निजी क्षेत्रको सहयोग महत्वपूर्ण ः पर्यटनमन्त्री



नेपाल समाचारपत्र, ललितपुर। भिमसेन मन्दिर पुनर्निर्माणका लागि सर्वसाधारणबाट शनिबारमात्रै करिब १० लाख रुपियाँ जम्मा भएको छ। पाटन दरबार क्षेत्रमा रहेको सो मन्दिर पुनर्निर्माणका लागि आवश्यक रकम जुटाउने क्रममा शनिबार आयोजित बृहत् पदयात्राका सहभागीबाट सो रकम जम्मा भएको हो।

भूकम्पले सो मन्दिर क्षतिग्रस्त भएको थियो।ललितपुर उद्योग वाणिज्य संघको अगुवाईमा भइरहेको भिमसेन मन्दिर पुनर्निर्माणमा सहयोग जुटाउन र नेपाल भ्रमण वर्षको प्रचारात्मक अभियानको रुपमा सो पदयात्रा आयोजना गरिएको थियो। पदयात्रामा सहभागी हुने प्रतिव्यक्तिको रजिष्ट्रेसन शुल्कवापत ५ सय रुपियाँ लिइएको थियो।

पदयात्रामा सहभागी २ हजार जनाले दिएको ५/५ सय रुपियाँबाट सो रकम जम्मा भएको संघका अध्यक्ष कृष्णलाल महर्जनले जानकारी दिनुभयो। ‘रकम जम्मा हुनु मन्दिर पुनर्निर्माणमा सबैको अपनत्व भएको बलियो प्रमाण हो।

सबैको अपनत्व हुनु पनि आवश्यक छ। ’ अध्यक्ष महर्जनले भन्नुभयो। ‘पदयात्रामा देखिएको उल्लेखीय सहभागिताले हाम्रो सम्पदा, हामी आफैं बनाऔं भन्ने नारालाई सबैले मनन गरेको रुपमा लिएका छौं। ’

पाटन दरबार क्षेत्रबाट शुरु भएको पदयात्रा ग्वार्को, सिद्धिपुर, हरिसिद्धि, धापाखेल, ठेचो, बुङमती हुँदै करिब १४ किलोमिटरको यात्रापछि खोकनामा समापन गरिएको थियो।

लिच्छविकालीन र मल्लकालीन बस्तीहरुको परिक्रमाबाट ती बस्तीहरु पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने र हुनुपर्नेतर्फ ध्यानाकर्षण गराएका छौं। ’ संघका वरिष्ठ उपाध्यक्ष भरतलाल जोशीले भन्नुभयो।

पदयात्रामा ललितपुर क्षेत्र नं २ का सांसद् कृष्णलाल महर्जन, ३ का सांसद् पम्फा भुसाल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, प्रदेश ३ का सांसद्द्वय राजकाजी महर्जन, शोभ शाक्य, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन लगायतको सहभागिता रहेको थियो।

पदयात्राका सहभागीलाई सिद्धिपुर, ठेचो र खोकनामा परम्परागत धिमे बाजा बजाई,नेवारी परम्परा अनुसार टीका लगाई र कोखा घाँटीमा लगाउन दिइने रातो कपडा) दिएर स्वागत गरिएको थियो। पदयात्रामा सहभागी हुनेलाई कुमारी बैंकले प्रायोजन गरेको सेतो टिर्सट र खोकनामा नेवाः भोज खुवाइएको बैंकले जनाएको छ।

यसअघि पदयात्राको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्षलाई सफल बनाउन निजी क्षेत्रले गरेको महत्वपूर्ण प्रयासको रुपमा पदयात्रालाई लिएको धारणा राख्नुभयो।

सम्पदाको पुनर्निर्माण गरी बढीभन्दा बढी विदेशी पर्यटक नेपाल भित्र्याउने पदयात्राको उद्देश्य निकै महत्वपूर्ण रहेको पनि बताउँदै मन्त्री भट्टराईले निजी क्षेत्रको साथ र सहयोगमा नै पर्यटन वर्ष सन् २०२० को सार्थकता रहने विश्वास व्यक्त गर्नुभयो।

मन्त्री भट्टराईले भन्नुभयो–‘ललितपुरका उद्यमी व्यवसायी, सम्पदा र संस्कृतिप्रेमी सबैको साथ र सहयोगबाट भिमसेन मन्दिर पुनर्निर्माण थालनी हुनुले सम्पदा निर्माणको क्षेत्रमा एउटा उदाहरण स्थापित गरेको छ।

यस कार्य सबैका लागि अनुकरणीय रहेको छ। ’राज्यको प्रयासमा स्थानीयको अपनत्व भएन भने कुनै पनि कार्य दीगो नहुने पनि उहाँको भनाइ थियो।

अध्यक्ष महर्जनका अनुसार मन्दिर पुनर्निर्माणका लागि एभरेष्ट बैंकका अध्यक्ष बीके श्रेष्ठबाट १ करोड रुपियाँ प्राप्त भइसकेको छ। त्यसैगरी ललितपुर महानगरपालिका र प्रदेश नं ३ ले चालू आर्थिक वर्षमा क्रमशः १ करोड र ५० लाख रुपियाँ विनियोजित गरेको बजेट पुस्तिकामा उल्लेख गरिएको छ।

विभिन्न दाताहरुबाट ५० लाख रुपियाँ जुटिसकेको छ। त्यस्तै मन्दिरको छानाको जिम्मा नेपाल हस्तकला महासंघका पूर्वअध्यक्ष समेत रहनुभएका कल्याणकृष्ण ताम्रकार, दाँची इँटा उपलब्ध गराउने जिम्मा दक्षिण बाराही इँटा उद्योगका तर्फबाट तीर्थलाल महर्जन र हिराकाजी महर्जनले जिम्मा लिएको पनि संघले जनाएको छ।

अन्य दाताहरुबाट प्रतिबद्धता व्यक्त गरे अनुसार अब रकम अभावले मन्दिर पुनःनिर्माण कार्य रोकिने अवस्था अन्त्य भएको पनि संघका महासचिव मनोजबहादुर न्याछ्योले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्