२७ जनालाई प्रेस काउन्सिल पुरस्कार



नेपाल समाचारपत्र, काठमाडौं।प्रेस काउन्सिल नेपालले २७ जनालाई विभिन्न पुरस्कार दिने निर्णय गरेको छ।
काउन्सिलको बोर्ड बैठकको निर्णय सार्वजनिक गर्दै काउन्सिलका सहप्रशासकीय अधिकृत एवं सूचना अधिकारी दीपक खनालले सोको जानकारी दिनुभएको हो।

उहाँद्वारा आइतबार जारी विज्ञप्तिका अनुसार यस वर्ष सबैभन्दा ठूलो धनराशीको पुरस्कार ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार (रु.१ लाख ५१ हजार) बाट हाँक साप्ताहिकका सम्पादक गोविन्दबहादुर थापा पुरस्कृत हुनुभएको छ।

प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार (रु.१ लाख ५ हजार) डा. सुरेश आचार्य, प्रेस काउन्सिल आचारसंहिता पुरस्कार (रु. ५० हजार)

दैनिक नेपालगन्ज, बाँके, प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार (रु.२० हजार) मो. हसन मियाँ (सुनसरी) र प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार (रु.२० हजार) अन्तर्बोध सा.त्रै. (सम्पादक/प्रकाशक, होमशंकर बास्तोला)लाई दिने निर्णय भएको छ।

जनही रु.२० हजारको प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कारबाट नेपालभूषण न्यौपाने, (गोरखा, हाल काठमाडौं), शिवबहादुर कार्की (मोरङ), सितारामप्रसाद बर्मा कट्टेल (धादिङ), यज्ञप्रसाद शर्मा (मोरङ), हरि जोशी (कञ्चनपुर), बालकृष्ण प्रसाद, (धनुषा, हाल काठमाडौं), शंकर कार्की (खोटाङ, हाल काठमाडौं), विष्णुप्रसाद शर्मा (दैलेख) र विश्वमणि सुवेदी (सुनसरी, हाल काठमाडौं) पुरस्कृत हुनुभएको छ।

यस्तै प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार (जनही रु.१५ हजार) पाउनेमा मीना तिवारी घिमिरे (काठमाडौं), अजयदीप शर्मा, (रुकुम हाल दाङ), अमर खड्का (सुनसरी), डिलाराम भुसाल (कपिलवस्तु), करुण अर्याल (कपिलवस्तु, हालः काठमाडौं), विधान श्रेष्ठ, (इलाम, हाल काठमाडौं), निलिफा सुब्बा (सुनसरी), मन्जिमा ढकाल (काठमाडौं), सोमबहादुर थापा (कैलाली) र रिङ्कु मिश्र गायत्री (धनुषा) हुनुहुन्छ।

यस्तै प्रेस काउन्सिल वर्ष कर्मचारी पुरस्कार, २०७६ बाट काउन्सिलका कर्मचारी सविता बानियाँ (रु.२० हजार) र हर्कबहादुर श्रेष्ठ (रु.२० हजार) तथा प्रेस काउन्सिल कर्मचारी प्रोत्साहन पुरस्कार, २०७६ बाट विपुल पाण्डे (रु.१० हजार) पुरस्कृत हुन भएको छ।

प्रेस काउन्सिल नेपालले आफ्नो वार्षिकोत्सवका अवसरमा प्रत्येक वर्ष पत्रकारिता क्षेत्रका विभिन्न विधाका व्यक्तिलाई पुरस्कार प्रदान गर्दै आएको छ।

आफ्नो ५०औं वार्षिकोत्सव (स्वर्णजयन्ती)को अवसरमा आज सोमबार राष्ट्रपतिभवन, शीतल निवासमा आयोजना हुने एक समारोहमा उक्त पुरस्कार प्रदान गरिने काउन्सिलका सहप्रशासकीय अधिकृत एवं सूचना अधिकारी खनालले प्रस्ट पार्नुभयो।

प्रतिक्रिया दिनुहोस्