ज्यू, घ्यू र पुरस्कार



मान्छेहरू कुरै नबुझी बर्बराएको सुन्दा धरहराको पारो तातेर आउँछ भन्या। आफ्नो आङको भैंसी जत्रो कमजोरी नदेख्ने अनि अरुलाई गाली गर्ने ? गालीमात्र हो र रिसले मुुर्मुरिने ? आफ्नो कुनै योग्यता, क्षमता, गुण छैन अनि राता राता आँखा गरेर हुन्छ त ?

कि बलरामले झैं भैंसी पालेर टन्न घ्यू संगाल्नु अनि ख्वामीतको ज्यूमा घस्नु कि कुनै वास्ता–व्यस्ता नगरी चूप लागेर बस्नु, कि गुमनाम जिन्दगी बिताउन योगा अनि ध्यानका गुफातिर पस्नु। धरहराले निकाल्न खोजेको कुरोको चुरो पुरस्कारको हो।

मुलुकमा कुनै पुरस्कार, माला अनि खादाको वितरण भयो कि नपाउनेहरू डाँडोखोला हल्लने गरेर चिच्याउँछन्। पाउनेमाथि अनेक आरोप लगाउँछन्। तर आफ्नो समस्या कहाँनिर हो भन्ने बुझ्दैनन्।

धरहराले माथि नै गरिहाल्यो नि बलरामको कुरा हो, साँच्चै पुरस्कृत हुन मन छ, माल र खादा पहिरिने चाहना छ भने सबै कुरा छोडेर तत्कालै घ्यू जम्मा गर्नुस् अनि पुरस्कारदाता, माला र खादा प्रायोजकको जीउ मालिस र जुत्ता पालिस गर्न थाल्नुस्।

तपाईंले यसको प्रतिफल दुई महिनामै पाउनुभएन भने धरहरा पात काटेर कानमा राख्न तयार हुनेछ। यदि यति गर्न नसके आजैदेखि गनगन गनगन गर्न छाडिदिनुस्। गुमनाम जिन्दगी बिताउनुस्।

प्रतिक्रिया दिनुहोस्