बर्षेनी खेतीयोग्य जमिन घट्दै



सिन्धुली, (नेस)। धान उत्पादनको हिसाबले सिन्धुलीको माढी बजारको फाँट, तीनपाटन फाँट, दुधौली फाँट र मरिण फाँट उर्वर भूमिका रूपमा रहेको छ। तर, यही उर्वर फाँटमा अहिले धमाधम घरहरू बनी रहेका छन्।

बजारको फाँट, तीनपाटन फाँट, दुधौली फाँट र मरिण फाँटलगायतका खेतीयोग्य जमिनमा अहिले धमाधम घर निर्माण भइरहेका छन्।

खेतीयोग्य जमिनमा धमाधम घर बन्ने क्रम बढिरहँदा पनि जिल्लाका सरोकारवाला निकायले यसलाई रोक्न खासै ध्यान दिएको देखिँदैन।

करिब पाँच वर्ष अघिसम्म सिन्धुलीको कमलामाई नगरपालिका–४ को धुराफाँटमा धान, मकै, गहुलगायतका अन्न प्रशस्तै उब्जाउ हुने खेतीयोग्य जमिन थियो। तर, पाँच वर्ष यता धुराफाँटमा सयौं घरहरू बनेका छन्। दिन प्रतिदिन खेतीयोग्य जमिनमा घरैघर थपिँदै गएका छन्।

पहिला धुरा फाँटले चिनिएको यो ठाउँमा मानिसले धमाधम घर बनाउँदै बस्ती नै बसेपछि अहिले नयाँ नामकरण गरेर बीपी नगर राखिएको छ।

बीपी नगर टोल सुधार समितिका अध्यक्ष मानध्वज भोलनका अनुसार धुराफाँटमा पछिल्लो पाँच वर्षयता धमाधम घर बन्ने क्रम बढेको हो। ‘केही वर्षयता यहाँ घर बनाउनेको त लर्काे नै लागेको छ। कतिपयले अझै बनाउँदै छन्।

खेतीयोग्य जमिनको खण्डीकरण

सिन्धुलीमा खेतीयोग्य जमिनको खण्डीकरण बढ्दै गएको छ। एक वर्षमा जिल्लामा ६ सय ८० कित्ता जमिन टुक्र्याएर ६ हजार ९ सय २१ टुक्रामा विभाजन गरिएको छ।

बढीजसो घडेरीका नाममा खेतीयोग्य जमिन कित्ताकाट भइरहेको नापी कार्यालय सिन्धुलीका प्रमुख सरोज श्रेष्ठले बताउनुभयो। पछिल्लो समय खेतीयोग्य उर्वर जमिनमासमेत बसोबास गर्ने क्रम बढेको छ।

सदरमुकाममै खेतीयोग्य जमिन मासेर सयौं घर निर्माण भएका छन् भने जिल्लामा खेतीयोग्य जमिन बाँझै रहने क्रम पनि बढेको छ। कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार जिल्लामा १३ हजार ९ सय २४ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन बाँझो रहेको छ।

जिल्लामा कुल ६२ हजार ७ सय १३ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको कृषि ज्ञान केन्द्र सिन्धुलीका प्रमुख भरतप्रसाद बिडारीले बताउनुभयो। जसमा ४८ हजार ७ सय ८९ हेक्टर क्षेत्रफल जमिनमा मात्र खेती गरिएको छ।

प्रतिक्रिया दिनुहोस्