डेंगु संक्रमणबाट बच्न एक हप्ते सचेतना अभियान



बीरबहादुर बम, मुगु।मुगुमा डेंगु रोगको संक्रमण हुन नदिन सचेतना अभियान थालिएको छ। गृह मन्त्रालयको निर्देशनअनुरुप जिल्ला प्रहरी कार्यलय मुगुको आयोजनामा प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत डेंगु रोगको संक्रमणबाट बच्न एक हप्ते सचेतना अभियान थालिएको जिल्ला प्रहरी कार्यलय मुगुले जनाएको छ।

जिल्लाका सरोकारवाला निकायसँग छलफल गरी एक हप्ते डेंगु रोगको संक्रमणबाट बच्न सचेतना अभियानको कार्यक्रम गर्ने निर्णयसमेत गरिएको प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद शाहले जानकारी दिनुभयो।

उहाँका अनुसार जिल्ला अस्पतालको समन्वयमा र जिल्लाका सरोकारवाला निकाय स्थानीय तहको सहयोगमा एक हप्ते डेंगु रोगको संक्रमणबाट बच्न सचेतना अभियान विभिन्न कार्यक्रम गरी प्रभावकारीरूपमा अगाडि बढाइने जिल्ला प्रहरी कार्यलय मुगुले जनाएको छ।

डेंगु रोगको नियन्त्रण तथा रोगथामका लागि बजार ,गाउँ टोलमा सरसफाइ ,विद्यालयमा विद्यार्थीलाई डेंगु रोगका बारेमा जानकारी र बच्ने उपाय, प्रभातफेरी, झाडी फडानी, स्थानीय सञ्चार माध्यमबाट डेंगु रोगका बारेमा सन्देश प्रसारणलगायत सडक नाटक गरी सचेतना अभियान गरिने र लार्भा नस्टको लागी स्प्रे छकिर्ने डीएसपी शाहको भनाइ छ ।

सर्वसाधारणलाई डेंगुको संक्रमणबाट जोगाउने पहिलो उपाय सचेतनाका कार्यक्रम भएकाले सचेतना अभियान थालिएको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिनुभयो।

यसका लागि सबैले आआफनो क्षेत्रमा सचेतना फैलाउन र डेंगु रोगको संक्रमण बाट बच्ने उपायाका बारे थाहा नपाएकालाई जानकारी दिन प्रजिअ घिमिरेले अनुरोध गर्नुभएको छ।

यसैबीच मुगुमा अहिलेसम्म डेंगु रोगका बिरामी नभेटिएको जिल्ला अस्पताल मुगुका चिकित्सक निर्मल नगरकोटीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्