ट्राफिक स्वयंसेवक परिचालन अभियान



नेपाल समाचारपत्र, काठमाडौं।राजधानीमा बढ्दो ट्राफिक जामलाई न्यूनीकरण गर्न ट्राफिक प्रहरीले नयाँ अभियानको शुरुआत गरेको छ।बढ्दो सवारी साधनको संख्या, सीमित सडक र प्रविधिको अभावका कारण ट्राफिक प्रहरीको एक्लो प्रयासले मात्र ट्राफिक व्यवस्थापन गर्न असहज हुन थालेपछि महाशाखाले ट्राफिक स्वयंसेवक परिचालन शुरू गरेको छ।

उक्त अभियानको गृहमन्त्री रामबहादुर थापाले आइतबार शुरुआत गर्नुभयो। उहाँले अभियानलाई सीमित समयका लागि मात्र नभएर वर्षभरि नै सञ्चालन गर्न आग्रह गर्नुभयो।

उहाँले युवा मुलुकका विकासका सम्भावक भएकाले यस्ता कार्यक्रममा युवाको सहभागिता ज्यादै महत्वपूर्ण हुनेसमेत बताउनुभयो।मन्त्री थापाले मुलुकलाई समृद्धितर्फ डोर्याउने हो भने युवा परिचालन आवश्यक भएको बताउनुहुँदै सडक दुर्घटनाका कारण मुलुकमा हरेक वर्ष २ हजारभन्दा बढी मानिसले ज्यान गुमाउने गरेकाले दुर्घटना न्यूनीकरणमा ध्यान दिनुपर्ने बताउनुभयो।

ट्राफिक नियम पालना गर्ने अभियान आफूबाटै शुरू नगरे राजधानीको अवस्था भयावह हुने भएकाले हरेक नागरिकले यसलाई अभियानका रूपमा अगाडि लैजानुपर्ने बताउनुभयो।

नेपालमा विकास गतिविधि र तीव्र गतिमा शहरीकरण भइरहेको अवस्थामा विकाससम्बन्धी नीति र योजनालाई पुनर्विचार गर्नुपर्ने उहाँले बताउनुभयो।

नागरिकले समेत ट्राफिक नियमको पालना गरी आफ्नातर्फबाट जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै गृहमन्त्री थापाले जनचेतना अभिवृद्धि गर्नका लागि यो अभियानको शुभारम्भ गरिएको बताउनुभयो।

ट्राफिक व्यवस्थापन सहज नभएमा शान्ति सुरक्षामा समेत खलल पुगी देशमा अस्थिरता सिर्जना हुने भएकाले यस अभियानले देशमा शान्ति सुव्यवस्था स्थापना गर्न योगदान पुर्याउने गृहमन्त्री थापाले बताउनुभयो। ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य हासिल गर्न तथा नेपाल भ्रमण वर्ष सफल पार्नसमेत अभियानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।

महाशाखाले राष्ट्रिय युवा परिषद् तथा यूएन नेपालको संयुक्त आयोजनामा २३ स्कुल कलेज, २ क्लब, १६ यातायात प्रालि, १० जना ख्यातिप्राप्त कलाकार, १२ जना एयरहोस्टेज गरी ५ सय जना परिचालन गरिने भएको छ। शुरूमा १५ दिनसम्म ५ सय ट्राफिक स्वयंसेवक राजधानीका विभिन्न सडकमा सचेतना जगाउन परिचान हुने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम ढकालले जानकारी दिनुभयो।

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अभाव र पीडाका बीच पनि ट्राफिक प्रहरीले राजधानीको सवारी आवागनमलाई व्यवस्थित बनाउने काम गरिरहेको जानकारी दिनुभयो।

सो अवसरमा प्रहरी महानिरीक्षक खनालले नेपाल भ्रमण वर्ष मनाउन गइरहेको सन्दर्भमा पर्यटकहरूको पहिलो नजरमा ट्राफिक प्रहरीको व्यवहार, आचरण, प्रस्तुति, काम गराइ र बोलीले नेपालको अवस्था झल्काउने तथा ट्राफिक प्रहरीले नै राजदूतका रूपमा काम गर्ने बताउनुभयो।

ट्राफिक व्यवस्थापनका लागि सुधारका विभिन्न कामहरू भइरहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले ठमेल तथा पशुपति क्षेत्रमा सहज अवस्था सिर्जना हुँदै गएको र अबका दिनमा ट्राफिक व्यवस्थापनलाई थप सहज बनाउन सडकबत्ती, जेब्राक्रस, आकाशेपुललगायतका पूर्वाधार पर्याप्त मात्रामा विकास गर्नुपर्नेमा जोड दिनुभयो।

मानवीयरूपमा ट्राफिक व्यवस्थापन गर्दा केही त्रुटि हुन सक्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले भन्नुभयो– ‘अबको ट्राफिक व्यवस्थापन गर्ने भनेको पद्धतिले हो, हामी यसतर्फ उन्मुख हुन जरुरी छ र यसको अर्को विकल्प पनि छैन।’

ट्राफिक व्यवस्थापनका लागि विभिन्न करिडोरहरू खोल्ने, नागरिक समाजसँग समन्वय गरी विभिन्न सचेतनामूलक कार्यक्रमहरू गर्ने, ट्राफिक नियम नमान्नेलाई कारबाही गर्नेलगायतका कार्य नेपाल प्रहरीले गर्दै आइरहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले यसका सम्बद्ध पक्षहरू पनि यसप्रति क्रियाशील भई लाग्न जरुरी रहेको बताउनुभयो।

उहाँले एक वर्षमा सवारी नियम उल्लंघन गर्ने ११ लाख सवारी साधनलाई कारबाही गरेको जानकारी दिँदै कारबाहीले मात्रै समस्या समाधान नहुने भएकाले चेतनाको आवश्यकता रहेको बताउनुभयो।
पछिल्लो तथ्याङ्कअनुसार ३४ लाख ४० हजार सवारी साधन मुलुकभर दर्ता भएका छन्।

तीमध्ये ११ लाख ७२ हजार बागमतीमा मात्रै दर्ता भएका छन्। ती सवारी साधन राजधानीमात्रै सञ्चालन हुने गरेका छन्।

एक जना ट्राफिक प्रहरीले राजधानीमा ९ सय सवारी साधन र २ किलोमिटर बाटो हेर्नुपर्ने भएकाले ट्राफिक प्रहरीको संख्या बढाउनुपर्ने आवाज उठेको थियो।

प्रतिक्रिया दिनुहोस्