दिशाहीन नेपाली युवा



जनार्दन घिमिरे

मान्ने हो भने फरक परिभाषा आउन सक्ला तर स्वभाव र विशेषतालाई आधार मान्ने हो भने सक्रिय उमेर भएका अर्थात् ऊर्जाशील उमेरका मानिसलाई युवा भन्न सकिन्छ। राष्ट्रिय योजना आयोग र युनिसेफले संयुक्तरूपमा गरेको अध्ययनअनुसार नेपाल अहिले सक्रिय जनसंख्या (काम गर्ने उमेरका) बढी भएको मुलुकमा पर्दछ।

युवा कहिल्यै पलायनवादी वा समर्पणवादी हुन सक्दैन, न त उसले कसैसित स्वाभिमान वा आत्मसम्मान विपरीत सम्झौता नै गर्छ। तर कुल जनसंख्याको ठूलो हिस्सा ओगटेको नेपालका वर्तमान युवाहरूमा यी लक्षण देखिँदैन। मानौं, यो युवाविहीन देश हो। जुन देशमा जीवन्त युवाहरूको उपस्थिति रहन्छ त्यो देशमा यति भ्रष्टाचार, चाकडीपन, अन्याय, पछौटेपन अनि शासकहरूको यति मनोमानी हुनै सक्दैन।

आश्रितभन्दा उत्पादनशील जनसंख्या बढी भएको यो अवस्था न इतिहासमा कहिले थियो, न भविष्यमा कहिले हुनेछ। प्रतिवेदनअनुसार नेपालमा अहिले उत्पादनशील अर्थात् १५ देखि ६४ वर्ष उमेर समूहको जनसंख्या ६२.६८ प्रतिशत रहेको छ।

सन् १९९२ देखि शुरू भएको यो अवधि सन् २०४७ सम्म अर्थात् ५५ वर्षको रहने र त्यसपछि यसको घट्दोक्रम शुरूहुने भन्ने कुरापनि प्रतिवेदनमा प्रक्षेपण गरिएको छ।

कुनैपनि मुलुकको लागि यो अवस्थाको जनसंख्या भनेको विकासको फड्को मार्न स्वर्णिम अवसर मानिन्छ भने त्यसलाई सही सदुपयोग गर्न नसक्दा हिंसा, आपराधिक गतिविधि बढ्नुकोसाथै मुलुक गृहयुद्धमा जान सक्ने सम्भावनासमेत रहन्छ।

सिंगापुर, हङकङ, दक्षिण कोरिया, मलेसिया, जापानजस्ता मुलुकहरूले यस्तै अवधिमा रहँदा जनसांख्यिक लाभमार्फत मुलुक समृद्ध बनाएका उदाहरणहरू भएतापनि नेपालले भने विगत २७ वर्षको यो अवधिलाई देश निर्माणमा प्रयोग गर्न सकेको देखिँदैन।

युवाको विशेषता नै हो कि ऊ टुट्न सक्छ तर झुक्न सक्दैन, जो मेटिन सक्छ तर गलत सहन नसक्ने भावना र चेतना हुनु नै युवाको पहिचान हो। परिवर्तन चाहने, जिन्दगीलाई नयाँ दिशा तथा उचाइमा लान प्रयत्नशील आकांक्षा राख्नु नै युवा हुनुको लक्षण हो।

अतः युवा कहिल्यै पलायनवादी वा समर्पणवादी हुन सक्दैन, न त उसले कसैसित स्वाभिमान वा आत्मसम्मान विपरीत सम्झौता नै गर्छ। तर कुल जनसंख्याको ठूलो हिस्सा ओगटेको नेपालका वर्तमान युवाहरूमा यी लक्षण देखिँदैन। मानौं, यो युवाविहीन देश हो।

जुन देशमा जीवन्त युवाहरूको उपस्थिति रहन्छ त्यो देशमा यति भ्रष्टाचार, चाकडीपन, अन्याय, पछौटेपन अनि शासकहरूको यति मनोमानी हुनै सक्दैन।

नयाँ रोजगारीका अवसरको त कुरै छाडौं, मित्र राष्ट्रहरूले सहयोगस्वरूप बनाइदिएका उद्योगहरू पनि कमिसनका लागि धमाधम बेचेर सकाइँदैछ अनि युवाहरूलाई बेचिएको शैलीमा विदेशिन बाध्य बनाइँदै छ।

अलि बढी पूँजी लगानी गरेर गर्नुपर्ने व्यवसायको त कुरै छाडौं, सानो लगानीबाट प्रशस्त आयआर्जन हुने किसिमका कामहरूमा समेत आफ्नो देशका युवाहरूको उपस्थिति साह्रै न्यून देखिन्छ, जसले गर्दा यस किसिमका कामहरूबाट समेत नेपालबाट ठूलो धनराशि बाहिरिने गरेको छ।

भारतजस्तो विशाल जनसंख्या भएको मुलुकमा भित्रने रेमिट्यान्समा नेपाल सातौं नम्बरमा पर्दछ भनेपछि नेपाल भित्रने भन्दा बाहिरिने रकमको धनराशि कति बढी छ भन्ने प्रस्टहुन्छ।

