पार्टीहरुलाई सत्तासम्म पुर्याउन लेखकको भूमिका महत्वपूर्ण   



न्युज अफ नेपाल, काठमाडौँ । कम्युनिष्ट विचारधारलाई स्थापित गराउन प्रगतिशील लेखकहरुको भूमिका महत्वपूर्ण रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले कम्युनिष्ट पार्टीहरुलाई सत्तासम्म पुर्याउनमा पनि लेखकहरुको योगदान उच्च रहेको औँल्याए ।

प्रगतिशील लेखक सङ्घ (प्रलेस)को ६८औँ वार्षिकोत्सव तथा प्रलेस प्रतिभा पुरस्कार वितरण समारोहमा बोल्ने वक्ताले प्रगतिशील लेखकहरुले उत्पीडित वर्गको हितका पक्षमा सशक्त कलम चलाउने हुँदा यसबाट श्रमिकवर्गको भलो हुने बताएका हुन् । वक्ताले प्रगतिशील साहित्यले माक्र्सवादलाई अङ्गीकार गर्दै यो सिद्धान्तको व्यापकता र प्रचारमा सहयोग पु¥याएको बताउनुभयो ।

पूर्व शिक्षामन्त्री तथा वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले प्रगतिशील लेखक सङ्घले छुट्टै विद्यालय सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले हालसम्म भावना र कल्पनामा रहेर साहित्य सिर्जना गर्ने गरिएको भन्दै अब यत्तिले मात्र नपुग्ने बताउनुभयो । उहाँले उत्पादनमुखी कार्य, विज्ञान र प्रविधिलाई साहित्यसँग जोड्न सके मात्र मुलुकले फड्को मार्न सक्ने जिकिर गर्नुभयो ।

प्रश्रितले आक्षेप र आलोचनात्मक साहित्यले पढ्दा आनन्द दिए पनि समाधान निकाल्न सक्ने धारणा राख्नुभयो । “नेपालको शिक्षा प्रणालीलाई सुधार गर्नुपर्छ”, उहाँले भन्नुभयो, “सीप विज्ञान र प्रविधिक विषयहरुलाई पाठ्यक्रममा समावेश गर्नु अति नै जरुरी छ ।” उहाँले विद्यार्थीले एसइई दिने बेलासम्म कुनै कुनै विषयमा दक्षता हासिल गर्न सकेमा मात्र राष्ट्रलाई टेवा पुग्ने बताउनुभयो ।

प्रगतिशील लेखक सङ्घका अध्यक्ष जीवेन्द्रदेव गिरीले समाजवादी साहित्य समृद्धिको आधारशिला रहेको भन्दै साहित्यलाई उत्कर्षमा पु¥याउनका लागि सकारात्मक चिन्तनको जरुरत पर्ने बताउनुभयो । उहाँले वर्तमान सरकारलाई कमजोर बनाउन विभिन्न प्रतिगामी तत्वहरुले चलखेल गरिरहेको बताउँदै सत्यतथ्यलाई बाहिर ल्याउन प्रगतिशील साहित्यकारहरु एकजुट हुनुपर्ने बताउनुभयो ।

महासचिव समीर सिंहले साहित्यले द्वन्द्वात्मक भौतिकवाद, माक्र्सवादको उद्देश्य पूरा गरी विश्व कम्युनिष्ट आन्दोलनलाई उचाइमा पु¥याइरहेको बताउनुभयो । “कला साहित्यकाको माध्यमबाट समाजलाई बाटो देखाउने काममा लाग्नुपर्छ”, उहाँले भन्नुभयो, “यो क्षेत्रले मानिसलाई छिट्टै प्रभावित गर्न सक्छ ।”

जनसांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राईले सांस्कृतिक रुपमा कम्युनिष्ट पार्टी र नेतृत्व कमजोर बन्न नहुने बताउनुभयो । उहाँले सरकारले गरेका कमजोरीहरुलाई स्वच्छ ढङ्गले आलोचना गर्नुपर्ने बताउनुभयो । नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव जगतप्रसाद उपाध्यायले आलोचना र गालीगलौज गर्ने खालको मात्र नभएर मार्गदर्शन र अनुसरण गर्ने साहित्यको खोजी गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा प्रलेसका उपमहासचिव आर.सी न्यौपाने साल्लाहकारहरु शान्तदास मानन्धर, रामप्रकाश पुरी, नर्मदेश्वरी सत्याल लगायतले प्रगतिशील साहित्यको विकासमा अझै पर्याप्त ध्यान पुग्न नसकेको बताउनुभयो ।

सोही अवसरमा २०३८ सालदेखि प्रगतिशील साहित्यको क्षेत्रमा योगदान पु¥याएबापत डा गोविन्द आचार्यलाई प्रलेस प्रतिभा पुरस्कारबाट पुरस्कृत गरियो । उहाँलाई नगद दश हजार र सम्मानपत्रले पुरस्कृत गरिएको हो । जन्मजात दृष्टिविहीन आचार्य आर.आर क्याम्पसमा उपप्राध्यापकका रुपमा कार्यरत हुनुहुन्छ ।

कार्यक्रममा रामप्रसाद ज्ञवाली, वासुदेव अधिकारी, सीता शर्माले प्रगतिशिल कविता वाचन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्