हिन्दू र बौद्धमार्गीको साझा तीर्थ मुक्तिनाथ र कागबेनी



दुर्गाप्रसाद शर्मा

सोह्र श्राद्ध र मुक्तिनाथ क्षेत्र

भदौ २८ गतेबाट यस वर्षको पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरू भएको छ। सोह्र श्राद्ध शुरू भएपछि घर–घरमा आफ्ना पितृलाई सम्झने र पिण्ड तथा तर्पण दिने चलन छ। घरमा मात्रै होइन सोह्र श्राद्धमा तीर्थस्थलमा गएर श्राद्ध गर्ने प्रचलन रहेको छ।

सोह्र श्राद्धमा सबैभन्दा बढी हिन्दू धर्मावलम्बीको गन्तव्य भनेको हिमालपारीको जिल्ला मुस्ताङस्थित प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ र कागबेनी रहने गरेका छन्।

यस पितृपक्षमा मुक्तिनाथ मन्दिरमा रहेका १ सय ८ धारामा स्नान गर्ने तथा काली र गण्डकीको संगम कागबेनीमा पितृलाई श्राद्ध गर्नेहरूको भीड लाग्दछ।

मन्दिरको अगाडि रहेका दुईवटा पोखरीमा डुबुल्की मारेर मात्र मन्दिर पस्ने चलन छ। चिसो पानीको धारा र पोखरीमा डुबुल्की मारेपछि दर्शन गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने विश्वास भक्तजनमा व्याप्त छ।

सोह्र श्राद्धमा आफ्ना सात पुस्तासम्मका पितृलाई तर्पण दिने चलन छ। खास गरी सोह्र श्राद्धमा तीर्थस्थलमा भन्दा पनि घर–घरमा नै खीर पकाएर पितृको श्राद्ध गर्नु सबैभन्दा उत्तम हुने धर्मगुरुको मत छ।

तीर्थस्थलमा पुगेर पितृलाई तर्पण दिनका लागि सोह्र श्राद्ध वा पितृको तिथि नै चाहिन्छ भन्ने पनि छैन तर सोह्र श्राद्धमा मुक्तिनाथ र कागबेनीमै पुगेर एकपटक भए पनि आफ्ना दिवंगत पितृको उद्धारका लागि पिण्डदान गर्न नेपाल र भारतका विभिन्न स्थानहरूबाट हजारौं धर्मालम्बी आउने गर्दछन्।

दामोदर कुण्डबाट बगेर आएको काली र मुक्तिनाथका १ सय ८ धाराबाट बगेर आएको गण्डकीको संगम भएकाले यहाँपुगेर पिण्डदान गर्दा सबैभन्दा ठूलो फल मिल्ने कुरा शास्त्रहरूमा उल्लेख छ। बराह पुराण, स्कन्द पुराणलगायतका ग्रन्थमा कागबेनीमा श्राद्ध गर्दा पाइने फलका बारेमा उल्लेख गरिएको छ।

सोह्र श्राद्धलाई ‘महालय श्राद्ध’ पनि भनिन्छ। यसबाहेक सोह्र श्राद्ध, पितृपक्ष, कगंत, जितिया, महालय पक्ष, पितृ पोखो आदि विभिन्न नामले यी पवित्र १६ दिनको पुकारा गरिन्छ। भाद्र शुक्ल पूर्णिमाबाट शुरू भएको यो पक्ष सोह्र श्राद्ध अवधिभरि अर्थात् आश्विन कृष्ण औंशीका दिनसम्म चल्ने गर्दछ।

पितृ पक्षमा पितृहरू पृथ्वी लोकमा आ–आफ्ना सन्ततीका घरमा आएर बस्ने गर्दछन्। घरमा नै पितृको मृत्यु तिथिमा श्राद्ध गरेर बिदाइ गरेपछि औंशीमा कागबेनीमा श्राद्ध गर्दा सबैभन्दा उत्तम हुने कालीगण्डकी सभ्यता र मुक्तिनाथका बारेमा लामो अध्ययन गर्नुभएका स्वामी ऋषि प्रपन्नाचार्य बताउनुहुन्छ।

