उपचार गर्न डाक्टर खोज्दै डोटीका धामीझाँक्री



विमल विष्ट, डोटी।कुनै समय डाक्टरले निको पार्न नसकेको उपचार आफूले निको पर्न सक्ने दाबी गर्दै आएका डोटीका धामी झाँक्रीहरू पछिल्लो समय डाक्टरकहाँ गएर आफ्नो उपचार गराउन थालेका छन्।

आफूमात्र नभई उनिहरू अहिले गाउँका अन्य बिरामीलाई पनि डाक्टर कहाँ गएर औषधोपचार तथा चेकजाँच गराउन सल्लाह दिन थालेको जोरायल गाउँपालिका–५ गड्सेराका स्थानीय डम्मर विष्टले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘धामीलाई देउता काप्न खबर गर्न जाँदा अहिले उनिहरू पहिला अस्पताल लैजाउ डाक्टरलाई चेक जाँच गराउ, डाक्टरले नसके हामी हेरांैला भन्छन्।’

जिल्ला स्वास्थ्य कार्यालय डोटी तथा नेपाली सेनाको सुदूरपश्चिम पृतना दीपायल राजपुर व्यारेकले सुदूरपश्चिमेली जनतालाई घरैमा निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले यहाँका विभिन्न क्षेत्रमा सञ्चालन गरेका निःशुल्क स्वास्थ्य शिविरमा प्राय जसो धामीझाँक्री आफ्नो उपचार तथा चेकजाँच गराउन आउन थालेका छन्।

धामीझाँक्री प्रति निकै विस्वास तथा आस्था राख्ने सुदूरपश्चिमेलीहरू धामीझाँक्री पनि डाक्टरकहाँ गएर औषधी–उपचार गराउन थालेपछि उनिहरू पनि उपचार गराउन स्वास्थ्य संस्थामा आउन थालेको दीपायल पिपल्ला स्थित शैलेस्वरी पोलिक्लिनकका निर्देशक आइजंग कुँवरले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘पहिला यहाँका मानिस बिरामी पर्दा खासै अस्पताल तथा डाक्टर कहाँ आउने चलन थिएन गाउँमै धामी झाँक्री खोज्ने चलन थियो,अहिले बिरामी पर्दा धामी नै अस्पताल तथा डाक्टर खोज्न थालेपछि गाउँका बिरामी स्वास्थ्य संस्थामा आउने चलन बढेको छ।’

पछिल्लो समय विभिन्न किसिमका रोगहरू देखापर्न थालेको र देउताकै भर पर्दा ज्याननै खतरमा पर्ने भएकाले आफूहरूले बिरामीलाई अस्पताल तथा डाक्टरकहाँ पठाउने गरेको बोगटान फुड्सिल गाउँपालिका ५ भतालीका स्थानीय तथा धामी देवबहादुर बोहराले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘सुदूरपश्चिममा धामी तथा देउताप्रति आस्था र विस्वास नभएको चाहिँ होइन स्थानीयले विस्वास गर्छन तर सबै बिरामी देउताले निको पार्न नसक्ने भएकाले बिरामीको अवस्था र उसलाई लागेको रोगको बारेमा बुझेर हामी अस्पताल जाने सल्लाह दिने गर्छौं।’

प्रतिक्रिया दिनुहोस्