यति मात्र होइन, विभिन्न कामका लागि आउने यस्ता व्यक्तिहरू यतै घरजम गरेर बस्ने गर्नुले समेत यसका असरहरू देखिन थालिसकेका छन् र पनि शासकहरू आफ्नो देशका युवाहरूलाई सीपमूलक तालिम दिएर देशभित्रै रोजगारीको अवसर दिनुको सट्टा सस्तोमा युवाहरूलाई विदेश पठाउने तारतम्य मिलाउनमै मस्त देखिन्छन् र कुनै देशले आफ्नो आवश्यकताको लागि सस्तो ज्यालादरमा कामदार लगिदिँदा त्यसैमा आफ्नो सफलता देख्दैछनन्।

आ.व. २०७५/०७६ मा मात्र ५ लाख ८ हजार युवाहरू रोजगारीका लागि विदेशिएका छन्भने असुरक्षित वातावरण तथा जोखिमपूर्ण कामकोकारणले ७८३ जनाले त बिरानो भूमिमा ज्याननै गुमाएको तथ्यांक सार्वजनिक भएको छ।

पछिल्लो समय नेपाल यस्तो मुलुक भएको छ, जहाँका सामुदायिक विद्यालयहरूमा बालबालिकालाई राष्ट्रिय झन्डाभन्दा पहिले पार्टीका झन्डा चिनाइन्छ र मुलुकभन्दा पहिले पार्टी।

शैक्षिक संस्थाहरूमा विषयगत ज्ञान, इमानदारिता, नैतिकता र भाइचाराभन्दा बढी एक–अर्काविरुद्ध लड्न, जालझेल गर्न, बन्द–हडताल गर्न तथा शक्ति प्रदर्शन गर्न सिकाइन्छ।

विद्यार्थीहरूको हकहितका लागि भनी गठन गरिएका विद्यार्थी संगठनका पदाधिकारीहरू बिहानै आ–आफ्ना पार्टीका नेताहरूलाई सलाम बजाउन पुग्दछन् र उतैको आदेशबमोजिम कहाँ तोडफोड गर्नुपर्ने हो, कता तालाबन्दी गर्नुपर्ने हो, कसलाई कालोमोसो दल्नुपर्ने हो वा कसका विरुद्ध नाराबाजी गर्नुपर्ने हो, सुपारी लिएर फर्कन्छन् र शैक्षिक संस्थाहरू बन्द गराएर आ–आफ्नो संगठनका युवाहरूलाईत्यसैमा परिचालन गरिरहेका हुन्छन्, सुन्दर भविष्यको सपना बोकेर ज्ञान हासिलगर्ने उद्देश्यका साथ शैक्षिक संस्थामा भर्ना भएकाहरू उनीहरूका अगाडि निरीह देखिन्छन् र लुरुलुरु घर फर्कन्छन्।

अलि उमेर भएका कुनै मानिसले भिख मागेको वा चोरी गरेको देख्यौ भने हाम्रो मुखबाट फुत्त निस्कन्छ, यस्तो गरेर खानसक्ने हुँदाहुँदै यस्तो कामगर्न लाज लाग्दैन भनेर।

तर हाम्रा युवा अझ भन्ने हो भने मै हुँ भन्ने युवा जसले विभिन्न पार्टी आबद्ध युवा संगठनहरूको नेतृत्व गरिरहेका देखिन्छन्, तिनीहरूले त धम्काएर होस् कि अनुनय विनय गरेर, मागेर नै विलासितापूर्ण जीवन बिताइरहेको देखिन्छ।

नातावाद, कृपावाद, धनवाद र डनवादबाहेककाहरूको राजनीति विद्यार्थी संगठनबाट नै भएको देखिन्छ तर कुनै यस्तो क्याम्पस वा विश्वविद्यालय नहोला जहाँको विद्यार्थी संगठनमा भ्रष्टाचार नभएको होस्।

कतिपय नेताहरूले भन्ने गरेको सुनिन्छ, हामी सात सालदेखि लड्दै आएका हौं र अबपनि लड्न तयार छौं भनेर। तर केका लागि र कसका विरुद्ध लडेको हो भन्ने कुरा ऊ युवा अवस्थामा हुँदा ऊ स्वयंलाई न त हिजो थाहा थियो, न त आजका युवा पुस्तालाई नै थाहा छ।

किनभने हिजोका दिनमा ऊ स्वयं कहिले लडेन, उसलाई त लडाइएको थियो। आजपनि अर्को पुस्तालाई त्यसैगरी लड्न उकासिँदै छ।

यदि संघर्ष सत्य, इमानदारिता, न्याय, सुन्दर भविष्य तथा थिति बसाल्नको लागि हुन्थ्योभने त्यसको लागि पटकपटक संघर्षको आवश्यकता नै पर्ने थिएन। एकपटकको संघर्षमा नै प्राप्त हुने थियो। तर यहाँ त नेपाली युवा हरहमेसा सत्ता प्राप्तिको निम्ति नेताहरूबाटप्रयोग भए र भइरहेका छन्।