‘तीर्थमा श्राद्ध गर्नका लागि तिथि नै चाहिँदैन, आफ्नो घरमा तिथिमा व्यवस्थितरूपमा श्राद्ध गरेपछि तीर्थमा पुगेर पिण्डदान गर्नु सबैभन्दा उत्तम हुन्छ’, उहाँभन्नुहुन्छ– ‘अहिले एकैदिन तीर्थमा नै तिथिमा श्राद्ध गर्ने चलन पनि बसिसकेको छ।’

वैदिक सनातन हिन्दू संस्कारमा विश्वस्त धर्मपे्रमी समुदाय श्राद्ध महत्वपूर्ण कर्ममध्येको एक भएकाले एकपटक मुक्तिनाथ पुग्नैपर्ने मान्यता राख्दछन्।

दक्षिण भारतबाट बढी संख्यामा हिन्दू धर्मावलम्बी मुक्तिनाथ आउने गरेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि त्यो संख्या उल्लेख्य बढेको छ।

अहिले गुजरात, उत्तर प्रदेश, दिल्ली, महाराष्ट्र, उडिसाबाट पनि धेरै तीर्थालुहरू आउने गरेको मुक्तिनाथका पुजारी कृष्णप्रसाद सुवेदी बताउनुहुन्छ।

मुक्तिनाथसम्बन्धी धार्मिक किंवदन्ती र पितृमोक्ष

पितृपक्षको कुरा गर्दा महाभारतको युद्धसँग कथा जोडिएर आउने गर्दछ। महाभारतको युद्धमा मृत्युवरण गरेका दानवीर कर्णलाई स्वर्गमा भोजनका रूपमा सुन चाँदी वस्त्र आभूषण आदि प्रदान गरियो।

भोजनका लागि वास्तविक खाना नै आवश्यक पर्नेमा किन राजा इन्द्रले उनलाई सुन चाँदी इत्यादि खान दिएको भन्ने कौतुहलमा कर्णले स्वर्गका राजा इन्द्रलाई प्रश्न गर्दछन्।

यसरी आफूलाई यस विषयमा थाहा नभएकाले जीवनकालमा पितृलाई भोजन दान नदिएको बताएपछि १६ दिनका लागि कर्णलाई पृथ्वीमा फिर्ता पठाएको किंवदन्ती नै पितृ पक्षको शुरूआतका रूपमा मानिन्छ।

मुक्तिनाथका पुजारी कृष्णप्रसाद सुवेदीका अनुसार गण्डकी माहात्म्यमा ब्रह्माजी मुक्ति क्षेत्रमा भगवान् विष्णुका नजिक दिव्यवैश्वानर (अलौकिक अग्नि) भएर बसेको भेटिन्छ।

वैदिक सनातन संस्कारमा श्राद्ध दुईपटक गरिन्छ। वर्षमा नियमित श्राद्ध पितृहरूको देहवसान भएको तिथिमा र अर्को श्राद्ध सोह्र श्राद्धको अवधिमा गरिन्छ।

मुक्तिनाथमा भने चैत्र शुक्लपूर्णिमादेखि औंशीसम्म पनि श्राद्धका लागि यस्तै भीड लाग्ने गर्दछ। यसबाहेक अन्य समयमा आउँदा पनि श्राद्ध गर्दै आएको मुक्तिनाथका पुजारी सुवेदीको भनाइ छ।

हिन्दू र बौद्धमार्गीको आस्थाको साझा धरोहर मुक्तिनाथ

मुक्तिनाथ मन्दिर हिन्दू र बौद्धमार्गीको साझा तीर्थस्थल हो। मन्दिरको भित्री भागमा झुमाहरू (बौद्धमार्गी) बस्छन् भने बाहिर हिन्दू पुजारी। तर, पूजा भने वैदिक सनातम धर्मअनुसार नै हुने गर्दछ।

