयो,‘माटोले के रोज्छ र नजिकको बजारले के खोज्छ त्यहिअनुसार काम गर्नुस् ।’ पत्येक पालिकामा एक सहकारीले नमुना योग्य काम गर्नुपर्नेमा उहाँको जोड थियो ।

‘कुशलतापूर्वक काम गरेर जनताको मन जित्न सके लोकतन्त्र सफल हुन्छ । अविश्वा र खतरा भयो भने गणतन्त्र जोगाउन नसकिने भएकाले सबैले जनतासँग नजिक सम्बन्ध भएको सहकारीमार्फत सहकार्य गरेर अगाडि बढ्नुपर्छ ।’ उहाँले भन्नुभयो ।

कार्यक्रममा प्रदेश ३का १३ जिल्लाका स्थानीय तहका जनप्रतिनिधि कर्मचारी र प्रदेश ३ का प्रदेश सभा सदस्यहरुको सहभागीता रहेको छ । कार्यक्रममा भारतको इफ्कोका प्रबन्ध निर्देशक यूएस अवस्थी मुख्य वक्ताका रुपमा रहनुभएको थियो ।

उहाँले सो अवसरमा कृषि उत्पादनमा उपयोगी हुने सामाग्रीहरु सहयोग गर्ने बताउँदै महासंघसँग मिलेर आगामी दिनमा नेपालको किसानका लागि सहयोग गर्ने बताउनुभयो ।

यूएनडीपीकी आवशीयप्रतिनिधि एशनी लावेले जलवायु परिवर्तनका कारण कृषिमा समेत समस्या देखिएकाले यो विषयमा महासंघसँग सहकार्य गरेर अगाडी बढ्न सकिने बताउनुभयो ।

प्रदेश सभा सदस्य सरस्वती बस्नेतले प्रदेश ३ ले सहकारीमार्फत सिन्धुली दुधौलीमा १५१ विघा जमिन र चितवनको माडीमा १२१ विघा जमिन एकिकृत गरी गर्न लागेको खेतीमा सहयोग गरेको बताउनुभयो ।

दोलखा जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले तीनै तहको सरकारले सहकारी मैत्री वातावरण बनाउन साझा धारणा निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रम महासंघका लेखा समिति संयोजक धर्मदत्त देवकोटा, उपाध्यक्ष तथा आइसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल, संचालक तथा राष्ट्रिय किसान आयोगका सदस्य रविन्द्र केसीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।

महासंघद्वारा अवस्थी सम्मानित

सहकारी स्वामित्वमा चलेको विश्वकसो सर्वाधिक ठूला सहकारीमध्येको एक इफ्को सहकारीका प्रबन्ध निर्देशक यू एस अवस्थीलाई राष्ट्रिय सहकारी महासंघले सम्मान गरेको छ ।

इफ्कोमा ३६ हजारभन्दा बण् िसहकारी समिति सदस्य रहेका छ । भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्याल र महासंघका अध्यक्ष केशव बडालले इफ्को प्रबन्ध निर्देशकलाई सम्मान गरेका थिए ।

इफ्कोले नेपालको कृषि क्षेत्रको विकासका लागि सहयोग गर्दै आएको छ । नियमित रुपमा प्रशिक्षण गराउँदै आएको छ । अवस्थी सोमबार स्वदेश फर्कदै छन् ।

प्रतिक्रिया दिनुहोस्