जसलेगर्दा हरेक पुस्ताको ऊर्जाशील युवा अवस्था संघर्षमै जाने गरेको देखिन्छ र अझ यो क्रम चलिरहने नै देखिन्छ। किनकि सबै दलका नेताहरू कुनैपनि अवस्थामा एकै पटक सत्तामा पुगेर मनोमानी गर्ने सम्भावना कहिल्यै हुँदैन।

कहिले राणाविरुद्ध, कहिले निर्दलीय पञ्चायतविरुद्ध, कहिले राजाको शासनविरुद्ध अनि कहिले दलीय शासनविरुद्ध भन्दै युवाहरूलाईसधैँलडाइरहँदा समेत त्यसबाट प्राप्त उपलब्धिहरूले मुलुकलाई सकारात्मक परिणाम दिन सकेन। किनकि ती सबै लडाइँहरू फगत सत्ता प्राप्तिका लागि थिए।

एउटाले यो वेश्याहरूको देश हो भन्छ, अनि अर्को झुन्ड नेपाली झन्डा जलाउने र नेपाली टोपी जुत्ताले किल्चेर मिल्काउने गर्छ। त्यो देख्दा युवाहरू जुर्मुराउँदैनन् बरु नदेखेझैँ गर्छन्। आङ नै जिरिंग हुने बलात्कार र आपराधिक घटनाको योजनाकारहरू अनि ठूला–ठूला भ्रष्टाचारमा संलग्न रहेकाहरू खुलेआम घुमिरहेको देख्दा युवा रगत तात्दैन, न त विरोधका कुनै स्वर निस्कन्छ।

किनभने, कि त ती कार्यमा उनीहरू सम्बद्ध दलका नेताहरूको नै संलग्नता देखिन्छ, कि त तिनका नेताहरू त्यस्ता अपराधीहसँग बार्गेनिङ गरिरहेका हुन्छन्। यसले गर्दा उनीहरूलाई विरोध गर्ने अधिकार नै प्राप्त भएको हुँदैन।

हरेक कालखण्डमा यहाँका एकथरी पढेलेखेका भनिएका युवाहरूको यथार्थ यही हो, जसको युवा अवस्था कि त चाकडीमा बित्छ,कि त आदेशको पालना गर्नमा, विवेकको प्रयोग यिनीहरूबाट कहिल्यै हुँदैन।

अर्काथरी युवा पलायनवादी वा समर्पणवादी छन्, जो या त स्कूल नसकिँदै विदेश पलायन हुने योजना बनाउन थाल्छन्, या त जे–जस्तो अन्याय अत्याचार भए पनि चुपचाप सहेर रहन्छन्। मानौं, केही भएकै छैन। यस्ता युवाहरूले राजनीतिमा खासै चासो राखेको देखिँदैन, उनीहरूलाई देख्दा यस्तो लाग्छ कि मुलुक बिग्रोस् वा सप्रोस्, त्यो उनीहरूको चासो र सरोकारको विषय नै होइन।

गोरखा फुजेल हत्याकाण्ड होस् कि निर्मला काण्ड, यिनीहरूलाई कुनै संवेदनाले छुँदैन। कमिसनका लागि इन्धन अभाव गराइन्छ, यी राति १२ बजे पेट्रोल पम्पमा लाइन बस्न पुग्छन्, कमिसनकै लागि मुलुकलाई वर्षौंसम्म अँध्यारोमा राखिन्छ। यी अँध्यारोमा नै बस्न तयार भए, कमिसनकै लागि मेलम्ची पर धकेलिँदैछ।

यी विनापानी बस्न तयार छन्, क्षमतावान् हुँदाहुँदै यिनीहरूले पाउनुपर्ने अवसर खोसेर अर्को निकम्मालाई दिइन्छ तर यिनीहरू विरोधमा चुँसम्म बोल्दैनन्।

भ्रष्ट र नैतिकहीन राजनीतिज्ञ निर्वाचित गर्ने जनता पीडित होइनन्, मतियार हुन् भनेर विश्वप्रसिद्ध साहित्यकार जर्ज अर्वेलले भनेजस्तै यस किसिमका युवाहरूले पनि जानेर वा नजानेर, चाहेर वा नचाहेर भ्रष्टाचारी वा अपराधीलाई नै प्रोत्साहित गरिरहेका छन्, जसले गर्दा मुलुक अगाडि बढ्न सकिरहेको छैन।

सही थियो वा गलत, त्यो त समयले नै बताउला तर पछिल्लो समय शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा जसरी स्वतस्फूर्तरूपमा युवाहरू सडकमा उत्रिएर सिंगो मुलुकमा तरंग ल्याए, त्यसरी नै मुलुकको विकृतिविरुद्धको नेतृत्व युवाहरूले नगरेसम्म मुलुक अगाडि बढ्न नसक्ने र भ्रष्ट तथा नैतिकहीन राष्ट्रघातीहरूको बोलवाला देशमा चलिरहने निश्चित छ।

 

 

 

प्रतिक्रिया दिनुहोस्