हिन्दू र बौद्ध धर्मावलम्बी एकपटक मुक्तिनाथ पुगेमा मात्र पनि जीवनबाट मुक्ति पाइन्छ भन्ने विश्वासका आधारमा संसारभरबाट मुक्तिनाथ आइपुग्छन्। यसमध्ये भारतीय तीर्थयात्रीको मुक्तिनाथमा ठूलो आकर्षण छ।

मन्दिरको तल्लो भागमा बुद्धको विशाल मूर्ति छ। त्यसको वरिपरि बुद्ध र विष्णुस्वरूप मिश्रित स–साना मूर्ति देख्न सकिन्छ। ती मूर्ति व्यक्तिले आ–आफ्ना नामै लेखाएर टाँसेका छन् । तलदेखि नै मन्दिरको बाटोमा झुमा र पुरोहित दुवैको ओहोर–दोहोर देख्न सकिन्छ ।

बाटोमा भएका दोकानमा पनि कतै रातो अक्षता, फूलपाती त कतै बौद्ध चैत्यमा बाल्ने दियो बेच्न राखेको देखिन्छ। बाटोमा भिक्षु र जोगी पनि उत्तिकै देख्न सकिन्छ। यसले पनि मुक्तिनाथ पुग्ने भक्तलाई साँच्चै मुक्तिक्षेत्रमा आएको भान गराउँछ।

भगवान् विष्णुलाई हिन्दू धर्मालम्बीले मुक्तिदाताका रूपमा विश्वास गर्छन्। भगवान् विष्णुको अत्यन्त प्रिय क्षेत्र भएकाले यसलाई मुक्तिक्षेत्र भनिएको र यस क्षेत्रमा गरिएका श्राद्धादि कर्मद्वारा पितृ मुक्त हुन्छन् भन्ने अवधारणा छ।

यसै गरी बौद्ध धर्ममा भगवान् शाक्यमुनि बुद्धको महापरिनिर्वाणपछि भविष्यका बुद्ध मैत्रेयले जन्म नलिउन्जेलको बीचको अवस्थामा लोकपालनको दायित्व पद्मपाणि बोधिसत्वलाई दिइएको मानिन्छ।

स्वामी प्रपन्नाचार्यका अनुसार यसरी मुक्तिनाथको मन्दिरमा स्थापित मुक्तिनाथको प्रतिमालक्षण र षडाक्षरी लोकेश्वरको प्रतिमालक्षणमा समानता पाइनाले पनि मुक्तिनाथप्रति हिन्दू र बौद्ध दुवैको तादात्म्य स्थापित भएको हो। मुक्तिनाथ यस्तो तीर्थ हो, जहाँहिन्दू र बौद्ध धर्मावलम्बीले साझारूपमा पूजा गर्छन्।

मुक्तिनाथलाई हिन्दू धर्मावलम्बी भगवान् विष्णु मान्छन् भने बौद्धमार्गी आर्यावलोकितेश्वर।यसरी हिन्दू धर्मअनुसार भगवान् विष्णुप्रतिको जगत्को पालन र मुक्तिको अवधारणा तथा बौद्ध धर्मानुसार आर्यावलोकितेश्वरप्रतिको जगत्को पालन र मुक्तिको अवधारणाबीच निकटतम तादात्म्य पाइन्छ।

अर्को कुरा, हिन्दू र बौद्ध मतमा भगवान् विष्णु र आर्यावलोकितेश्वर नाम र रूप अलग–अलग भए पनि ती दुवै मतको जगत्को पालन र जीवको मुक्तिको दार्शनिक चिन्तनको मिलनबिन्दु एउटै भएकाले यो तादात्म्य अझ बलियो भएको हो।

मुक्तिनाथको पूजारी परम्परा, मन्दिरको वास्तुशैली र यस क्षेत्रको तीर्थयात्रामा जाने विभिन्न वर्ग, जात र रङका तीर्थयात्रीबीचको आपसी सहिष्णुता र सहअस्तित्व अनि समन्वयात्मक भाव सबैलाई चकित पार्ने खालको छ।

अनेक संस्कृति, भेषभूषा र भाषाभाषी भएका हिन्दू, बौद्ध, तागाधारी, मतवाली, आर्य, मंगोल आदि सबै वर्ग र क्षेत्रका श्रद्धालु मुक्तिक्षेत्रको तीर्थयात्रामा भेटिन्छन्।

यसरी मुक्तिनाथप्रतिको २ खर्ब हिन्दू र ५ सय अर्ब बौद्धको अवधारणा एक स्थानमा ल्याउन सक्ने, सिमानाले पनि छेक्न नसकेको एक/दुई मात्र हैन, त्रिदेशीय भावनाको मिलन बिन्दु हो, मुक्तिनाथ।

मुक्तिनाथ मन्दिरको अवस्थिति र पहुँचको व्यवस्था

मुक्तिनाथ हिमालपारिको जिल्ला मुस्ताङ जिल्लामा पर्दछ। मुक्तिनाथ मन्दिर झन्डै समुद्र सतहबाट ३ हजार ८ सय मिटरको उचाइमा छ। यहाँअक्सिजन कम हुने हुँदा वृद्ध र शारीरिक व्यायाम नहुनेहरूलाई केही समस्या पर्छ।

तर, घोडाको सुविधा भएका कारण पैदल उकालो लाग्न नसक्नेहरू पनि रानीपौवाबाट घोडाद्वारा मन्दिर पुग्छन्। सडकमार्गबाट जाने तीर्थालुका लागि बेनी, जोमसोम हुँदै कागबेनीसम्म कच्ची सडक छ। कागबेनीदेखि मुक्तिनाथ मन्दिरसम्मको सडक कालोपत्रे गरिएको छ।

यसरी कच्ची बाटोबाट कागबेनीसम्म र त्यहाँबाट पक्कीबाटो हुँदै मुक्तिनाथ पुग्न सकिन्छ। झन्डै एक दशकअघिसम्म मुक्तिनाथमा दर्शन गर्नका लागि तीर्थालु धेरै दिनसम्म पैदल हिँडेरै पुग्थे भने सीमित मात्रै हवाईजहाज र हेलिकोप्टरको प्रयोग गरी मुक्तिनाथ पुग्ने अवस्था थियो।

चामल, तरकारीदेखि ओढ्ने–ओछ्याउनेसम्म बोकेर घर–परिवारका सदस्यका साथ लागेर १५ दिनमा मुक्तिनाथको दर्शन र कागबेनीमा श्राद्ध गरेको रोचक अनुभव बूढापाकाको रहेको छ। पर्वत, बागलुङ, म्याग्दीबाट त एकैदिनमा पनि मुक्तिनाथ पुग्न सकिन्छ।

अर्को दिन श्राद्ध र दर्शनसमेत गरेर रात–साँझ गरी घर फर्कनसमेत सक्छन्। यसले गर्दा पनि अहिले सोह्र श्राद्ध लागेपछि मुक्तिनाथ जानेको ठूलै भीड लागेको छ।

यसपटक बेनी–जोमसोम सडकमा वर्षाका कारण पटक–पटक पहिरो जाँदा यात्रा भने त्यति सहज हुन सकेको छैन। तर, केही दिनदेखि अवरुद्ध सडक सुचारु भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ।

म्याग्दी र मुस्ताङको सिमानामा पर्ने घोप्टेभीरमा पहरो काटेर सडक सुचारु गरिएको छ। कालीगण्डकीले तलबाट सडकमा कटान गर्ने र माथिबाट पहिरो झर्ने भएकाले बर्षेनी घोप्टेभीरमा समस्या आइरहेको छ।

भू–गर्भविद्बाट अध्ययन गराएर उत्तर दक्षिण कालीगण्डकी करिडोर आयोजनाले सडकको दीर्घकालीन समस्या समाधानका लागि पनि प्रयास गरिरहेको छ।

अहिले बन्दै गरेको बेनी–जोमसोम–कोरला कालीगण्डकी करिडोर आयोजना सम्पन्न भएपछि भने तीर्थयात्रुका लागि सबैभन्दा सहज हुनेछ। अर्कोतर्फ पर्वत र कास्कीको सिमानामा पर्ने बिरेठाँटीबाट मुक्तिनाथसम्म विश्वकै सबैभन्दा लामो केवलकार निर्माणका लागि सम्भाव्यतासमेत अध्ययन भइरहेको छ।

यसले गर्दा यो परियोजना सफल भएमा अझै सहज ढंगले यात्रा गर्ने र मुक्तिनाथ क्षेत्र पर्यटकीय तथा धार्मिक आस्थाको विश्वकै अनुपम केन्द्र बन्ने सम्भावना बढाएको छ।


पूजा व्यवस्थापनको पक्ष र त्यसको ऐतिहासिकता

यस मन्दिरको पूजा व्यवस्थापनको पक्ष पनि रमाइलो किसिमको छ। मन्दिरको भित्री भागमा झुमाहरू (बौद्धमार्गी) बस्छन् भने बाहिर हिन्दू पुजारी रहन्छन्।

मन्दिरको ताल्चा, साँचो र संरक्षण झुमाको जिम्मामा रहेको छ भने भगवान् मुक्तिनाथलाई अर्पण गरिएका सबै वस्तु झुमाले पाउँछिन् भने टीका लगाएर दिएको दक्षिणा र गोदान आदिको रकम पुजारीले पाउँछन्।

यहाँविसं १९६१ देखि बाहुन पुजारी राखिएको छ। रणबहादुर शाह मारिएको एक महिना पनि नपुग्दै विसं १८६३ मा उनैकी पत्नी महारानी सुवर्णप्रभाले यहाँआउने तीर्थालुको भोजनको प्रबन्धका लागि धर्मशाला बनाएर २ हजार ५ सय ३० मुरी माटोको गुठी राखिदिएकी थिइन्।

त्यसको आम्दानीबाट ब्राह्मण, संन्यासी, अतिथि, अभ्यागत र माग्नेलाई एकपटकमा दुई माना चामल, पाँच मुठी दाल, चार तोला नुन, चार तोला घ्यू, दुई मासा हर्दी र दाउरा दिनु भन्ने उल्लेख थियो।

कालीगण्डकीको सभ्यता संरक्षणमा लाग्नुभएका स्वामी प्रपन्नाचार्य मुक्तिनाथका सहायक पीठाधीश पनि हुनुहुन्छ। कागबेनीमा पिण्डदान गर्ने कार्यलाई सुव्यवस्थित गर्ने प्रयासपनि भइरहेका छन् तर पछिल्लो समय गाउँपालिकाले पण्डितसँग १ लाख रुपियाँमाग गरेका कारण समस्या उत्पन्न भएको छ।

कालीगण्डकी सभ्यता र संग्रहालय

सन् १९८५ तदनुसार २०४२ सालमा यस क्षेत्रमा नवपाषाण हतियार भेट्टाइएको थियो। त्यस बखत भेटिने अहिले पनि पाइने कतिपय शालिग्राममा पनि ढुंगेचित्र पाइन्छ । यसबाट त्यस बेला यहाँमानव बसोबास भएको पुष्टि हुन्छ।

धार्मिक, ऐतिहासिक र पर्यटकीय हिसाबले महत्वपूर्ण मानिने कालीगण्डकी नदी र यसको सभ्यता पछिल्लो समय संकटमा छ। कालीगण्डकीकिनारको ‘कालीगण्डकी सभ्यता’ का बारेमा जानकारी दिन धेरै पुस्तक लेखिए। धेरै ऋषिमुनीले तपस्यासमेत गरे।

पछिल्लो समय अतिक्रमणका कारण संकटमा परेको कालीगण्डकीको सभ्यता र लोप हुँदै गएका शालिग्रामका बारेमा भावी पुस्तालाई जानकारी दिन सुरुङ खनेर कालीगण्डकी सभ्यता र शालिग्राम संरक्षण गर्न थालिएको छ।

दामोदर कुण्डदेखि त्रिबेणीधामसम्मको कालीगण्डकी नदी र सहायक नदी तथा तीर्थस्थलको बारेमा एकै थलोमा देख्न सकिने गरी संग्रहालयलाई व्यवस्थापन गरिएको छ।

मुक्तिनाथ भएर बगी आउने कालीगण्डकीका अन्य वैष्णव तीर्थमा कागबेनी, गलेश्वरधाम, बेणी, रूरूक्षेत्र, राम्दीघाट, हुंगीघाट, खोरीघाट, केलादीघाट, रामपुर, देवघाट आदि छन्। यस नदीले उत्खनन गर्ने शालिग्रामको महत्व पनि उत्तिकै छ।

जालन्धरकी पत्नीको श्राप पाएर ढुंगोमा शालिग्राम बनेका विष्णुको यस रूपबारे स्कन्दपुराण, शिवपुराण, पद्मपुराणमा चर्चा छ। आठौं शताब्दीमा शंकराचार्यले पनि शालिग्रामको पूजा गर्ने गरेको प्रसंग छ भने बराह पुराणमा चन्द्रमाले श्रापबाट मुक्त हुनका लागि शालिग्राम क्षेत्रमा शिवलिंग स्थापना गरेर बसेको उल्लेख छ।

कालीगण्डकी किनारमा पर्ने बागलुङ नगरपालिका–४ कुडुलेमा कालीगण्डकी नदीको सभ्यता देखाउन सुरुङभित्र भूमिगत संगहालय निर्माण गरिएको छ।

सुरुङमा उत्तरी मुस्ताङको दामोदर कुण्डदेखि दक्षिणमा नवलपरासीको त्रिबेणी मोक्ष धामसम्मको कालीगण्डकी नदीकिनारको सभ्यता र शालिग्रामको महत्व देखाउने उद्देश्य राखिएको छ।

स्वामी ऋषि प्रपन्नाचार्यको परिकल्पनाअनुसार करिब ४ सय मिटर लामो सुरुङ निर्माण गरिएको छ भने संग्रहालय निर्माणको काम अन्तिम चरणमा छ।

स्वामी प्रपन्नाचार्यका अनुसार सुरुङभित्र पसेपछि एकै थलोमा कालीगण्डकी नदी, शालिग्राम र धार्मिक महत्वका बारेमा राम्रोसँग ज्ञान लिन सकिनेछ। त्य

सै गरी शालिग्राम र शालिग्रामको चक्रका विषयमा गुरु श्रीधर आचार्यमा धेरै ज्ञान रहेको र उहाँको पृष्ठभूमि, उहाँले प्रकाशित गरेका लेख–रचनाको राम्रोसँग अध्ययन गर्न सकिनेछ।

श्रीधर आचार्यबाटै प्रभावित भएर मुक्तिनाथ र ऋषि गण्डकी तथा शालिग्रामको महत्व, प्रचार र संरक्षणमा लागेको प्रपन्नाचायको भनाइ छ।

भूमिगत संग्रहालयमा भगवान् विष्णुको मन्दिरसँगै ध्यानस्थल तथा सभाहल निर्माण गरिएको छ। उक्त हलमा बसेर अवलोकनकर्ताले शालिग्राम र कालीगण्डकी नदीको विषयवस्तुसँग सम्बन्धित फिल्म, डकुमेन्ट्री हेर्न सक्ने शालिग्राम संग्रहालय अध्यक्ष ऋषि प्रपन्नाचार्यले जानकारी दिनुभयो।

भूमिगतरूपमा बनेको यो संग्रहालय संसारकै पहिलो हुने पनि प्रपन्नाचार्यको दाबी छ। संग्रहालयमा राख्नका लागि ठाउँ–ठाउँमा अहिले शालिग्राम संकलन गर्ने काम भइरहेको छ। सानो आकारको शालिग्रामदेखि ५ हजार किलोसम्मका शालिग्राम यहाँराखिने भएको छ।

प्रतिक्रिया दिनुहोस्