राजधानीमा बढ्यो प्रहरी सुरक्षा सतर्कता:१६ सय सिसी क्यामेरा जडान



मधुसूदन रायमाझी, काठमाडौं। नेपाल प्रहरीले उपत्यकाभित्र हुने आपराधिक गतिविधिको निगरानी गर्न सिसी क्यामेरा जडानको कामलाई तीव्रता दिएको छ।

एक वर्षको अवधिमा प्रहरीको सक्रियतामा ११ सयभन्दा बढी क्यामेरा उपत्यकामा थप जडान गरिएको छ। अब उपत्यकाभित्र जडान भएका सिसी क्यामेराको संख्या १६ सय पुगेको छ।

प्रहरीले जनशक्तिसँगै उपत्यकाभित्र हुने गतिविधिको निगरानी गर्न सिसी क्यामेराको संख्या थप गरेको हो। समुदाय–साझेदारी कार्यक्रम अघि बढाएसँगै उपत्यकामा स्थानीय सरकारले सिसी क्यामेरा जडानलाई तीव्रता दिएको हो।

प्रहरीको आग्रहमा महानगरपालिका र नगरपालिकाहरूले सिसी क्यामेरा जडान गर्नका लागि आर्थिक सहयोग गर्ने क्रमलाई प्राथमिता दिएका छन्। उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरको मुख्य–मुख्य चोकहरूमा सिसी क्यामेरा जडान गरिएको छ।

जडान भएको सिसी क्यामेराको निगरानी महानगरीय प्रहरी कार्यालय रानीपोखरीले र विभिन्न प्रहरी कार्यालयले निगरानी गर्दै आएको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षत्रीले उपत्यकाभित्र हुने आपराधिक क्रियाकलाप हुन नदिन र सम्भावित घटनालाई नियन्त्रण गर्नका लागि जनशक्तिसँगै सिसी क्यामेरा जडानको कामलाई प्राथमिकता दिएको बताउनुभयो। उहाँका अनुसार समुदाय–प्रहरी साझेदारी कार्यक्रम सञ्चालन भएपछि सिसी क्यामेरा जडान हुने क्रम बढेको छ।

‘उपत्यका काठमाडौंको सबै नाकामा सिसी क्यामेरा जडान गरिएको छ, २४ घण्टा सञ्चालन हुने नयाँ प्रविधिको क्यामेरा जडान गरिएको छ’, थापाले भन्नुभयो– ‘सिसी क्यामेरा हरेक चोकचोक र गल्लीगल्लीमा जडान गर्न आवश्यक छ, समुदायबाट राम्रो साथ र सहयोग पाएका छौं।’

सिसी क्यामेराको प्रयोगसँगै कम जनशक्तिले पनि धेरै काम गर्नसक्ने भन्दै प्रहरीले समुदायसँगको सहकार्यमा सिसी क्यामेराको जडानलाई बढाउँदै लगेको छ।

‘सिसी क्यामेराको कारण प्रहरीलाई धेरै घटनामा अनुसन्धान गर्न सहज भएको छ।’ –उहाँले भन्नुभयो। प्रहरीले उपत्यका काठमाडौंमा थप २० हजार सिसी क्यामेरा थप्नुपर्ने प्रस्ताव गरेको छ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत उपत्यकामा एक वर्षको अवधिमा ११ सिसी क्यामेरा जडान भएर सञ्चालनमा आएका छन्।

जडान भएकामध्ये महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उपत्यकाभित्र जडान भएका पाँच सय ३६ वटा सिसी क्यामेराको मनिटरिङ गर्दै आएको छ भने बाँकी सिसी क्यामेराको भने उपत्यकाभित्र रहेका प्रहरी कार्यालयहरूले मनिटरिङ गर्दै आएका छन्।

प्रहरीले उपत्यकाभित्रको शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन काठमाडौंमा नौ हजार एक सय १७, ललितपुरमा ६ हजार तीन सय ३९ र भक्तपुरमा पाँच हजार नौ सय ८५ वटा सिसी क्यामेरा आवश्यक रहेको रिपोर्ट तयार पारेको छ।

प्रतिक्रिया दिनुहोस्