किन टिक्दैन कलाकारको सम्बन्ध ?



नेपाली फिल्म क्षेत्रबाहिरबाट हेर्दा जति झकिझकाउ र रंगिन छ, भित्र त्यस्तो छैन्। जुन सोचका साथ कलाकारले यो क्षेत्रमा प्रवेश गर्छन्, भित्रीरूपमा उनीहरूले त्यो पाउँदैनन्। नेपाली फिल्म क्षेत्रमा जोडिएका सम्बन्ध टुट्न समय नै लाग्दैन। निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलको सम्बन्ध धेरै टिक्न सकेन।

३ वर्षअघि बिहे गरेर ६ महिनाअघि मात्र शिल्पा र छविले बिहे दर्ता गरेका थिए। यसको अर्थ, छवि र शिल्पा कानुनीरूपमा जोडिएको ६ महिना मात्र भयो।

तर, घरेलु हिंसाको उजुरीबाट शुरू भएको सम्बन्ध अब डिभोर्सको संघारमा पुग्यो। शिल्पा र छविको सम्बन्ध सकिनुमा शंका र उमेर अन्तरले साथ दिएको छ। एकले अर्कालाई गर्ने शंका, उमेरको अन्तरले सोचमा देखिएको फरकपनाले गर्दा उनीहरू अलग हुँदै छन्।

तर, बाहिरीरूपमा एकले अर्कालाई नराम्रो देखाउने खेल ठूलै छ। तर, नेपाली फिल्मका कलाकारको डिभोर्स यस्तो घटना भने नयाँ होइन।

छविले नै अभिनेत्री रेखा थापासँग डिभोर्स गरेका थिए। रेखा र छविको सम्बन्ध पनि १० वर्षमै सकियो। रेखा र छविको सम्बन्ध पनि शंका र उमेर अन्तरमै सकिएको देखिन्छ।

गायिका अन्जु पन्त र गायक मनोजराजको पनि डिभोर्स भयो। यो जोडीमा पनि शंकाले ठूलो स्थान लियो। शंका नै शंका र मनोज र अन्जुको पारिवारिक सम्बन्ध टुट्यो। अन्जुको आँसु सञ्चारमाध्यमका लागि मसला त बन्यो। तर, अन्जु र मनोजले पनि करिअरलाई एकसाथ लैजान सकेनन्।

अभिनेत्री रीमा विश्वकर्माको पनि डिभोर्स भयो। बिहे भएको २ वर्षमै उनको डिभोर्स भयो। रीमाको डिभोर्स हुनुमा पनि शंकाले नै ठूलो हात राख्यो। विदेशमा रहेका उनका पूर्वश्रीमान् र उनी नेपालमा रहँदा शंकाले काम गर्यो र उनीहरू अलग हुन पुगे।

अभिनेत्री प्रियंका कार्की पनि डिभोर्सी हुन्। उनले भने रोचक मैनालीसँग डिभोर्स गरेकी हुन्। रोचक र प्रियंकाले अमेरिकामा नै बिहे गरे। तर, प्रियंका नेपाल आएपछि उनी फिल्ममा बढी व्यस्त भइन्। यसपछि भने उनी र रोचक मिल्न सकेनन्।

दुईले डिभोर्स दिने निर्णय गरे। डिभोर्स भएपछि प्रियंका अब अभिनेता आयुष्मान देशराज जोशीसँग बिहे गर्ने तयारीमा छिन्। अभिनेत्री सञ्चिता लुइँटेलको पनि पहिलो बिहे डिभोर्समा टुट्यो। अभिनेता आकाश शाह र अभिनेत्री सञ्चिताबीच बिहे भएको थियो।

तर, आकाश र सञ्चिताको बिहे लामो समय टिक्न सकेन। बिहेलाई अघि बढाउन नपाएपछि दुईले अलग हुने निर्णय गरे।

अभिनेत्री सञ्चिताले आकाशसँग वैवाहिक सम्बन्ध टुटेको केही वर्षपछि अभिनेता निखिल उप्रेतीसँग बिहे गरिन्। गायक धीरज राई र नायिका छुल्ठिम गुरुङको वैवाहिक सम्बन्धमा पूणैविराम लागेको हो।

डिभोर्स गरेरै दुई जना छुट्टिएका थिए। नेपाली सिनेमामा डिभोर्स गर्ने कलाकारको संख्या लामो छ। शिव श्रेष्ठदेखि राजेन्द्र खड्गीसम्मले डिभोर्स गरेर अर्को बिहे गरे।

विवाहको कुरामा अभिनेता भुवन केसी र अभिनेत्री सुस्मिता केसी पनि छन्। यी दुईले पनि प्रेम गरेरै बिहे गरे। तर, लामो समयको वैवाहिक सम्बन्ध अलग भयो।

यी दुईको सम्बन्धमा पनि शंकाले नै बढी काम गर्यो। कलाकारको वैवाहिक सम्बन्ध अलग हुनुमा शंकाले ठूलो काम गरेको छ।

विशेष गरी, घर छाडेर लामो समयसम्म छायांकनमा व्यस्त हुनुपर्ने, पुरुष वा महिला कलाकारसँग हिमचिम हुनुपर्ने आदि कारणले गर्दा पनि कलाकारको सम्बन्ध बिग्रिएको छ।

यसैले कलाकारको घर लामो समयसम्म टिक्दैन पनि भनिन्छ। धेरै कलाकारको यो खालको खबरले विशेष गरी सिनेमा क्षेत्रमा कलाकार हुनका लागि आफ्ना छोराछोरीलाई भित्र्याउने वर्गको संख्या कम देखिएको हुन्छ। आखिर के कारणले हुन्छ डिभोर्स भन्ने त कसैले पनि बुझेको छैन।

– कमला बास्तोला,
चावहिल, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्