निवेदन दिएर बच्चा पाएपछि भट्टराई दम्पती खुसी



बासुदेव शर्मा, जाजरकोट।भेरी नगरपालिका १३ डाँगीमारे सामुदायिक वनमा बेवारिसे अवस्थामा रहेको शिशुलाई पालन पोषणको लागि कृष्ण भट्टराई दम्पतीलाई हस्तान्तरण गरिएको छ।

आफ्ना सन्तान नभएकाले पालनपोषणको लागि दिएको निवेदनअनुसार सरोकारवालाले हस्तान्तरण गरेपछि भट्टराई दम्पती खुसी भएका छन्।

गतभदौ २२ गते भेरी नगरपालिका १३ कुदु स्थित डाँगीमारे सामुदायिक वनमा बेवारिसे अवस्था फेला परेको शिशुलाई नेपाल प्रहरीले उद्धार गरी जिल्ला अस्पताल पुर्याएको थियो।

स्वास्थ्य अवस्था सुधार भएपछि शिशुलाई पालन पोषण गर्नको लागि भेरी ४ का कृष्ण भट्टराई दम्पतीलाई हस्तान्तरण गरिएको हो।

गाउँपालिका नगरपालिका भित्र बेवारिसे अवस्थामा फेला परेका बालवालिका उद्धार गर्नेे जिम्मेवारी स्थानीय सरकारको भएकाले भेरी नगरपालिकाले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६० ले गरेको व्यवस्थाअनुसार भेरी नगरपालिकाका उपप्रमुख भावना भण्डारीको संयोजकत्वमा बसेको सरोकारवालाको बैठकले कृष्ण भट्टराई दम्पतीलाई पालन पोषण गर्न सिफारिस गरेको हो।

सरोकारवालाको सिफारिसअनुसार भट्टराईलाई शिशु हस्तान्तरण गरेको भेरी नगरपालिकाका कानुनी सल्लाहकार प्रकाशकुमार शाहीले बताउनु भयो।

धर्मपुत्रको लागि कानुनी मान्यता दिने अधिकार जिल्ला अदालतलाई भएकोले मुलुकी देवानी संहिता २०७४ को परिच्छेद ८ ले गरेको व्यवस्थाअनुसार धर्मपुत्र बनाउन नगरपालिकाको सिफारिसमा जिल्ला अदालतले कानुनी मान्यता दिने कानुनी सल्लाकार शाहीले बताउनु भयो।

धर्मपुत्र बनाउनको लागि जिल्ला अदालत जाजरकोटले कृष्ण भट्टराईलाई आवश्यक प्रक्रिया पूरा गरी आएपछि धर्मपुत्रको लागि प्रमाणीकरण गर्ने भएको छ।

‘बालबालिका सम्बन्धी ऐन २०७५ ले पहिलाको जिल्ला बालकल्याण समिति खारेज भइसकेको छ भने बालबालिका सम्बन्धी ऐन २०७५ लाई कार्यन्वय गर्न हालसम्म भेरी नगरपालिकाले बालबालिका सम्बन्धी निमावली निर्माण गर्न सकेको छैन’ शाहीले भन्नुभयो।

बालबालिका सम्बन्धी निमावली निर्माण नगरेकोले भेरी नगरपालिका उपप्रमुख भावना भण्डारीको संयोजकत्वमा पहिलेको बालकल्याण समितिका संयोजक प्रमुख जिल्ला अधिकारी जिल्ला प्रहरी कार्यालयका प्रमुख, महिला तथा बालबालिका कार्यालय, जिल्ला अस्पतालका प्रतिनिधिको समितिले शिशुलाई भट्टराईलाई जिम्मा दिने निर्णय गरेको हो।

धर्मपुत्र बनाउन पाऊँ भनी दिएका निवेदनमा सरोकारवालाको बैठकले धर्मपुत्र बनाउन कृष्ण भट्टराईलाई दिने निर्णय गरेको थियो।

बालबालिका सम्बन्धी ऐनले विवाह गरेको १० वर्षसम्म बच्चा नभएका विवाह दर्ता गरेका, आर्थिक अवस्था बलियो भएकालाई धर्मपुत्र बनाउन सिफारिस गर्ने व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस्