खाडी क्षेत्रको सुरक्षा गर्न हामी तयार छौं ः रुहानी



तेहरान, (एजेन्सी)।अमेरिकाले खाडी क्षेत्रमा आफ्नो फौज तैनाथ गर्नेलगायत आइतबार इरानी राष्ट्रपति हस्सन रुहानीले रणनीतिक महत्वको सो जलक्षेत्रको सुरक्षामा विदेशीहरूको खतरा बढ्दै गएको प्रतिक्रिया दिनुका साथै इरान आफैले त्यहाँको नेतृत्वदायी भूमिका निर्वाह गर्ने जनाएका छन्।

इरानको राजधानी तेहरानमा आयोजित सैनिक परेड कार्यक्रममा उनले पर्सियाली जलक्षेत्रमा अमेरिकी सैनिक प्रभाव बढ्दै गएकामा कडा शब्दमा आलोचना गरेका छन्।

रुहानीले विदेशी फौजले दुःख र पीडा मात्र दिँदै आएको र तिनीहरूलाई हातहतियार प्रतिस्पर्धामा प्रयोग गर्न दिइनु नहुने विचार व्यक्त गरेका छन्।

संयुक्तराज्य अमेरिकाले आफ्ना गठबन्धन अरब राष्ट्रहरूको सहयोगका लागि भन्दै खाडी क्षेत्रमा अत्याधुनिक हातहतियार र उपकरणसहित थप सैनिक तैनाथ गर्ने घोषणा गरेको थियो। अमेरिकाले साउदी तेल उत्पादन क्षेत्रमा आक्रमण भएपछि त्यहाँ आफ्ना थप फोज पठाउँदै छ।

साउदी अरेबिया र अमेरिका दुवैले सो आक्रमणका लागि इरानलाई दोष दिए पनि इरानले भने सो आरोप अस्वीकार गर्दै आएको छ।

विश्व तेल बजारमै हलचल आउने गरी साउदी अरेबियाका दुईवटा तेल प्रशोधन केन्द्रमा मानवविहीन ड्रोन विमानबाट भएका हमलामा इरानको संलग्नता रहेको अमेरिकी दाबी रहेको थियो। तर उक्त आक्रमणको जिम्मेवारी यमनमा युद्धरत हुथी विद्रोही समूहले लिएको थियो।

साथै रुहानीले आगामी दिनमा इरानले संयुक्त राष्ट्र संघमा खाडीको शान्ति प्रयासका लागि नयाँ पहल गर्ने प्रतिबद्धता पनि जाहेर गरेका छन्। अमेरिकी राष्ट्रपतिले गतवर्ष इरानसँगको आणविक सम्झौताबाट आफूलाई अलग्याएको थियो।

सन् २०१७ मा इरानले आफूमाथि लागाइएको नाकाबन्दी खुकुलो पार्दै लगेबापत आफ्नो आणविक कार्यक्रम कटौती गर्दै जाने हिसाबले विश्वका ६ शक्तिशाली राष्ट्र अमेरिकी, चीन, रसिया, फ्रान्स, बेलायत र जमर्नीसँगको आणविक सम्झौतामा हस्ताक्षर गरेको थियो।

इरानले सम्झौतालाई इमानदारिताका साथ पालना नगरेको भन्दै ट्रम्प सरकारले त्यसबाट अमेरिका अलगिएको घोषणा गरेको थियो।

यसैबीच इरानले आफूमाथिको अमेरिकी आरोपको खण्डन गर्नुका साथै अमेरिका वा साउदी अरेबियाबाट इरानविरुद्ध कुनै सुरक्षा कारबाही भएको खण्डमा त्यसविरुद्ध लड्न इरान तयार रहेको बताएको छ।

साथै राष्ट्रपति रुहानीले खाडी क्षेत्रमा विदेशी सैनिकको उपस्थिति रहँदासम्म विश्वको ऊर्जा सुरक्षामा समस्या विद्यमान रहने चेतावनीसमेत दिएका छन्।

रुहानीले पर्सियाली जलक्षेत्र र हर्मुज जलडमरुमा सुरक्षा सुदृढ गर्ने गरी सो क्षेत्रका अन्य मुलुकसँग मित्रता र भ्रातृत्वको सम्बन्ध अझ बलियो बनाउन इरान सदैव तयार रहेको पनि बताएका छन्। हर्मुज जलडमरुको मार्गबाटै विश्वको कुल कच्चातेल निर्यातको झन्डै पाँच भागको एक भाग निर्यात हुँदै आएको छ।

यसअघि नै अमेरिकाले साउदी अरेबिया र संयुक्त अरब इमिरेट्समा अमेरिकी सैनिकको संख्या र हतियार बढाउने निर्णय गरिसकेको छ। अमेरिकी नेतृत्वभित्र यूएई, साउदी अरेबिया, बहराइन, बेलायत र अस्ट्रेलिया रहेका छन्।

यसैबीच अमेरिकी रक्षामन्त्री मार्क एस्परले गत जुनमा इरानले अमेरिकी गुप्तचर ड्रोन खसालेयताका हरेक कार्यहरू अमेरिका र यसका गठबन्धनविरुद्ध केन्द्रित भएको बताएका छन्।

उनले साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सको आग्रहमा खाडी क्षेत्रमा थप अमेरिकी फौज पठाउन लागेको जानकारी पनि दिएका छन्।

एस्परले अमेरिकी सेना आक्रामक कारबाहीका लागि खाडी क्षेत्रमा पठाउन लागिएको भए पनि तिनीहरू अहिले विशेष गरी हवाई तथा क्षेप्यास्त्र प्रतिरक्षामा केन्द्रित हुने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्