‘विचार प्रवाह’ सार्वजनिक



नेपाल समाचारपत्र, काठमाडौं। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वामी सत्यदेवज्यूद्वारा रचित ‘विचारप्रवाह’ नामक आध्यात्मिक ग्रन्थको एक बृहत् समारोहका बीच सार्वजनिक गर्नुभएको छ।

उक्त ग्रन्थको सम्पादन प्राडा कृष्णचन्द्र शर्माले गर्नुभएको हो भने अतिथि सम्पादकका रूपमा कवि ठाकुर शर्मा भण्डारी रहनुभएको छ।

दायित्व वाङ्मय प्रतिष्ठानद्वारा प्रकाशित उक्त ग्रन्थको लोकार्पण गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भन्नुभयो– ‘पूर्वीय सभ्यता विश्वकै पहिलो सभ्यता हो।

यसकै जगमा टेकेर पश्चिमी राष्ट्रहरूले आफ्नो सभ्यता र संस्कृतिको विकास गरेका हुन्। पाश्चात्य मुलुकले वैदिक पद्धतिलाई व्यवहारमा ल्याए तर हामीले ल्याउन सकेनौं र पछि पर्यौं।’

‘पूर्वीय जगत्मा हुर्केको आध्यात्मिक दर्शनलाई बुझेर व्यवहारमा ल्यायौं भने देश समृद्धिको दिशातिर जान्छ र आध्यात्मिक विकास पनि हुन्छ। स्वामी सत्यदेवले दिन खोजेको सन्देश यही नै हो।’ –ज्ञवालीले बताउनुभयो।

स्वामीको व्यक्तित्व र कृतित्वमाथि स्वामी ईश्वरानन्दज्यू र स्वामी सत्यदेवका शिष्य ८७ वर्षीय अरविन्द रिमालले विषद् चर्चा गर्नुभएको थियो भने कृतिको महत्वबारे सम्पादकद्वय प्राडा कृष्णचन्द्र शर्मा र ठाकुर शर्मा भण्डारीले आ–आफ्ना अभिव्यक्ति दिनुभएको थियो।

दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा किस्ट कलेजका निर्देशक श्री इन्द्र सुवेदी र कवि यादव भट्टराईले पनि कृतिको औचित्यमाथि आफ्नो विचार व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्