म्याग्दीमा दशैं अगाडि नै फोरजी



प्रताप बानियाँ, म्याग्दी।म्याग्दीमा इन्टरनेटको चौथो पुस्ता अर्थात फोरजी सेवा सञ्चालनको तयारी शुरु भएको छ। म्याग्दीबासीलाई उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउने गरी जिल्लामा फोरजी सेवा सञ्चालन गर्न उपकरण जडानको कार्य अगाडि बढाइएको हो।

पहिलो चरणमा म्याग्दीको चार ठाउँमा रहेका टेलिकमको बीटीएस टावरमा फोरजी सेवा सञ्चालन गर्नका लागि अहिले उपकरण जडानको कार्य भैरहेको नेपाल टेलिकम दूरसञ्चार कार्यालय म्याग्दीले जनाएको छ।

सदरमुकाम बेनीबजारस्थित टेलिकमको आफ्नै कार्यालय र क्याम्पसचोक, बेनी नगरपालिकाको पुलाचौर र मालिका गाउँपालिकाको देवीस्थानको रुन्मामा रहेको टावरमार्फत फोरजी सेवा सञ्चालन गरिने टेलिकम म्याग्दीका प्रमुख विष्णुदेव शाहले बताउनुभयो।

क्याम्पसचोकमा रहेको बीटीएस टावरमा उपकरण जडानको कार्य सकिएको छ भने कार्यालय परिसरमा जडान कार्य भइरहेको उहाँले जानकारी दिनुभएको छ।

यसैगरी पुलाचौरको टावर र रुन्माको टावरका लागि पनि उपकरण जडानका लागि आवश्यक पर्ने सामान पठाइसकिएको हुँदा जडानको क्रममा रहेको छ।

तत्कालका लागि साविक धौलागिरि अञ्चलको ४ जिल्लाका ३५ वटा टेलिकमका बीटीएस टावरमा फोरजी सेवा जडान गरी सञ्चालन गर्न लागिएको टेलिकमको भनाइ छ।

म्याग्दीको बेनीमा दशैं अगाडि नै टेलिकमको फोरजी सेवा सञ्चालन गर्न अहिले तीव्र गतिमा काम अगाडि बढिरहेको छ।

यसैबीच बजारी क्षेत्रमा टेलिकमको उच्च गतिको फाइबर नेट (एफटीटीएच) सेवाको विस्तार कार्य समेत भइरहेको टेलिकम म्याग्दीका सूचना अधिकारी वसन्त पुरीले जानकारी दिनुभयो।

फाइबरबाट इन्टरनेट र टेलिफोनका साथै निकट भविष्यमा टेलिभिजन पनि हेर्न मिल्ने हुँदा अहिले फाइबर बिच्छ्याउने कार्य भइरहेको उहाँले बताउनुभयो। टेलिकमले फाइबर नेट नयाँ ग्राहकहरुलाई दशैं अगाडि नै उपलब्ध गराउने जानकारी दिएको छ।

आगामी एक वर्षभित्र देशका ७७ वटै जिल्लामा इन्टरनेटको फोरजी सेवा विस्तार गर्ने सरकारको लक्ष्यअनुसार फोरजी सञ्चालनको आवश्यक तयारी अघि बढेको बताइएको छ। फोरजी सेवा भन्नाले इन्टरनेटको चौथो पुस्ताका साथै उच्च गतिको इन्टरनेटका रुपमा मानिन्छ।

विदेशी मुलुकमा फाइजीलगायत सेवाको सुरुवात भइसक्दा नेपालमा भने बल्ल फोरजी सेवा सञ्चालन गर्न लागिएको हो।

टेलिकमले भने विद्युत् सेवा पुगेका ठाउँमा इन्टरनेट सेवा शुरु गर्ने, टुजी भएकोमा थ्रीजी र थ्रीजी भएको बिटिएसमा फोरजी सेवा उपलब्ध गराउने गरी काम गरिरहेको छ। म्याग्दी जिल्लामा टेलिकमले आगामी ६ महिनाभित्र अधिकांश ठाउँमा फोरजी सेवा सञ्चालन गर्ने बताएको छ।

टेलिकमको गत वर्षको तथ्यांक अनुसार जिल्लाको कुल ९३ हजार ८ सय ८७ अर्थात् ८१ दशमलव ८० प्रतिशत म्याग्दीबासी सञ्चारको पहुँचमा पुगेका छन्

प्रतिक्रिया दिनुहोस्